वातावरण

काठमाडौँमा हैजाको प्रभाव

हैजा देखिएपछि तातियो केयुकेएल, प्रभावित क्षेत्रको पानी परीक्षण सुरू

हाइपर क्लोराइड वितरण र स्ट्रीट फुडको अनुगमन

अतिन आचार्य |
असार १२, २०७९ आइतवार २०:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- दिन प्रतिदिन काठमाडौँमा हैजाका जीवाणु भेटिन थालेका छन् । जीवाणु फैलिएपछि रोकथामका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चासो देखाएको छ । 

उपत्यका खानेपानी लिमिटेडले प्रभावित क्षेत्रमा 'हाइपर क्लोराइड' वितरण गर्ने भएको छ । प्रभावित क्षेत्रमा उपत्यका खानेपानी लिमिटेडले उपभोक्ता तथा अन्य ग्राहकलाई क्लोराइड वितरण गर्न लागेको हो ।


केही दिन यतादेखि काठमाडौँको बाक्ला बस्ती भएका ठाउँमा हैजाका जीवाणु भेटिएको थियो । जहाँ धारा र जारका खानेपानी प्रयोग गर्नेहरूमा हैजाका संक्रमण फेला परेको थियो ।  हालसम्म चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, बागबजार, डिल्लीबजार, बालाजु, बल्खुमा हैजाका संक्रमित भेटिएका छन् । 

हैजाका संक्रमित भेटिएका क्षेत्रमा हाइपर क्लोराइड वितरण गरिने उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले जानकारी दिए । उपत्यका खानेपानी लिमिटेडका ९ शाखाबाट पानी वितरण भइरहेको उनले बताए ।

प्रभावित क्षेत्रमा नि:शुल्क क्लोराइड वितरण

प्रभावित क्षेत्रमा नि:शुल्क क्लोराइड वितरण गर्ने उपभोक्ता उपत्यका खानेपानी लिमिटेडले जनाएकाे छ । 'प्रभावित क्षेत्रका मानिसलाई दुई सय 'एमल' हाइपर क्लोराइड दिनेछौ,' राईले भने,'१ लिटर पानीमा २ थोपा क्लोराइड हाल्नुपर्छ । क्लोराइड शाखा मार्फत उपभोक्तालाई दिनेछौ ।'

उपभोक्तालाई सुरुमा खानेपानी लिमिटेडले नि:शुल्क वितरण गर्नेछ । उपभोक्ताले आवश्यकता महसुस गरेमा न्यूनतम मूल्य तोकेर क्लोराइड बिक्री गरिने राईको भनाइ छ ।

हाल उपत्यका खानेपानी लिमिटेडले उपभोक्ताको खानेपानी वितरण गर्दा क्लोरिन र ट्रिटमेन्ट गरेर दिने गरेको छ । हैजाको संक्रमण फैलन थालेपछि प्रभावित क्षेत्रमा क्लोराइड प्रयोग गर्न दिइने उनले जानकारी दिए ।

काठमाडौँका उपभोक्ताले उपत्यका खानेपानी लिमिटेडको मात्र पानी प्रयोग नगर्ने उनले प्रस्ट पारे । अन्य कम्पनी, जारका पानी र टयाङ्करको पानी प्रयोग गर्नेहरूका लागि क्लोराइड दिने राईले बताए ।

दैनिक सात करोड पानीको माग

काठमाडौँमा खानेपानी वितरण गर्ने अधिकांश टयांकरहरूले क्लोराइड हाली बिक्री गर्ने गरेका छन् । काठमाडौँमा मात्र आठ सय बढी  खानेपानीका टयांकरहरू सञ्चालित छन् ।

ट्यांकर व्यवसायीहरूले पानीभित्र रहेका जीवाणु मारेर शुद्धीकरण गरी पानी वितरण गर्ने गरिएको व्यवसायीहरूले दाबी गर्छन् । उपत्यकामा दैनिक सात करोडको पानी माग भए पनि ट्यांकर व्यवसायीले २० प्रतिशत पानी पुर्‍याउने गरेका छन् ।

जोरपाटीमा क्षेत्रमा दैनिक टयांकरले एक हजार लिटर पानी खपत हुने व्यवसायीले बताउने गरेका छन् । धौलागिरी पानी उद्योगका सञ्चालक हरि कँडेलका अनुसार ट्यांकरबाट खानेपानी वितरण गर्दा क्लोरिन हालेर बिक्री गरिएको छ ।

उपभोक्तालाई बिना क्लोरिनको पानी वितरण नगरिएको उनले दाबी गरे । हैजाको संक्रमण फैलन थालेपछि खानेपानी वितरण प्रक्रियामा व्यवसायी झनै गम्भीर बनेको कँडेलले बताए । 'संक्रमण फैलन नदिनका लागि हामी व्यावसायी पनि गम्भीर छौँ,' उनले भने,' सरकारको निर्देशन पालना गरेर पानी वितरण गर्छौ ।'

टयांकरका पानीमा क्लोरिन नहाले कारबाही

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले काठमाडौँ उपत्यकामा खानेपानीलाई खानयोग्य बनाएर मात्र वितरण गर्न निर्देशन दिएको बताए । उनका अनुसार उपत्यका खानेपानी प्रालि र ट्यांकर व्यवसायीले खानयोग्य बनाएर मात्र उपभोक्तालाई वितरण गर्नुपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको बैठकलाई उदृत गर्दै उनले भने, 'धाराबाट हुने वितरण हुने पानीमा पर्याप्त क्लोरिन हाल्नुपर्नेछ । उपत्यका खानेपानीले उपभोक्ताको घरमा अनुगमन गर्नुपर्छ । प्रत्येक ट्यांकर व्यवसायीले पानी वितरण गर्दा खानयोग्य बनाएर वितरण गर्नुपर्छ ।'

टयांकरले खानेपानीलाई योग्य नबनाएको पाएमा कारबाही गरिने प्रमुख अधिकारीले बताए । स्वास्थ्य विभाग, जिल्ला प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण  विभागले एकसाथ अनुगमन गर्ने भएको छ ।

खाद्य विभागले 'स्ट्रिट फुड' खानयोग्य भए/नभएको भनेर अनुगमन गर्ने अधिकारीले जानकारी दिए । अयोग्य भएमा तुरुन्त कारबाही गर्ने सहमति भएको छ । उनका अनुसार गुणस्तर विभागले जार र बोतलका पानीको अनुगमन गर्नेछ । डिल्लीबजार, बागबजार र बूढानीलकण्ठमा उपलब्ध हुने जार तथा बोतलको पानी पिउनलाई अयोग्य भएको छ ।

प्रभावित क्षेत्रका स्याम्पल परीक्षण

खानेपानीबाट फैलने संक्रमणलाई रोक्न राज्यको एउटा निकाय मात्र लाग्दा सफल नभइने अधिकारीको ठहर छ । जनचेतना फैलाएर सबै निकाय जिम्मेवार बन्नुपर्ने उनले बताए । स्थानीय तह र नागरिक आफैँले योगदान गर्नुपर्ने उनकाे जिकिर छ ।

स्वास्थ्य कार्यालय काठमाडौँले प्रभावित क्षेत्रबाट केस पत्ता लगाउने काम गरिरहेको उनले जानकारी दिए । 'हैजा देखिएका प्रभावित क्षेत्रको खानेपानीको परीक्षण र स्याम्पल लिएर अनुसन्धान गरिरहेका छौँ,' उनले भने ।

हालसम्म ललितपुरमा एक जना र काठमाडौँमा आठ जनालाई हैजा पुष्टि भएको छ । लगातार पातलो दिसा जान थालेपछि वा झाडा बान्ता हुन थालेपछि अधिकारीले अस्पताल जानका लागि सुझाव दिए । पानीलाई शुद्ध र उमालेर मात्र पिउनु पर्ने उनको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार २ जना उपचाररत छन् । उपचाररत बिरामीको अवस्था सामान्य छ । केही दिन अघिसम्म आइसीयूमा दुई जना उपचाररत थिए । गम्भीर बिरामी पनि डिस्चार्ज भएर घर गइसकेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x