जात्रा-पर्व

धर्मगुरुहरू भन्छन् : टीका, जमरा ग्रहण गरेर दसैँ मनाउनु उदाहरणीय, बलि भनेको भेटी हो, काटमार होइन

इकागज |
कात्तिक ७, २०८० मंगलबार १४:१९ बजे

काठमाडौँ- आज विजया दशमी । नेपालीहरूको महान चाड विजया दशमी आज मान्यजनबाट टीका, जमरा ग्रहण गरेर मनाइँदै छ । आफू भन्दा ठूला व्यक्तित्वहरूबाट नवदुर्गाको प्रसाद ग्रहण गरेर यो पर्व मनाइन्छ ।

दसैँको मुख्य दिन आज विजया दशमीको महत्व वैदिक कालदेखि नै रही आएको १००८ स्वामी आत्मनन्द गिरीजी महाराजले बताए । तनहुँको देवघाट धाममा रहेको गलेश्वर आश्रमका मठाधीश समेत रहेका स्वामी आत्मनन्दले दसैँ आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म उपासना गरेर मनाइने वैदिक सनातन धर्म अनुरूप शक्ति उपासनाको पर्व रहेको बताए । उनले विजया दशमी देवीको प्रसाद ग्रहण गर्ने पर्वको रूपमा रहेको बताए ।


भगवान रामले राक्षस रावणसँग युद्ध गर्दा भगवतीको उपासना गरेर शक्ति प्राप्त भएपछि रावणसँग विजयी भएको उत्सवमा यो पर्व मनाइने उनकाे भनाइ छ । उनले नेपालमा शक्ति देवीको नाममा बलि दिने प्रचलन विकृतिको रूपमा आएको बताए । उनले शास्त्रमा धेरै ठाउँमा बलि शब्दको प्रयोग भए पनि बलिको अर्थ देवी, देवतालाई प्रतीकको रूपमा अर्पण गर्ने उपहार रहेको बताए । उनले धर्म र संस्कृतिमा विकृति आउनु नहुने र धर्म र संस्कृतिमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए ।

त्यस्तै १०८ स्वामी अमृतानन्द गिरीले सनातन वैदिक परम्परामा पर्ने विभिन्न पर्वहरू मध्येको मुख्य पर्व विजया दशमी भएको बताए । उनले आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा यो पर्व मनाइने परम्परा रहेको जिकिर गरे । उनले संस्कृतिसँग पछिल्लो समय केही विकृति जोडिएको भन्दै देवीलाई बलि दिनु राम्रो नभएको बताए । उनले बलि प्रथा कसले र किन चलायो भन्ने अनुसन्धानको विषय भएको बताए ।

उनले टीका प्रसाद ग्रहण गरेर विजया दशमी मनाउनु उदाहरणीय रहेको बताए ।


Author

थप समाचार
x