खेलकुद

सूर्य नेपाल वेस्टर्न ओपन सम्पन्न, सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

इकागज |
फागुन १३, २०८० आइतबार २१:१ बजे

पोखरा- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो-एमको उपाधि प्रोफेसनल सञ्जीवबहादुर नेपालीको टिमले जितेको छ ।

पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो । प्रो सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ वर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे ।


प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो । प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका ड्यानियल बानियाँले र मिलन यखाले समान ३६/३६ र अनिल सिन्हाले ३५ अंक दर्ज गरे ।

प्रो सूर्यप्रसाद शर्माको टिम १ सय ३३ को कुल स्कोरमा तेस्रो भयो । प्रो सुर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरुङले ३२ अंक बटुले ।

महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन । उनले ३३ अंकमा खेल पुरा गरिन । प्रतियोगितामा कृष्ण गुरूङले लङगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते ।

प्रो-एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरले सहभागिता रहेको थियो । विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी,कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे ।

हिजो सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि रेकर्ड स्कोरसहित भुवन नगरकोटीले जितेका थिए । रवि खड्का दोस्रो र निरज तामाङ तेश्रो भएका थिए । एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि जित्दा प्रज्वल गुरुङ दोस्रो भएका थिए ।

८ लाख ४० हजार कूल पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x