अर्थ / बाणिज्य

वन समूहको सहयोगमा गाउँमा पुग्याे बिजुली

इकागज |
कात्तिक १९, २०८० आइतबार १५:२५ बजे

कटारी (उदयपुर)- उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युतको मुख्य प्रशारण लाइनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङ नै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले व्यवस्था मिलाएको हो ।

'समूहले तार र मिटर बक्स जडान गरिदिएको हो,' तामाङले भने, 'समूहको सहयोग पाएपछि घरमा बिजुली बल्यो ।' उनीलगायत गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको अर्का स्थानीयवासी रामलाल तामाङले बताए ।


गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटर बक्स खरिद गरी सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङले बताए । 'समूहले भेलाबाट निर्णय गराएर गाउँमा बिजुली बाल्दै आएका छौँ,' उनले भने । 

समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले रु आठ लाखभन्दा बढी खर्च गरिसकेको छ । गाउँमा  सबै उपभाेक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ । आम भेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) को सिफारिसमा समूहले गाउँमा बिजुली बाल्ने कार्यक्रममा सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए । 

कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा बिजुली नपुग्दा स्थानीयवासीले सोलार र टुकी बाल्दै आएका थिए । बिजुली पुगेसँगै वन  समूहले बत्ती बाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो । गाउँमा बिजुली जडान भएपछि तिहारसँगै घरघरमा झिलिमिली बत्ती बालिएपछि अहिले गाउँ नै  उज्यालो भएको स्थानीय सोमबहादुर तामाङले बताए । रासस 


Author

थप समाचार
x