खेलकुद

सूर्य नेपाल वेस्टर्न ओपन : कोर्स रेकर्डसहित भुवन शीर्ष स्थानमा कायमै

इकागज |
फागुन १०, २०८० बिहीबार २०:२१ बजे

पोखरा- पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्ष स्थानमा कायमै रहेका छन् । 

पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्डसहित भुवनले ३६ होलको समाप्तिमा १०-अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे । उनले सन २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन् । 


भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन् । समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्त रूपमा दोस्रो स्थानमा छन् । रबिले १-ओभर ७० र  सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । 

समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे । उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे । प्रदीपकुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे । प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पूरा गरे । 

यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दलबहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्त रूपमा सातौं स्थानमा रहेका छन् । जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दलबहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे । 

भुबहादुर गुरुङ, भुवन कुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंकबहादुर कार्की, सुर्यप्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीवबहादुर नेपाली, धनबहादुर थापा तथा एमेच्योर प्रज्वल गुरुङ  सुरेश तामाङले कट बनाएका छन् । 

३६ होलको समाप्तिमा १४-ओभर १ सय ५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका छन् । ५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ । 

एसिया क्षेत्रकै कठिन मध्येको एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगी रहित कार्ड बनाउने क्रममा सात वटा बर्डी दर्ज गरे । पहिलो, चौथो र नवौं होलमा एक-एक सट बचाउँदा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पूरा गरे । यही लयलाई निरन्तरता दिँदै उनले ११औं, १४औ, १५औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गदै ब्याक नाइन ४-अन्डर ३१ मा सकाए । 

यो लोभलाग्दो प्रदर्शनमा भुवन करियरको ११औं उपाधि नजिक पुगेका छन् । सन २०२२ को डिसेम्बरमा सुर्य नेपाल काठमाडौँ ओपनको उपाधि जितेपछि भुवन उपाधिविहीन रहेका छन् । 

रबिले सुरूवात राम्रो गर्न सकेनन् । छैटौं, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए । यसपछि ब्याक नाइनमा भने सम्हालिँदै २-अन्डर ३३ मा पूरा गरे ।


Author

थप समाचार
x