कर्पोरेट

सूर्य नेपाल वेस्टर्न ओपन : रेकर्ड स्कोरमा भुवनलाई करियरको ११औं उपाधि

इकागज |
फागुन ११, २०८० शुक्रबार २०:३४ बजे

पोखरा- पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोरसहित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जित्न सफल भएका छन् ।

५४ होलको प्रतियोगिता १०-अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा बनेको यो अहिलेसम्मकै उत्कृष्ट स्कोर हो । भुवनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ९-अन्डरको  रेकर्ड तोडेका हुन् । यो प्रतियोगितामा भुवनको यो दोस्रो रेकर्ड हो । हिजो उनले ७-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका थिए ।


पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा अन्तिम दिन आज इभन-पार ६९ को स्कोर निकाल्दा भुवनले समग्रमा १०-अन्डर १ सय ९७ को सानदार स्कोरमा करियरको एघारौं उपाधि जितेका हुन् । भुवनले रवि खड्का र एमेच्योर सदभाव आचार्यलाई १२ स्ट्रोकले माथ दिए । उपाधिसँगै भुवनले १ लाख ४० हजार नगद पुरस्कार हात पारे । सन् २०२२ को सूर्य नेपाल काठमाडौँ ओपन जितेपछि उनले जितेको यो पहिलो उपाधि हो ।

रवि खड्का र एमेच्योर सदभाव आचार्यले समग्रमा २-ओभर २ सय ९ को स्कोरमा दोस्रो स्थान बाँडे । रवि र सदभाव दुवैले आज १-ओभर ७० मा खेल सकाए । रविले नगद ९६ हजार प्राप्त गरे । एमेच्योरतर्फ सदभावले उपाधि जिते । उनले प्रज्वल गुरूङलाई १३ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । दोस्रो भएका प्रज्वलले १५-ओभर २ सय २२ स्कोर गरे ।

धरानका प्रो निरज तामाङले आज इभन-पार ६९ मा खेल सकाउँदा समग्रमा ४-ओभर २ सय ११ को स्कोरमा तेस्रो स्थान प्राप्त गरे । उनले ७२ हजार नगद आफ्नो नाममा लेखाए । भेट्रान प्रो दीपक मगरले समग्रमा ६-ओभर २ सय ११सहित चौथो भए । आज उनले इभन-पार ६९ मा खेल सकाए । चौथो भएका उनले ५९ हजार नगद हात पारे । समग्रमा १०-ओभर २ सय १७ बनाएका प्रदीप कुमार लामा पाँचौ भए । उनले आज ४-ओभर ७३ मा खेल सकाए । उनी ५० हजार नगद पुरस्कारको हकदार बने ।

यसैगरी बलभद्र राई, भुबहादुर गुरुङ र सञ्जय लामाले समग्रमा ११-ओभर २ सय १८ को नतिजामा छैटौं स्थान बाँडे । उनीहरूले जनही ३९ हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम दिन बलभद्रले ४-ओभर ७३, भुबहादुरले ३-ओभर ७२ र सञ्जयले १-ओभर ७० मा खेल सकाए । दलबहादुर लामा र दिनेश प्रजापतिले समग्रमा १३-ओभर २ सय २० को स्कोरमा संयुक्तरुपमा नवौं स्थान बाँड्दा जनही ३२ हजार हात पारे । दलले आज ६-ओभर ७५ र नीरजले ३-ओभर ७२ मा अन्तिम दिनको खेल सकाए ।

११ स्ट्रोकको अग्रतासहित अन्तिम १८ होलको सुरुवात गरेका भुवनलाई अन्य कुनैपनि गल्फरले चुनौती दिन सकेनन । उनले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए । पहिलो र पाँचौ होलमा बर्डी तथा चौथो र सातौं होलमा बोगी प्रहार गरे । उनले ब्याक नाइन पनि इभन-पार ३५ मा सकाए । यो क्रममा उनले १४औं र १८औं होलमा एक-एक सट खेर फाल्दा १५औं र १६ औं होलमा बर्डी प्रहार गरे ।

रविले फ्रन्ट नाइनमा राम्रो प्रदर्शन गर्न सकेनन् । ३-ओभर ३७ मा फ्रन्ट नाइन सकाउने क्रममा उनले पहिलो र आठौं होलमा बोगी र सातौं होलमा डबल बोगीको सामना गरे । तेस्रो होलमा एक सट बचाए । ब्याक नाइनमा सम्हालिँदै १५औं र १८औं होलमा दुई बर्डी प्रहार गरे । ब्याक नाइन २-अन्डर ३३ मा पूरा गरे ।

संयुक्तरुपमा दोस्रो भएका एमेच्योर विजेता सदभावले फ्रन्ट नाइन इभन-पार ३४ मा पूरा गरे । उनले पहिलो होलमा बोगी र सातौं होलमा बर्डी खेपे । यसपछि १०औं र १३औं होलमा एक-एक सट बचाउँदा १२औ, १५औं र १७औं होलमा बोगीको सामना गरे ।

निरजले फ्रन्ट नाइन १-ओभर ३५ र ब्याक नाइन १-अन्डर ३४ मा सकाए । दोस्रो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि चौथो, छैटौं र नवौं होलमा एक-एक सट खेर फाले । यसपछि १७औं होलमा डबल बोगी खेप्दा १३औ, १५औं र १८औं होलमा एक-एक सट बचाए ।

काठमाडौँ बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवराम गुरूङ र गण्डकी प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य केशव पाठकले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको अन्तिम दिन भोलि प्रो-एम प्रतियोगिता हुनेछ । प्रतियोगितामा ७६ एमेच्योर र १९ प्रोफेसनल गल्फरले भाग लिनेछन् । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत जारी सिजनमा कुल आठ प्रतियोगिता रहेका छन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ । 


Author

थप समाचार
x