जात्रा-पर्व

सुदूरपश्चिमकाे परशुरामधाममा भोलि माघी मेला लाग्ने

इकागज |
पुस ३०, २०७९ शनिबार २१:४१ बजे

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक क्षेत्र परशुराम धाममा भोलि (आइतबार) ठूलो मेला लाग्ने भएको छ । डडेल्धुरा जिल्लाको भित्रि मधेश क्षेत्र परशुराम नगरपालिका– ५ परिगाउँ स्थित महाकाली नदी किनारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल भगवान विष्णुको छैटौं अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेको पवित्र तीर्थस्नान परशुरामधाममा भोलि माघी मेला लाग्ने भएको हो । 

डडेल्धुरा सदरमुकामबाट करिब एक सय किलो मिटर दूरीमा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थ परशुरामधाममा शनिबारबाटै चहलपहल बढेको छ भने आइतबार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरि मेला हुने गर्दछ । परशुरामधामलाई नेपालका चार धाम मध्येको एक धामका रूपमा मानिने गरेको छ । 


हैयेयवंशी क्षेत्रीयहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रीयहरूको अत्याचार कम गर्न क्षेत्रीय विनाश गरेको एक्काईस पटक पृथ्वीको परिक्रमा गरी पृथ्वीलाई क्षेत्रीविहीन गरेपछि भगवान विष्णुको छैटौं अवतार मानिने पर्शुरामले सरयू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविदको भनाइ छ ।

महांकालको जटावाट निस्केको मन्दाकिनि महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नान को भन्दा दश गुणा बढी पुण्य प्राप्त हुन जाने, परशुराम तीर्थमा स्नान,तर्पण गर्नाले सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र तीर्थको रूपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका नौ जिल्ला लगायत भारतको उत्तराखण्डका विभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरू आउने गर्दछन् । 

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीविको वरदान  दिइएको भगवान परशुरामले शिवजीको कठोर तपस्या पछि फर्सा (परशु) प्राप्त गरेको, भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको तीर्थ भएकाले तथा फर्सा बोकेका राम भगवान भएकाले फर्सा रामबाट फर्सनान हुँदै अप्रभंश भई पर्शुराम हुन गएको स्थानीय श्रुति पाइन्छ । 

धार्मिक सांस्कृतिक सामरिक सामाजिक र पर्यटकीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रंगुन उपत्यकाको महत्वपूर्ण तीर्थस्थल परशुरामधाम स्वदेशीहरूका लागि मात्र नभएर छिमेकी मुलुक भारतका तीर्थयात्रीहरूका लागि पनि प्रसिद्ध तीर्थस्थल हो ।

महाकाली गंगा स्नानमा तीर्थयात्री भक्तजन मात्र नभई विभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी देवताका प्रतीक मानिने देउरो स्नान गराई ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन रही आएको छ । पछिल्लो समय परशुराम नगरपालिकाको तर्फबाट यस क्षेत्रको प्रचार प्रसारका लागि तीर्थ परिसरमा परशुराम भगवानको विशाल मूर्ति निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटन वृद्धि भएको छ ।


Author

थप समाचार
x