अर्थ / बाणिज्य

सूर्य नेपाल च्यालेन्ज सोमबार सुरु हुने

इकागज |
फागुन २०, २०८० आइतबार २१:४५ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ ।

चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले दाबेदारी प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्ने छन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ ।


कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ६७ हजार र ४८ हजार हात पार्ने छन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौँ हुनेलाई ३६ हजार प्रदान गरिनेछ । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनका लागि रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केही अप्ठ्यारो बनाइएको छ । जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी सुरु गरिसकेका छन् ।

तीन वटा रेकर्ड सहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन् । यस्तै यो सिजनको सुरुवात सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ । प्रोफेसनल गल्फरहरूलाई युवा एमेच्योर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यले कडा चुनौती दिने छन् ।

गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सदभाव पनि उच्च फर्ममा रहेका छन् । उनी उपाधि रक्षा गर्ने कोशिशमा रहने छन् ।


Author

थप समाचार
x