कर्पोरेट

सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि

इकागज |
फागुन ८, २०८० मंगलबार १९:४७ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि हिमालयन गल्फ क्लब, पोखरामा सुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौँ बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागिता जनाउने छैनन् । गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन् । पूर्व नम्बर एक एमेच्योर गल्फर सुबाशले प्रोफेसनल गल्फ टुर अफ इण्डियाको क्वालीफाईङ्ग स्कूलमा दोश्रो हुँदै भारतीय गल्फ टुरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन् ।


यो सिजनको दोस्रो प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापतिसहित पूर्व नम्बर एक खेलाडीहरू भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धन बहादुर थापा दाबेदार खेलाडी हुन् । प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सद्भाव आचार्य पनि दावेदार मध्येका एक हुन् । सद्‌भावले यो सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए ।

३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमश: ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो र पाँचौं स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन् ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुने छन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।


Author

थप समाचार
x