अर्थ / बाणिज्य

उद्योग वाणिज्य महासंघको चुनाव : सहमतिको सम्भावनामा पूर्णविराम !

पुष्पराज आचार्य |
मंसिर ८, २०७७ सोमबार १०:२४ बजे

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको चुनावी साधरणसभा यसै सप्ताहन्तमा मंसिर ११ देखि १३ सम्म हुँदैछ । पद, प्रतिष्ठा र पावर (शक्ति)सँग जोडिने भएकाले हरेक चुनावहरु रोचक हुन्छन् । तुष पोख्ने, रमाइलो गर्नेदेखि मतलाई पुँजीकरण गर्न भौतारिनेसम्मका समूहलाई निर्वाचन अवसर हो । आउँदो शनिबारसम्म महासंघको निर्वाचनले सरकारी संयन्त्र, राजनीतिक दलदेखि विभिन्न पेशाकर्मीहरुको समेत ध्यान तान्नेछ ।

महासंघमा वरिष्ठ उपाध्यक्षदेखि तल्लो तहसम्म निर्वाचन हुन्छ । महासंघको विधान संशोधन पछि २०७३ चैत यता तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणाले कार्यकाल पूरा गरिन् भने आगामी सातादेखि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेतृत्व लिदैंछन् । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले २०८० देखि २०८३ सम्म महासंघको अध्यक्षता गर्ने छन् ।


यसपटक महासंघको निर्वाचन अझै बढी रोचक देखिएको छ । बहालवाला अध्यक्ष र निर्वाचित अध्यक्ष (प्रेसिडेण्ट-इलेक्ट)ले एउटा प्यानलप्रति आफ्नो झुकाव मात्र होइन सार्वजनिक वकालत नै गरिरहेका छन्  । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल भर्सेस किशोर प्रधानको प्यानलसहितका टिम प्रतिस्पर्धामा छन् ।

राणा र गोल्छाले प्रधानलाई समर्थन गरेर ढकालमाथि अन्तिम समयमा सहमतिका लागि दबाब बढाएका छन् । ढकाललाई निर्विरोध बनाउने शर्तमा यो समूहले विशिष्ट सदस्यमा नियुक्तिदेखि महासंघको शुद्धीकरण गर्नेसम्मका केही मोटामोटी एजेण्डामा मनाउन खोजेको छ । प्रधान प्यानलबाट वस्तुगत समूहको उपाध्यक्षमा उम्मेद्वारी दिएका अन्जन श्रेष्ठले ‘सहमति हुन सक्ने विषयमा आफूले विमति नराख्ने र सहमति भएको खण्डमा आफू बाधक पनि नबन्ने’ उद्घोष गरेका छन् । निर्वाचित अध्यक्ष गोल्छासँग निकट मानिने श्रेष्ठको यो अभिव्यक्तिले सहमतिका लागि अर्को पक्षलाई स्वागत गरेको देखिन्छ ।

वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बनेका प्रधान सम्भवतः सबैभन्दा भाग्यमानी उम्मेद्वार हुन् । प्रधानले ढकालसँगको प्रतिस्पर्धामा धेरै मेहनत गर्नु परेको छैन । प्रधानले महासंघमा २८ वर्ष व्यतित गरिसकेकाले उनका लागि महासंघ मन्दिर जस्तो भएको र शेखर गोल्छालाई सघाउनु आफ्नो एक मात्र उद्देश्य भएको बताउँदै आएका छन् । प्रधानलाई उम्मेद्वार बनाएर चन्द्र ढकालसँग निर्वाचन लड्न लगाएको आरोप निर्वाचित अध्यक्ष गोल्छामाथि लाग्ने गरेको छ । यद्यपि उनी किशोर प्रधानकै कारण भन्दा पनि वस्तुगत र एसोसिएट उपाध्यक्षका उम्मेद्वारहरु क्रमशः अन्जन श्रेष्ठ र सौरभ ज्योतिसँगको निकटताका कारण पनि यो समूहप्रति झुकाब राख्दै आएका थिए । गोल्छा, ज्योति र श्रेष्ठ तीनै जना नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का पूर्व अध्यक्षहरु हुन् ।

                                         चन्द्र ढकाल

गोल्छाले भने ५४औं साधरणसभाबाट महासंघको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने भएकाले आफू मौन बस्न उचित नभएको उल्लेख गरेका छन् । महासंघभित्रको सधैँको फोहोरी राजनीति अन्त्य गर्ने र शुद्धीकरण गर्ने एजेण्डामा अन्तिम समयसम्म सहमति हुने सम्भावना जीवित देख्छन् उनी । यद्यपि, त्यो सम्भावनामा अब लगभग पूर्णविराम लागिसकेको जानकारहरु बताउँछन् । महासंघको निर्वाचनमा सदावहार खेलाडी बन्ने गरेका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई महासंघको ढोका बन्द गर्न बहालवाला अध्यक्ष, निर्वाचित अध्यक्ष र उनले समर्थन गरेको प्यानलले शुद्धीकरणको एजेण्डा अघि सारेको छ ।

चन्द्र ढकालको समूह भने निर्वाचनको तयारीमा धेरै अघि बढीसकेकोले अब टाउको-टाउको मिल्न दिने वा सहमति हुन दिने पक्षमा छैन । कार्यकारिणी समितिमा समेत आफ्नो प्यानलका बहुमतलाई विजयी गराउने अभियानमा ‘सिंगो टीम’को मर्मसहित अघि बढेको ढकाल पक्षका एक प्रभावशाली उम्मेद्वारले बताए । ‘अब उहाँ (चन्द्र ढकाल) ले मात्र सहमति गर्ने बित्तिकै माहौल बिग्रन्छ,’ उनले भने, ‘हामी प्यानलबाट बहुसंख्यक जित्ने अवस्थामा छौं । उहाँलाई सहमति गर्न दिएर हारेका खेलाडी हुन चाहन्नौं ।’

वास्तवमा अब सहमति गर्ने या नगर्ने ढकालको मात्र वशमा छैन । सिंगो टिमलाई विश्वासमा निर्विरोध नै हुने भए पनि उनी एक्लैले निर्णय गर्न सक्ने अवस्था छैन । सिंगो टिमलाई विश्वस्त पार्न अब समय छैन । ढकालको समूहले वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठलाई र एशोसिएट उपाध्यक्षको उम्मेद्वारमा रामचन्द्र संघाईलाई चयन गरेको छ भने जिल्ला नगरको उपाध्यक्षमा गुणनिधि तिवारी छन् ।

प्रधानको प्यानलबाट जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एशोसिएटबाट सौरभ ज्योति चयन भएका छन् । प्रधानको समूह बन्नुअघि नै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकालले वस्तुगतका उपाध्यक्षका उम्मेद्वार अन्जन श्रेष्ठ र एशोसिएटका उपाध्यक्षको उम्मेद्वार सौरभ ज्योतिलाई आफ्नो समूहमा उम्मेद्वार बनाउन प्रस्ताव गरेका थिए । समूह बनाएर अघि बढ्ने र समूहगत रुपमा चुनाव प्रसारप्रसार गर्ने प्रस्तावमा उनीहरु सहमत नभएपछि ढकालले प्रतिवद्ध समूह खोज्ने क्रममा रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठसँग हातेमालो गरेका हुन् ।

निर्वाचनमा हुने गुटबन्दी र राजनीतिक हिसाबले विभक्त महासंघमा बहालवाला अध्यक्ष र निर्वाचित अध्यक्षले एक पक्षलाई समर्थन गर्नुले गुटबन्दी अझै झांगिने कतिपयको विश्लेषण छ । यद्यपि दुवै पक्षले निर्वाचन पछि यो आफै समाप्त हुने दाबी गर्छन् । निर्वाचनमा तटस्थ बस्ने सम्भव नहुने हुँदा गोप्य रुपमा भन्दा खुलस्त रुपमा कसैलाई समर्थन गर्नु राम्रो हुने निर्वाचित अध्यक्ष गोल्छा समूहको दलील छ भने वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल पनि प्यानल निर्वाचन प्रयोजनको लागि मात्र खडा भएको बताउँछन् ।

यद्यपि निर्वाचनमा कुनै समूहलाई समर्थन गरेर महासंघमा प्रवेश गर्ने चण्डीराज ढकालले महासंघभित्र हस्तक्षेप गर्ने गरेको चर्चा कार्यसमितिभित्र चल्दै आएको छ । यसपटकको निर्वाचनमा चन्द्र ढकालको समूहलाई समर्थन गरेका चण्डीराज ढकालको महासंघमा प्रवेश पूर्ण रुपमा बन्द गर्नुलाई गोल्छा तथा प्रधान समूहले महासंघको शुद्धीकरणको रुपमा लिएको छ ।

                                     किशोर प्रधान

महासंघमा चण्डीराजलाई शक्तिशाली र हस्तक्षेपकारी पूर्व अध्यक्षका रुपमा लिने गरिन्छ । कतिपयले अझै पनि जिल्ला नगर उद्योग वाणिज्य संघमा उनको पकड रहेको ठान्छन् । हुन त ढकाल महासंघमा हाबी भएका प्रशस्त उदाहरण छन् । महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेको पुरानो मुद्दामा पहिले सजाय माफी भैसकेको पुष्टी गराउन उनी एक्लै लागेका थिए । तत्कालीन वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणालाई स्वतः अध्यक्ष बनाउन ढकालले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखेर विधान संशोधन गराइदिए । यो व्यवस्था गर्नुहुन्न भन्ने अभिमत राख्ने महासंघका पूर्व अध्यक्षहरुले एकथान वक्तव्यबाजी गर्नेबाहेक विशेष साधरणसभामै आएर यसको विरोधमा अभिव्यक्ति दिएनन् ।

राणालाई स्वतः अध्यक्ष बनाएपछि महासंघमा चण्डीराजको हालीमुहाली केही बढ्ने नै भयो । महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले महासंघमा निर्वाचनले उत्पन्न गर्ने विभाजन रोकिने, गुटबन्दी अन्त्य हुने दलील गरिएको थियो । यद्यपि, राणाकै कार्यकाल पनि उनले शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि स्वतः अध्यक्ष हुनेमा निश्चिन्त भएर उद्योगी, व्यवसायीको समस्या सुन्न छाडेको भनेर जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई भड्काउनेमा लागिरहे ।

त्यही कार्यकालमै पुनः विधान संशोधन गरेर अध्यक्षमा पनि निर्वाचन गर्नुपर्छ भनेर विशेष साधरणसभामा विधान संशोधन प्रस्ताव लैजान अध्यक्ष भवानी राणासमेतलाई सहमत गराए । महासंघभित्र निरन्तर ढकालको राजनीतिक प्रतिशोधको शिकार भएका कारण पनि गोल्छाले चण्डीराजले गोल्छाविरुद्ध वरिष्ठ उपाध्यक्षमा अघि सारेका किशोरलाई पुनः वरिष्ठ उपाध्यक्षको उम्मेद्वार बनाएर चण्डीराजलाई प्रत्याक्रमण गरिरहेका छन् ।

वर्तमान अध्यक्ष भवानी राणालाई अध्यक्ष बनाउन विधान संशोधन गराएका चण्डीराजसँग राणाको सम्बन्ध भने सुमधुर छैन । महासंघका तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई चण्डीराजले राजीनामा दिन बाध्य पारेका कारण पनि महासंघका आन्तरिक सूचनाहरु बाहिरिएको, २०७६ चैतमा सरेको निर्वाचन डिजिटल या अन्य कुनै माध्यमबाट तीन महिनाभित्र गराउनुपर्नेमा दबाब दिएको र राणाविरुद्ध प्रचारप्रसार गरेको भनेर राणा चण्डीराजसँग क्रुद्ध बनेकी हुन् ।

आफू निर्वाचित अध्यक्ष भइसकेकाले पनि शेखरले भने महासंघ विधानको बाधा अड्चन फुकाउसम्बन्धी प्रावधान प्रयोग गरेर महासंघको निर्वाचन सार्नेमा राणालाई साथ दिए । महासंघमा राणा निर्वाचित भएयता सिंगो कार्यकाल अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच सम्बन्ध त्यति सुमधुर भएन । झनै विधान संशोधनको प्रस्तावले तिक्तता झांगिएको थियो ।

गोल्छा र चण्डिराज ढकालबीचको टकराब यो निर्वाचनमा प्रतिबिम्बित हुँदैछ । चण्डीराज ढकाल वरिष्ठ उपाध्यक्ष र कार्यसमितिमा ढकाल प्यानलबाट बहुसंख्यकलाई विजय गराएर आफू विशिष्ट सदस्य हुन चाहेका छन् । खासगरी विशिष्ट सदस्य निवर्तमान अध्यक्ष भन्दा अघिल्लो अध्यक्षलाई कार्यसमिति तथा पदाधिकारी बैठकमा आमन्त्रण गर्न सिर्जना गरिएको पद हो । तर कार्यकारिणी समितिले मनोनित गर्ने भएकाले पूर्व अध्यक्षहरुमध्यबाट जोकोहीलाई आमन्त्रण गर्न सकिन्छ । सोझो हिसाबले पशुपति मुरारकामा आउनुपर्ने विशिष्ट सदस्य पद चण्डिराजले खोस्ने हुन् कि भन्ने त्रासमा मुरारका समूह पनि प्रधानको प्यानललाई समर्थन गर्न आइपुगेको छ ।

जिल्ला नगर उद्योग वाणिज्य संघको १०७, एसोसिएटको ९२३, वस्तुगतको १०३ जना र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुबाट १२ जनाले महासंघको निर्वाचनमा मतदान गर्छन् । वस्तुगत र एसोसिएटका उपाध्यक्षमा आ-आफ्नो समूहले मात्र मतदान गर्छ भने अन्य पदमा जिल्ला, नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएटको ३० र वस्तुगतको २० प्रतिशत हुन्छ । महासंघभित्रको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघले वस्तुगत तर्फ र वस्तुगतले जिल्लाको समेत भोट प्रभावित गर्न सक्ने भएकाले निर्वाचनको प्यानलमा भोट ‘क्रस’ हुने सम्भावना अत्यन्त कम हुन्छ । कतिपय वस्तुगत संघले आफ्नो मत कसलाई दिने भन्ने घोषणा नै गरिसकेका छन् । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x