जात्रा-पर्व

बुढानीलकण्ठ मन्दिरमा भक्तजनको घुँइचो

इकागज |
मंसिर ११, २०८० सोमबार १५:१५ बजे

फाइल फोटो

काठमाडौँ - बुढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीबाट सुरु भएको मेलाको अन्तिम दिन सोमबार भक्तजनको घुँइचो लागेको छ । 

काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ देखि आयोजना गरिएको विशेष हरिबोधनी एकादशी मेलाको अन्तिम दिन पूजाआजा र दर्शन गर्ने भक्तजनको घुँइचो लागेको हो । 


मेला व्यवस्थापन गर्न बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो भने उपमेयर अनिता लामाको संयोजकत्वमा अनुगमन तथा अतिथि सत्कार उपसमितिसँगै १३ वटा विषयगत उपसमिति गठन गरिएको थियो । 

परापूर्वकालदेखि नै निरन्तर रुपमा बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरबाट लाखौं भक्तजन आएको नगरपालीकाकी उपमेयर अनिता लामाले जानकारी दिइन् । उनले गतबर्षदेखि नगरपालिकाले मेला आउने भक्तजनको सुविधाका लागि विशेष व्यबस्था गरेको बताइन् । 

त्यस्तै हरिबोधनी एकादशी मेला व्यवस्थापन तथा सञ्चालन तयारी समितिका संयोजक एवं बुढानिलकण्ठ नगरपालिका वडा नंवर ३ का सदस्य विकास तामाङले हरिबोधनी एकादशीको छुट्टै बिशेषता रहेको धार्मिक मान्यतालाई आत्मसात गर्दै मेलाको आयोजना गरेको र देशभरबाट भक्तजन दर्शनका लागि आएको बताइन् । 

मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगरस्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुलाई परिचालन गरिएको उनले बताइन् । सनातन धर्मअनुसार आषाढ शुक्ल एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट हरिबोधनी एकादशीको पवित्र दिनमा उठेको मानिन्छ ।


Author

थप समाचार
x