अर्थ / बाणिज्य

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा

कसैलाई दोष लगाउनुअघि आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ :  किशोर प्रधान, वरिष्ठ उपाध्यक्षको उम्मेद्वार

पुष्पराज आचार्य |
मंसिर १०, २०७७ बुधबार १९:५७ बजे

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा बिहीबारदेखि शुरु हुँदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मको निर्वाचन हुँदैछ । गत वर्ष चैत महिनामा हुनुपर्ने साधारण सभा कोभिड-१९ महामारीका कारण ८ महिनापछि (मंसीर ११-१३ मा) हुन लागेको हो । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा मंसीर १४ देखि महासंघको अध्यक्ष बन्‍नेछन् भने उनको तीनवर्षे कार्यकाल समाप्तभएपछि अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिनेछन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षहरू किशोर प्रधान र चन्द्र ढकालले प्रतिस्पर्धा गर्दैछन् । 

मोरङ उद्योग संघबाट चेम्बर आन्दोलनमा सहभागी भएका किशोर प्रधान २८ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आवध्द छन् । उनी कंक्रिट उत्पादन व्यवसायमा संलग्‍न छन् । आगामी कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका प्रधानसँग इकागजका पुष्‍पराज  आचार्यले  गरेको कुराकानीः 


नेपाल उद्योग वाणिज्य महासंघमा यसअघि पनि वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुभयो । पुनः जिल्ला, नगरतर्फको महासंघको उपाध्यक्ष खाली भएपछि दोहोर्‍याएर महासंघको उपाध्यक्ष बन्‍नुभयो । फेरि, वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न लाग्‍नुभएको छ । खासमा महासंघले किशोर प्रधानलाई किन पछ्याएको हो ? 
नेपाल उद्योग वाणिज्य महासंघमा किशोर प्रधान चाहिने एउटा मात्र कारण छ । किशोर प्रधान इमान्दार र कर्तव्यनिष्ठ छ । मलाई कसैको डर लाग्दैन । साँचो बोल्ने र सत्यमा हिंड्ने भएकाले किशोर प्रधानमा सत्यको शक्ति छ । अब बन्‍न लागेका अध्यक्षले पनि किशोर प्रधान कर्तव्यनिष्ठ छ भनेर मलाई समर्थन गर्नुभएको छ । म शेखर गोल्छाजीसँग अघिल्लोपटक प्रतिस्पर्धा गरेको हुँ । तर पनि उहाँले अहिले मलाई समर्थन गर्नुभएको छ । मेरो इमान, कार्यक्षमता र लगनशीलतालाई पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष र आगामी अध्यक्षले पहिचान गर्नुभएको छ ।

तपाईंहरुले वर्तमान अध्यक्ष, निर्वाचित अध्यक्षलाई समेत आफ्नो समूह भनेर प्रचार-प्रसार गरिराख्नुभएको छ । निर्वाचित अध्यक्ष पनि कुनै समूहको पक्ष विपक्षमा लाग्‍न मिल्छ त ? 
यो प्रचलित अभ्यास हो । कुनै पनि व्यक्तिले आफ्नो टीममा कसलाई ल्याउने/सहयोग गर्ने भन्‍ने त भइहाल्छ । उहाँले नै सँगै काम गरौं भनेर मलाई अघि बढाउनुभएको हो । नेपालको औद्योगिक इतिहासको विरासत शेखर गोल्छाले बोकेका छन् । नेपालमा पहिलोपटक उद्योगको स्थापना गर्ने रामलाल गोल्छाका नातीले आज नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व लिदैंछन् भने उनले आफ्नो टीममा हामीलाई छनौट गर्नु सौभाग्य पनि हो । देशभरका उद्योगी, व्यवसायीहरुको समस्या समाधानमा हामी प्रतिबध्द भएर लाग्छौं । सरकारसँग सार्थक हातेमालो गर्दै हामीले मुलुकमा पुनः आर्थिक क्रान्तिको वातावरण सिर्जना गर्छौं । प्रधानमन्त्रीज्यूको ‘समृध्द नेपाल, सुखी नेपाली’ को सोचलाई कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा हामी सरकारसँग सहकार्य गर्छौं र सरोकारवालालाई उत्प्रेरित गर्छौं । 

महासंघको वरिष्ठ उपाध्यक्ष एक कार्यकालपछि स्वतः अध्यक्ष हुन्छ । तर यहाँले आफूलाई अध्यक्षका रुपमा प्रक्षेपण नगरेर केवल आगामी अध्यक्ष शेखर गोल्छालाई सफल बनाउन उम्मेद्वारी दिएको भन्दै हुनुहुन्छ । यसले त यहाँको नेतृत्व क्षमतालाई नै प्रश्‍न गर्दैन र ? 
म निर्वाचित भएको खण्डमा शेखर गोल्छापछिको अध्यक्ष हुँ । तर आगामी कार्यकाल त म शेखरजीको टीममा रहेर काम गर्छु । उहाँको सफलताका लागि काम गर्ने हो । मैंले अहिले नै कसरी आफू नै अध्यक्ष हुँ भनेर भन्दै हिंड्ने । समय आएपछि मैले महासंघलाई नेतृत्व प्रदान गर्न म योग्य छु । म आफू नेतृत्वको कुर्सीमा बसेपछि मात्र अहिले यहाँले सोधेको विषयलाई प्रमाणित गर्ने हो । अहिले मेरो एकमात्र एजेण्डा भनेकै आगामी अध्यक्ष शेखरजीले बनाएको योजनालाई कार्यान्वयन गराउनु नै हो ।

अघिल्लोपटक शेखर गोल्छासँगै वरिष्ठ उपाध्यक्षमा निर्वाचन लडेपछि महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था संशोधन गर्नुपर्छ भनेर विधान संशोधनको लागि तपाईं नै अग्रपंक्तिमा देखिनुहुन्थ्यो । विधान संशोधन गरेर शेखर गोल्छासँग म अध्यक्षमा पनि प्रतिस्पर्धा गर्ने हो भन्‍नुहुन्थ्यो । निर्वाचनपछि यहाँहरुको सहयात्रा जारी रहन्छ भन्‍ने आधार छ र ?  
विधान संशोधनको मूल नाइके नै मसँग प्रतिस्पर्धा गर्न लाग्‍नुभएका चन्द्र ढकालजीको सारथी हुनुहुन्छ । चण्डीराज ढकाललाई विधान संशोधनका लागि साथ दिनेमा चन्द्रजीहरु पनि हुनुहुन्थ्यो । यो मिथ्या आरोप हो । कसैलाई दोष लगाउनुअघि सबैले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ । म कुनै समय विधान संशोधनको पक्षमा लागेको थिएँ भन्‍ने कुरालाई अस्वीकार गर्दिनँ । तर मैंले समयमै यस्तो गल्तीमा लाग्‍नुहुन्‍न भनेर बुझें । मलाई साथीहरुले सम्झाउनुभयो र मैले त्यो गल्ती सच्याइसकेको छु । विधान संशोधनको एजेण्डाका नाइकेलाई साथमा बोकेर हिंडेर साथीहरु अझै गल्ती गर्दै हुनुहुन्छ । 

यहाँले देशभरका उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्ने वचनबध्दता व्यक्त गर्नुभयो । तर विगतमा बैंकको ब्याजदरको मुद्दादेखि कोरोना महामारीमा पनि साना, मझौला उद्यमी व्यवसायीको समस्याप्रति मौन रहेको आरोप छ नि ?
उद्यमी व्यवसायीमाझ हाम्रो समन्वय कमजोर भएको विषयहरुप्रति हामी सचेत छौं । हामीले के बुझ्नुपर्छ भने सरकारसँग सहकार्यमा हाम्रो कुनै पनि नेतृत्व चुक्नुभएको छैन । तर समस्या कहाँनेर आयो भने सरकार अहिले चुकेको छ । दुई तिहाई बहुमतसहितको सरकार गठन भएपछि सरकारको आर्थिक विकासको एजेण्डालाई साथ दिन निजी क्षेत्र तयार थियो । तर सत्तारुढ दलको आन्तरिक कलहका कारण अन्य सबै मुद्दाहरु गौण भएका छन् । कोरोना भाइरस महामारीका कारण उद्यम, व्यवसाय आक्रान्त भएपछि हामीले उद्यम व्यवसाय बचाउन सरकारले सहजीकरण गर्नुपर्छ भनेर पहल गर्‍यौं । त्यो अनुकुल बजेट नआएपछि हामी पुनः सरकारको ध्यानाकर्षण गराउँदा मौद्रिक नीतिमार्फत् यसलाई सम्बोधन गर्ने भनियो । मौद्रिक नीतिमा हामीले उठाएका सवालहरु समेटिए तर त्यसलाई व्यवहारमा उतार्न सकिएन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्न सकेन । त्यसको सबभन्दा ठूलो कारण के हो भने बैंकिङ्ग व्यवसायका साथीहरु नै राष्ट्र बैंक जस्तो नियामक निकायमाथि हाबी भएको हामीले पाएका छौं । बैंकको कार्टेलिङभित्र बसेका व्यवसायीहरुले राष्ट्र बैंकलाई प्रभाव पार्ने अवस्थाको हामी अन्त्य गर्छौं । साना तथा मझौला उद्यमी, व्यवसायीका समस्या समाधानका लागि जिल्ला, नगर क्षेत्रबाट आएको उपाध्यक्षका रुपमा मैंले यसलाई महसुस गर्न सक्छु । बैंकको ऋण र ब्याजका अतिरिक्त करको समस्या छ । म के विश्‍वास दिलाउँछु भने मेरो ध्यान साना तथा मझौला उद्यमीको समस्या सम्बोधन गराउनु हुनेछ । ऋण र कर भुक्तानीको समस्या असाध्यै ठूलो छ । यसले अहिले उनीहरुको व्यवसायको निरन्तरतामै समस्या भैरहेको छ । ऋण भुक्तानीमा लचकता, ब्याजमा छुटलगायत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् दिएका सुविधा कार्यान्वयन गराउन र सरकारसँग थप सुविधा लिन म प्रतिबध्द भएर लाग्‍नेछु । 

वरिष्ठ उपाध्यक्ष भनेको अर्कोपटकको अध्यक्ष पनि हो । प्यानलकै नेतृत्व गरेर चुनाव लड्दा स्रोत-साधन पनि अत्याधिक चाहिन्छ भन्छन् नि ? 
मसँग रिसोर्सफूल (स्रोत-साधन) सम्पन्‍न मान्छे होइन । तर मतदाताहरू मसँग विश्‍वस्त छन् । २८ वर्षदेखि महासंघमा मेरो सहभागिता, मेरो निष्ठा र कामले साथीहरुले मलाई नेतृत्वमा अघि सार्नुभएको हो । स्रोत-साधन मात्र सबै कुरा होइन भन्‍ने त तपाईंले अमेरिकाको चुनावमा देख्नुभएन र ! स्रोतको हिसाबले बहालवाला राष्ट्रपति र रिपब्लिकनका उम्मेद्वार डोनाल्ड ट्रम्प निकै सम्पन्‍न थिए । तर डेमोक्र्याटका उम्मेद्वार जो बाइडनको विचार, उनको निष्ठा र मूल्य-मान्यतालाई मानिसहरुले मन पराए नि । अब नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा पनि त्यस्तै हुनेवाला छ । स्रोत-साधनका हिसाबले मेरो प्रतिस्पर्धी साथी (भाइ नै हुनुहुन्छ) निकै सम्पन्‍न हुनुहुन्छ । मेरो जित्ने आधार भनेकै मेरो इमान्दारिता, कर्तव्यनिष्ठता र लगनशीलता नै हो । मेरो व्यवसायिक र उद्योग, वाणिज्य महासंघको यात्रामा कसैले मलाई कहीं औंला उठाउने, दाग लगाउने ठाउँ छैन । मतदाताको मूल्यांकनमा म खरो उत्रेको छु । नेपाल उद्योग वाणिज्य महासंघमा मैंले पाँच, छ जना अध्यक्षसँग काम गरें । त्यो क्रममा मैंले तीनवटा समितिको सभापति भएर काम गरें । सार्वजनिक-निजी साझेदारी (पीपीपी) संस्थापक अध्यक्ष भएर मैंले सरकारसँग त्यो विषय स्थापित गराएँ । त्यस्तै, स्थानीय आर्थिक विकास (एलईडी) पनि मैंले स्थानीय विकास मन्त्रालयसँग समन्वय गरेर उद्योग वाणिज्य संघहरुलाई त्यसमा जोड्ने काम गरें । त्यस्तै, प्रधानमन्त्रीज्यूले अध्यक्षता गर्ने नेपाल बिजनेस फोरम (एनबीएफ) मार्फत् निजी क्षेत्रले लगानी प्रवर्धन, उद्यमशीलता र रोजगारीको विकासका साथै निजी क्षेत्रका समस्या समाधान गर्ने उच्चस्तरीय संयन्त्रको रुपमा मैंले स्थापित गराएँ । मैले महासंघमा रहेर उल्लेखनीय र प्रभावकारी भूमिका निर्वाह गरेका कारण मलाई उद्योगी, व्यवसायी साथीहरुले विश्‍वास गरेर तपाईं नेतृत्वका लागि अघि बढ्नुस् भन्‍नुभएको हो । हाम्रो आगामी अध्यक्ष शेखर गोल्छाले सबै पूर्व अध्यक्षसँग सरसल्लाह गरेर निजी क्षेत्रका सबै मुद्दाहरुलाई सशक्त ढंगले अघि बढाउने सोच अघि सार्नुभएको छ । मैंले महासंघमा पशुपति मुरारका, भवानी राणाको टीममा रहेर काम गरेको देखेर नै शेखरजीले आफ्नो टीममा राख्नुभएको हो । यसमा म उत्साहित भएर अघि बढेको छु । 

अन्त्यमा, महासंघको निर्वाचनमा राजनीतिक दलगत विभाजन देखिएको भन्‍ने टीका-टिप्पणीहरु भइरहेका छन् । यसबारे के भन्‍नुहुन्छ ? 
महासंघको उम्मेद्वारीमा दलगत रुपमा विभाजन देखेको छैन । स्रोत-साधनकै बारे कुरा गर्दा पनि मैले त साथीहरुलाई स्वागत सत्कारबाहेक ठूलो खर्च गरेको छैन । वास्तवमा राजनीतिक विभाजन र स्रोत-साधनका आधारमा निर्वाचन लड्नुपर्ने अवस्थाको यसपटकदेखि नै अन्त्य होस् भन्‍नका लागि पनि मेरो उम्मेद्वारी हो । मेरो उम्मेद्वारी मध्यम र साना व्यवसायीको लागि मानक पनि हो । म जस्तो मध्यम र साना वर्गका व्यवसायी महासंघको नेतृत्वमा आउन सक्छन् भन्‍ने आभाष दिलाउनका लागि म उम्मेद्वार बनेको हो । महासंघको नेतृत्वमा पुग्‍न चाहने जिल्ला, नगरका हरेक साथीहरुका लागि म मार्गप्रशस्त गर्नेछु । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x