फेसन

नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरु

इकागज |
बैशाख १२, २०८० मंगलबार १४:५ बजे

काठमाडौंँ– नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिस्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यो पटक मिस्टर नेपाल ‘न्युलुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । प्रतियोगिता न्युलुक ब्युटिफर लाइफले प्रायोजन गरेको कारण प्रतियोगिताको नामको अगाडि न्युलुक राखिएको हो ।

नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तिमा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकबाट सुरु हुनेछ ।


त्यसपछि ३० गते बिराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडांैमा आयोजना हुनेछ । आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशकसमेत नियुक्त गरेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।
देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म खल्तीएपबाट भर्न सकिनेछ । प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।


Author

थप समाचार
x