अर्थ / बाणिज्य

अम्ब्रेला स्ट्रिट : चितवनमा घुम्‍नैपर्ने गन्तव्य

लेखराम सापकोटा |
मंसिर ३, २०७७ बुधबार १७:४४ बजे

भरतपुर : भरतपुरको चौबीसकोठीबाट २० किलोमिटर दक्षिणमा छ - `अम्ब्रेला स्ट्रिट´ । कुल ५२० वटा सप्तरंगी छाताहरूलाई सजाएर  बनाइएको एउटा लामो टहरोलाई अङ्ग्रेजीमा नामकरण गरिए पनि हिजोआज कसैकसैले नेपाली नामाकरण गरेर छातागल्ली भन्‍ने  गरेका छन् । चितवन जिल्लामा घुम्‍नैपर्ने थुप्रै गन्तव्यहरू मध्ये अम्ब्रेला स्ट्रिटलाई पनि महत्त्वपूर्ण गन्तव्यका रूपमा लिने गरिएको छ । यहि ठाउँमा दशैं, तिहारजस्ता प्रमुख पर्वहरूको बिदामा थुप्रै मानिसहरूको चहलपहल देखिएको छ ।


भरतपुर- २२ पटीहानी, घडगाइमा अवस्थित यो गन्तव्य राप्ती किनारमा छ । यहाँबाट राप्ती नदीसँगै चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य हेर्न सकिन्छ । निकुञ्जबाट निस्केर पानी पिउन र आहाल बस्न आउने गैंडा अनि नदीबाट निस्केर किनारमा घाम ताप्दै गरेको गोहीले पर्यटकहरूलाई लोभ्याउँछ । यहाँबाट सूर्यास्तको दृश्य अझै लोभलाग्दो देखिन्छ । अम्ब्रेला स्ट्रिट घुम्‍न आएकाहरू साँझसम्मै बसेर सूर्यास्तको रोमाञ्चक दृश्य हेर्न पर्खिरहेका हुन्छन् ।

सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पनि हो यो क्षेत्र । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्‍ने राप्ती नदी किनारको घडगाइमा ६ कठ्ठा जग्गामा २ करोड ५० लाखको लागतमा यसको निर्माण गरिएको हो । सडकखण्डबाट राप्ती किनारतर्फ १२० मिटर लामो सडक निर्माण गरी त्यसमाथि फाइबरका ५२० वटा सप्तरंगी छाताहरू राखिएको छ । छातामुनीबाट पर्यटकहरू हिँड्न तथा बस्न मिल्ने भएकोले पनि यसको नाम ‘अम्ब्रेला स्ट्रीट’ राखिएको हो ।

वडाध्यक्ष बिष्णुराज महतोले मरिसस भ्रमणका क्रममा पर्यटकलाई आकर्षण गर्नेगरी त्यहाँ निर्माण गरिएका संरचना देखेकोले त्यस्तै प्रकारको गल्ली निर्माण गर्ने चाहना अनुसार यो भवन बनाइएको बताउँछन् । 

नारायणगढबाट छोराछोरी लिएर `अम्ब्रेला स्ट्रिट´ घुमघाम गर्न पुगेका नारायण अर्याल राप्ती किनारमा छोराछोरीसँगै फोटो र भिडियो खिच्‍न व्यस्त थिए । सप्तरंगी छाताहरूलाई पृष्ठभुमिमा राखेर फोटो भिडियो बनाइसकेपछी थोरै मुन्तिर राप्ती किनारमा उभिएर छोराछोरीसँगै थप फोटो भिडियो बनाउन व्यस्त अर्यालले पश्चिमपट्टी कोल्टिँदै गरेको घामलाई बेलाबेलामा नियालीरहेका थिए । `छोराछोरीको इच्छा अनुसार उनीहरूलाई घुमाउन ल्याएको हुँ´ अर्यालले भने- `अब सूर्यास्त हेरेर फर्किने हो ।´ अर्यालजस्तै थुप्रै आन्तरिक पर्यटकहरू छातागल्लीको किनारमा उभिएर डुब्दै गरेको घामलाई पर्खिरहेका देखिन्थे । 

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले देशभरका एक सय पर्यटकीय गन्तव्यहरूको सूची निकाल्यो । तिनै मध्येको एक महत्वपूर्ण गन्तव्य हो पटीहानी । कोभिड महामारीका कारण पर्यटन वर्ष रद्द भयो । मुलुकभरका सम्पूर्ण पर्यटन गतिविधि ठप्प भए । चितवनको पर्यटन गतिविधि पनि ठप्पै रहयो । दशैंदेखि भने चितवनको जनजीवन सामान्य बनेको छ । आन्तरिक पर्यटनलाई चहलपहल गराउन यहाँका सौराहा, गोलाघाट, सिराइचुलीसँगै पटीहानीको प्रसिद्ध अम्ब्रेला स्ट्रीटमा पनि गतिविधि बढ्न थालेको छ । 


Author

थप समाचार
x