जात्रा-पर्व

सडकमा दसैँमा टीका लगाउनेहरूको चहलपहल बढ्यो

इकागज |
कात्तिक ७, २०८० मंगलबार १४:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालीहरूको महान चाड विजया दशमी मनाउन आफन्तहरूकोमा जाने क्रमसँगै काठमाडौँका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

आज दसैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरूकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।


दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी (बडादसैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ ।


Author

थप समाचार
x