अर्थ / बाणिज्य

चाडपर्वको मुखमा अचाक्ली बजार भाउ

कमल धिताल |
भदौ २७, २०७९ सोमबार १७:२५ बजे

काठमाडौं– दसैँ, तिहार लगायतका महत्वपूर्ण चाडबाड नजिकिँदै गर्दा नेपाली उपभोक्ताको भान्सा दिन–प्रतिदिन महँगिदै गएको छ । दैनिक उपभोग्य सामानदेखि लत्ता–कपडा लगायतका सामग्रीको मूल्य उच्च हुँदा यसपालिको चाडपर्व निकै महँगो पर्ने देखिएको छ ।

बजार अनुगमन प्रभावकारी नहुँदा तथा अन्तर्राष्ट्रिय बजारमा सामग्रीको मूल्य वृद्धि तथा रुस–युक्रेन युद्ध, उकालो लागेको डलर लगायतका कारण देखाउँदै सामग्रीहरूको बजार मूल्य छोइनसक्नु छ ।


केही साता अघिसम्म खुद्रा १६५० रुपैयाँ पर्ने २५ केजीको चामलको मूल्य हाल होलसेलमै २ हजार माथि पुगेको छ । भारतले निकासीमा कर लगाउने हल्लासँगै सुरु भएको चामलकोभाउ हाल बोरामै ६/७ सम्म बढेको भेटिन्छ । भारतले भदौ २३ गतेदेखि कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाउँदै चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।

उसिनेको चामल र बासमतीमा भने कर लगाएको छैन । व्यापारीहरूले भारतको कर लगाउने बाहनामा मूल्य ह्वात्तै बढाएका छन् । थोक बजारमै नेपाली घ्यूको मूल्य प्रतिकिलो १२ सयसम्म रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघको तथ्यांक छ । उपभोक्तासम्म आइपुग्दा यो मूल्यमा करिव १ सयसम्म तलमाथि हुने गरेको छ ।

बजारमा प्रशोधित तोरीको तेल ४ सय रुपैयाँ प्रतिलिटर पुगेको छ यो थोक मूल्य हो, उपभोक्तासम्म पुग्दा लिटरमै ५० रुपैयाँसम्म बढ्ने गरेको खुद्रा व्यापारीहरू बताउँछन् । थोक बजारमा भटमासको तेल प्रतिलिटर २६५ रुपैयाँ पुगेको छ । सनफ्लावर तेल थोक बजारमै प्रतिलिटर ३ सय रुपैयाँ पुगेको छ । बजार मूल्यको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन नगर्दा व्यापारीहरूले आफूखुसी मूल्य बढाएका छन् । चाडपर्वमा बजार अनुगमन तीव्र बनाउनुपर्ने निकाय नै हाल नेतृत्वविहिन भइदिँदा बजारमा अराजकता मौलाएको छ ।

यस्तै मैदा किलोकै ७० रुपैयाँ थोक बजारमा बिक्री भइरहेको नेपाल खुद्रा संघले जनाएको छ । उपभोक्ताको भान्सासम्म पुग्दा यसमा थप ५ देखि १० रुपैयाँसम्म थप हुने गरेको छ । मुसुरो दाल प्रतिकेजी १७५ रुपैयाँ खरिद मूल्य पर्ने गरेको खुद्रा बिक्रेताहरू बताउँछन् । सरकारले असोज १ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ । तर सरकारको प्रत्येक वर्ष चाडपर्वमा बजार नियन्त्रण गर्नुको साटो यस्ता पसल सञ्चालन गरेर कर्मकाण्ड पूरा गर्ने गरको उपभोक्ताहरूको आरोप छ ।

सरकार एकातिर सहुलियत पसल खोलेको नाटक गर्छ अनि अर्कोतर्फ बजारमा अनियन्त्रित हुँदा मूकदर्शक भएर बस्ने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका सचिव विष्णु तिमल्सिना बताउँछन् । बजार अनुगमन, मूल्य विश्लेषण र महँगी नियन्त्रण समेत गर्नुपर्ने दायित्व पाएको मन्त्रालय र विभाग निस्क्रिय जस्तै बनेका छन् । सरकारले चाडपर्वको मुखमा सञ्चालन गर्ने सहुलियत पसलमा केही छुटमा दैनिक उपभोग्य वस्तु किन्न पाइने घोषणा त ग¥यो, जुन सामान्य जीवनस्तरका उपभोक्ताहरूका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात हुने गरेको आलोचकहरू बताउँछन् ।

चुनावका लागि व्यापारीले लुट मच्चाए – सचिव, बिष्णुप्रसाद तिमल्सिना – उपभोक्ता अधिकार अनुसन्धान मञ्च
उपभोक्ता अधिकार अनुसन्धान मञ्चले हालसम्म उपभोक्ता हित संरक्षणका लागि गरेको काम कारबाहीको लागि हालसम्मकै सबैभन्दा खराब क्षण भनेर बुझ्न लिन सकिन्छ । हालको परिस्थिति उपभोक्ताका लागि एकदमै असहज र महँगी उपभोक्ताको क्रयशक्ति निकै न्यून तथा मूल्य वृद्धि भने उच्च छ ।

मान्छेसँग पैसै छैन, त्यसमाथि पैसा भएरपनि गुणस्तरीय वस्तु किन्न पाएको छैन् बजार अनुगमनको जिम्मा पाएको निकाय नेतृत्वबिहिन छ । बजारमा गुणस्तरहीन वस्तु बिक्री वितरण भइरहेका छन् र जनतामा सरकार भए–नभएको अनुभूति समेत गर्न पाएका छैनन् । प्रधानमन्त्री एउटा पार्टीको, अर्थमन्त्री एउटा पार्टीको आपूर्तिमन्त्री एउटा पार्टीको हुँदा यहाँ कसैले पनि कुनै कुराको जिम्मेवारी लिएका छैनन् ।

चाडबाड आउदै गर्दा बजार अस्तव्यस्त छ । बजारमा लुटतन्त्र चलिरहँदा पनि सरकार मूकदर्शक बनिरहेको छ । व्यापारीको सरकार हुँदा जनताले निकै दुःख पाएका छन् । वैशाखमा भएको चुनावका लागि पैसा दिएका व्यापारीले अब मंसिरमा हुने चुनावका लागि पनि पैसा दिन सबै मिलेर बजारमा लूटतन्त्र मच्चाएका छन् । स्थानीय सरकार पनि व्यापारीको र संघीय सरकार पनि व्यापारीको हुँदा जनताले पाउनु सास्ती पाएका छन् । चुनावका लागि राजनीतिक दलहरूलाई पैसा उठाउनकै लागि व्यापारीहरूले लुट मच्याइरहेका छन् अनि सरकार तथा राजनीतिक दलहरूले साथ दिइरहेका छन् ।

मुहान सफा नगरी सफा पानी खोज्नु मूर्खता – अमुलकाजी तुलाधर– महासचिव, नेपाल खुद्रा व्यापार संघ
महँगीको कुरा गर्दा सबैभन्दा धेरै गाली खानुपर्ने खुद्रा व्यापारीले नै हो । उपभोक्ताहरूसँग हामी प्रत्यक्ष रुपमा जोडिन्छौं । मूल्य बढ्दा हामीलाई उपभोक्ताबाट गाली आउँछ । तर हामीले पनि किनेर ल्याएर बेच्ने हुँदा यसमा हाम्रो कुनै भूमिका हुँदैन । मूल्य बढ्दा बढाउने र घट्दा कम गर्ने हो । केही साता यता चामल लगायतका खाद्यवस्तुमा माथिका व्यापारीले किलोमै १० रूपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ।

हामीलेभाउ कसरी बढ्यो भनरे प्रश्न गर्दा बाहिरबाट नै बढेर आएको छ भन्ने जवाफ पाउँछौ । मूल्य बढेपछि हामीले पनि बढाउने प¥यो । पहिलो कुरा त माथिको मुहान सफा गरे पो धारमा पनि सफा पानी आउँछ । माथि फोहोर छ तल सफा गर्न खोज्नु त भएन नि । कहाँ मूल्य वृद्धि भएको छ त्यो पत्ता लगाउनु प¥यो । हामीलाई ६० रुपैयाँको सामान किन्दा ५३ रुपैयाँको बिल दिएर पठाउँछ । सबैभन्दा पहिला त यस्ता कुराको नियन्त्रण हुन जरुरी छ । यसले गर्दा बजारमा कहाँबाट मूल्य बृद्धि भैरहेको छ भन्ने कुरा उपभोक्तासम्म पुग्छ ।

हल्ला फैलाएजस्तो मूल्यवृद्धि भएको छैन– देवेन्द्रभक्त श्रेष्ठ अध्यक्ष, नेपाल किराना व्यवसायी संघ
बजारमा जुन किसिमको मूल्य वृद्धि भएको भन्ने कुरा छ त्यो सत्य होइन । भारतले निर्यातमा कर लगाउने निर्णयले चामलमा केही मूल्य बढेको हो । तर अन्य वस्तुमा खासै मूल्य वृद्धि भएको छैन् । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा इन्धनको मूल्यवृद्धिलेभाउ तलमाथि त सामान्य हो, तर बजारमा हल्ला फैलाएजस्तो मूल्यवृद्धि भएको छैन । केही समयअघि तेलको मूल्य निकै बढेपनि हाल घट्न थालेको छ । ढुवानी खर्चले गर्दा सामान्य मूल्य उतार–चढाव हुनु सामान्य हो ।

बजार अनुगमनका लागि मुख्यसचिव संयोजकत्वमा समिति
चाडपर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुहरुको व्यवस्थापन र बजार अनुगमनका लागि नेपाल सरकारले मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा रहेको समितिलाई निर्देशन दिइएको छ । अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएपछि सो स्थान रिक्त रहँदा बजार अनुगमन हुन सकेको छैन ।

बजार अनुगमनका लागि सूचना सङ्कलन, प्रविधिको प्रयोग र जोखिममा आधारित बनाउने सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मापदण्ड तयार गरी अनुगमन प्रणालीको अभिवृद्धि गर्ने, सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट, क्षमताका आधारमा अनलाइन टिकेटिङको अनुगमन गर्न निर्देशन दिएको छ ।

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x