वातावरण

भूकम्प अपडेटः भेरी अस्पतालमा उपचाररत तीन जनाको अवस्था गम्भीर

इकागज |
कात्तिक १९, २०८० आइतबार ९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालगञ्जको भेरी अस्पतालमा भूकम्पमा परी घाइते भइ उपचार गराउनेको संख्या ३९ पुगेको छ । घाइते बिरामीको अवस्था सामान्य रहेको सबैजनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बालबालिका तथा ज्येष्ठ नागरिकसहित महिला २१ र १८ पुरुष सहित ३९ जनाको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. पवनजंग रायमाझीले इकागजलाई जानकारी दिए ।


अस्पतालमा ल्याएका मध्ये एकजनाको घाइतेको मृत्यु भइसकेको उनले बताए । अन्य घाइते बिरामीको अवस्था भने सामान्य रहेको डा. रायमाझीको भनाइ छ ।

‘बाहिरी अस्पतालमा पठाउनुपर्ने कुनै बिरामी छैनन्,’ डा. रायमाझीले इकागजसँगको टेलिफोन संवादमा भने,’ तीन जनाको अवस्था गम्भीर भएकाले भर्ना गरिएको छ । गर्भवती महिलाको पेटमा बच्चा खराब भएकाले भर्ना गरेर राखिएको छ ।‘

उनका अनुसार घाइतेहरूलाई छातीमा चोट, टाउकोमा हात र खुट्टा भाँचिएका छन् । अधिकांश घाइतेहरूको हातखुट्टामा चोट छ । पाँच जनाको शल्यक्रिया भइसकेको छ ।

गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केल भूकम्पबाट घाइते भएका ३८ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।

अस्पतालमा भएका सबै चिकित्सकलाई परिचालित गरिएको छ । जिल्लाका सबै स्थानीय तहले घाइतेको उपचारका लागि आफ्ना मातहतका स्वास्थ्यकर्मी पठाएर उपचारमा सहयोग गरिरहेको उनले जानकारी दिए ।

‘स्थानीय तहले स्वास्थ्यकर्मी पठाएर उपचारमा सहज भएको छ,’ उनी भन्छन् । अस्पताल परिसरमा रहेको सञ्चालनमा नआएको नयाँ भवनमा राखी घाइतेहरूको उपचार भइरहेको उनले बताए ।

अस्पतालको तल्लो भागमा ४२ वटा शैय्या थपेर राखेको डा. रायमाझीले जानकारी दिए । ८० जना बिरामीको उपचार सहजै गर्न सक्ने गरी संरचना तयार गरिएको उनको भनाइ छ । त्यैगरी एक जना घाइतेलाई अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले जानकारी दिए ।

गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केल भूकम्प गएको थियो । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ५७ जनाको मृत्यु भइसकेको छ । त्यसैगरि विभिन्न अस्पतालमा गरी १७० जनाको उपचार भइरहेको छ ।  

 

 


Author

थप समाचार
x