वातावरण

लार्भा खोज र नष्ट गर्न नगर प्रहरी परिचालन

इकागज |
भदौ ६, २०८० बुधबार १७:१२ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ ।

लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले  ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ ।


कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ ।”

अहिले नियमित रुपमा पानी परिरहेको छ ।  आकासे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ पौडेलले भने । 

“लार्भिसाइड औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानि गर्दैन । यो विषादी होइन । उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मरेर नष्ट हुन्छ”, प्रमुख पौडेलले भने । 

औषधिले डेङ्गीसहित, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ । १० लिटर पानीमा दुई सय ५० मिलिलिटर औषधि यसको मात्रा हो । 

कामपाले  वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । हरेक हप्ताको बुधबार बिहान ८ देखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ । सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी बीचमा डेङ्गी रोगसम्बन्धी चित्रकला प्रदर्शन गरी अभिभावकसम्म सङ्क्रमणबारे चेतना पु¥याउने कामपा पनि गरिरहेको छ ।

यस रोगबारे  परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० जुनसुकै समय सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था छ । उक्त एम्बुलेन्स फोन गरेको १५ मिनेटमा उपलब्ध हुने कामपाको भनाइ छ ।

प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत यस रोगका लागि चाहिने सिटामोल, जीवनजललगायत औषधिको व्यवस्था मिलाइएको छ ।
रासस
 


Author

थप समाचार
x