फेसन

मिस्टर नेपालका प्रतिभा अनेक

इकागज |
चैत ३०, २०७८ बुधबार ११:३९ बजे

काठमाडौंँ -  ‘मिस्टर नेपाल २०२२’ को अन्तिम स्पर्धा वैशाख ३ गते हयात रिजेन्सी होटलमा एक भव्य समारोहका बीच आयोजना हुँदैछ । विभिन्न चरणबाट छानिएका अन्तिम ३६ प्रतियोगी फाइनलमा शीर्ष उपाधिका लागि भिड्दैछन् ।

आइतबार लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा प्रतियोगिताको ट्यालेन्ट राउण्डमा आयोजना भएको थियो । सो अवसरमा सबै प्रतियोगिताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङ लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । यो चरणको निर्णायकमा अभिनेत्री सुष्मा कार्की, पूजना प्रधान, कोरियोग्राफर सुमन श्रेष्ठ लगायत थिए । ट्यालेन्ट राउन्डको विजेताले फाइनलमा मिस्टर ट्यालेन्टको उपाधि प्राप्त गर्नेछन् ।


‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहेको प्रतियोगितामा देशभरबाट सहभागी छन् । प्रतियोगितामा काठमाडौँबाट एलिस गिरी, स्वराज श्रेष्ठ, रोनिस खड्गी, प्रसन्न राई, श्रृजन पाठक, काभ्रेबाट आकाश भैला, विशाल महत, योगेश लामा तामाङ, जीवन गिरी, कपालिक खनालले भाग लिएका छन् ।

त्यस्तै विकाश गमाल मकवानपुर, प्रविन बिक गोर्खा, आयुष खड्का धनुषा, कुसल नहर्की धादिङ, समिप शाही कैलाली, आयुष ढकाल, नुतन श्रेष्ठ, बिशाल कटुवाल, सविन श्रेष्ठ मोरङ, ईश्वर बोगटी, प्रकाश श्रेष्ठ सिन्धुपाल्चोक, खिमराज शर्मा, सुरज आले बाँके, रुपेश महतो ललितपुर, रुपेश दाहाल, मानस कुमार राई ओखलढुङ्गा, डा. नरोतम तिवारी, प्रेम चन्द्र मण्डल पर्सा, प्रसिद्ध खाँड रुपन्देही, संजया पनेरु, डा.सुनिल खरेल चितवन, नविन श्रेष्ठ नुवाकोट, अभिषेक  चुडाल झापा, कैलास रावल कैलाली, दीपेन्द्र कुमार शर्मा सर्लाही रहेका छन् ।

यसपटक प्रतियोगीतामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागिता रहेको छ । प्रतियोगिताको अन्तिम तयारीसमेत पूरा भएको जानकारी नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

अन्तिम प्रतिस्पर्धा लागि प्रतियोगीले फिजिकल फिटनेस, मोटिभेसन सेसन, स्टेज पफमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्क्रिल लगायतका विभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य लगायतबाट प्रशिक्षण लिएका छन् । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार हुन् ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्य रहेको प्रतियोगितामा आफूमा मनपरेको प्रतियोगीलाई जिताउन नेपालबाट इसेवामार्फत र संसारबाट ग्लोबल अनलाइन पेबाट मिस्टर नेपाल सर्च गरेर भोटिङ गर्न सकिनेछ । 

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा ५ लाख नगदसहित विभिन्न ब्रान्डको ब्रान्ड एम्बेसर, फेस अफ ब्रान्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 


Author

थप समाचार
x