अर्थ / बाणिज्य

पोखरा भित्रियो भेडा च्याङ्ग्रा (फोटो फिचर)

धनबहादुर गुरुङ |
असोज २८, २०८० आइतबार २१:१९ बजे

पोखरा- दसैँ लक्षित भेडा च्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । शनिबारदेखि पोखरा १ सिम्पानी र जौबारी क्षेत्रमा भेडा च्याङ्ग्राको हुल देखिन थालिसकेको छ । किन्नेहरूको जमात पनि उस्तै भेटिन्छ । केहीले केही गुनासो नगरी रोजेर लगिरहेका भेटिन्छन् भने केहीले भाउमा बार्गेनिङ गरिरहेको दृष्य देखिन्छ । व्यापारीलाई भेडा च्याङ्ग्रा देखाउन भ्याइनभ्याइ छ ।


पोखरामा घटस्थापना अघिदेखि नै यो दृष्य देख्न थालिएको हो । दसैँंमा भेडा च्याङ्ग्रा खानैपर्ने मान्यता भएकाले पनि यहाँ कारोबार बढी हुन्छ । व्यापारीले पनि पोखरा लक्षित गरी भेडा च्याङ्ग्रा झार्ने गर्छन् । बर्सेनि भाउ बढ्छ तर, दसैँंमा च्याङ्ग्रा खानै पर्छ भन्ने छाप बसेकाले खान छोड्दैनन् ।

दसैँका बेला हिमाली भेगबाट झारिने भेडा च्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा १ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताए । उनले पोखरामा दसैँका बेला भेडा च्याङ्ग्राको माग अत्यधिक हुने गरेको सुनाए । दसैँमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरू मिलेर काटेर बाँड्छन् । केहीले फ्रेस हाउसबाट किनेर भए पनि खान्छन् । ‘दसैँमा च्याङ्ग्राको मासु नखाए दसैँ नै खल्लो हुनेजस्तै भइसकेको छ,’ उनले भने, ‘धेरैले एउटै डोर्याएर लैजान्छन् । तर, सिङ्गै किन नसक्नेहरू फ्रेस हाउसमा खोज्न आउँछन् ।’ पछिल्लो समयमा भेडा च्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उनको भनाइ थियो ।

पोखरामा ल्याइएको भेडा च्याङ्ग्रा सैपाल हिमाल र तिब्बत सिमाना तिरका हुन् । मुस्ताङबाट ल्याइने अझै बाटोमै छन् । उनीहरू मंगलबार बुधबारसम्म पोखरा आउँछन् । यति बेला बझाङ, बाजुराका व्यापारीले भेडा च्याङ्ग्रा पोखरा ल्याइसकेका हुन् । 

शनिबार बझाङबाट भेडा च्याङ्ग्रा पोखरा झारेका भीमबहादुर जेठराले बिक्री गर्न थालिसकेका छन् । अरुले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने उनले बताए । ‘दसैँ लागेसँगै पोखरामा भेडा च्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,’ उनले भने, ‘बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ ।’ ८० वटा ल्याएका उनले १० वटा बिक्री गरिसकको सुनाउँछन् । उनकोमा च्याङ्ग्रा २८ देखि ४० हजारसम्म र भेडा २९ देखि ३५ हजार रुपैयाँ सम्मको रहेका छन् । 

 

बाजुराबाट करिब ७२ भेडा च्याङ्ग्रा पोखरा झारेका सर्पलाल थापाले रोज्जा च्याङ्ग्रा को मूल्य बढीमा ५७ हजार रुपैयाँसम्म पर्ने बताउँछन् । गोठमा खरिद दर नै बढी भएकाले रेट बढेको उनले सुनाए । ‘गोठमै किन्दा एउटाको ५३ हजार पर्यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘१ महिना अघिदेखि जम्मा गर्न पर्यो, पालिकालाई तिर्न पर्यो, अनि ल्याउँदा ट्रक भाडा लाग्यो हामीलाई पनि अलिअलि फाइदा त हुनै पर्यो नि ।’ उनकोमा ३५ देखि ५७ हजार रुपैयाँसम्मको च्याङ्ग्रा छ ।

 


Author

थप समाचार
x