अर्थ / बाणिज्य

पाइलैपिच्छे अवरोध

बुटवल-नारायणगढ सडक बिस्तारको काम, दुई वर्षमा २ प्रतिशत मात्रै

बिक्रम खड्का |
मंसिर १७, २०७७ बुधबार १७:३९ बजे

बुटवल : बुटवल-नारायणगढ सडक बिस्तार आयोजनाको काम कछुवाको गतिमा अघि बढेको छ । शिलान्यास भएको झण्डै दुई वर्ष पुग्‍नै लाग्दासमेत सडक बिस्तारको काम २ प्रतिशतको हाराहारीमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गरेपछि सुरु भएको बिस्तारको काम अहिलेसम्म २ प्रतिशत मात्र काम सकिएको हाे । सुुरु भएको ४४ महिनामा काम सक्ने भन्दै प्रधानमन्त्री ओलीले बुटवलबाट शिलन्यास गरेको सडक निमार्णका जटिलताका विषयमा राज्य संयन्त्रकै असहयोग देखिएको छ ।


सडक निमार्ण सुरु गर्न थाले पनि वन, विधुत्, टेलिकम निकुञ्‍ज जस्ता सरकारी कार्यालयहरूकै असहयोगले आयोजनामा अवरोध पारेको देखिएको छ । त्यसो त अहिले कोभिड पनि बहाना बनेकाे छ । 

नारायणगढ-बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कूल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्‍नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्‍नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ ।

नारायणगढ-बुटवल सडक आयोजना अन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मंसिर १५ सम्मको अवस्था हेर्दा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए । उनले भने- साइट क्लियर नहुँदा कामले गति लिन सकेन, ठेक्का सम्झौता हुँदा रुख कटान, विधुत्को पोल स्थानान्तरणको काम सकिएको भए धेरै प्रगती हुने थियो । उनकाअनुसार दुई वर्षको अन्तरालमा पटक पटक काम रोक्नु परेको छ । खासगरि सडक विस्तार क्षेत्रका रुख कटानको कामले निकै समस्या श्रृजना गरेको थियो ।

वन मन्त्रालयबाट स्वीकृति लिनेदेखि विजुलीको पोल सार्ने कामले पनि विस्तारको काममा अवरोध गरेको हो । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्‍जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समेत लामो समय समस्या भएको थियो ।

मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसंगै दक्षिणतर्फको रूखसमेत काट्न सुरु गरिएको अचार्यले बताए । सडकमा सानाठूला गरी ३३ हजार ८ सय ९२ रूख काट्नका लागि स्वीकृत पाएको भन्दै उनले झण्डै आघा  रूख काट्ने काम सकिएको बताए । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ ।

आयोजनाका सूचना अधिकारी आचार्यले यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा विस्तार हुने उल्लेख गर्दै शहरी क्षेत्रको करीब १७.६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६/६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने जानकारी दिए ।

त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार हुनेछ । जटिल भूगोलका कारण दाउन्‍नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको उनले बताए । यो आयोजनाको म्याद गुज्रन अब २० महिना मात्र बँकी छ ।

सडक विस्तारका क्रममा मध्यवर्ती क्षेत्र पर्ने स्थानका वनमा ६ वटा वन्यजन्तुमैत्री पुल निर्माण हुनेछ । त्यसैगरी, सो सडकमा ८७ वटा कल्भर्ट निर्माण हुने भन्दै २८ वटा कल्भर्ट निर्माणको काम भइरहेको सूचना अधिकारी आचार्यले बताए । गैँडाकोट दाउन्‍ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने भए पनि एउटा पुलको मात्रै निर्माण कार्य शुरु भएको आयोजनाले जनाएको छ ।

सडक विस्तारका क्रममा गैँडाकोटबाट १४ किलोमिटर पश्‍चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम भइरहेको छ भने सडक विस्तारका लागि ७५ जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । सडक विस्तारको शुरुआती अवस्थामा सडक सीमाभित्र पर्ने रूख हटाउने प्रक्रिया लामो हुने तथा विद्युत्का पोलहरु सडकभित्रै पर्दा काम गर्न ढिलाइ भएकामा त्यसलगत्तै विश्‍वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारणले पनि निर्माणले गति लिन नसकेको उनको भनाइ छ । कूल लागतमध्ये एडिबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बँकी रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साईट क्लियर नहुदा पाइलैपिच्छे अवरोध, कहिले मजदुर आन्दोलन त कहिले वनको लफडा 
 

आगामी २०७९ साउन २२ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ४२ महिनामा सक्ने भनेर २०७५ चैत्रमा शिलान्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरुबीच समन्वय नहुदा समयमै सुरु हुन नसक्ने निश्‍चित भएको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, वन लगायतका नियकायहरुले समयमै काम नगर्दा रोकिएको सडक विस्तारको काम कोरोना भाइरसको महामारीपछि ठप्प जस्तै भएको थियो । तर, केही महिनाअघिदेखि चिनियाँ प्राविधिक र कामदारहरू कार्यक्षेत्रमा खटिएपछि काम सुरु भएको छ ।

यस्तै व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएर केहि दिन काम अवरोध गरेका छन् । उनीहरुले रामग्राम-११ मा रहेको बुटवल–बर्दघाट रोड प्रोजेक्टको साइड क्याम्प (सेक्सन २) मा गएर नाराबाजी समेत गरेका थिए । 

सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरूलाई समयमा तलब नदिएको, बिना कारण कामबाट निकालिएको, कामदारको बिमा नगरिएको, काममा आउन जानका लागि व्यवस्थित यातायातका साधनहरु उपलब्ध नगराएको, सुरक्षा सामाग्रीको व्यवस्था नगरिएको , दैनिक ८ घन्टा भन्दा बढी काममा खटाइएको भन्दै उनीहरू आन्दोलित भएका थिए । 

आन्दोलनरत मजदूर खगेस न्यौपानेले प्रशासनको रोहवरमा मागहरू पुरा गने सहमति भएपछि काममा फर्किएको बताए । सडकको पश्चिम खण्डमा कार्यरत १ सय भन्दा बढी मजदुरहरुले काम ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । मजदुरहरू आन्दोलनमा उत्रिन थालेपछि सडक विस्तारको काम प्रभावित भएको थियो । सहमतिसंगै निमार्णको काम अघि बढेको ईन्जिनियर आचार्यले जानकारी दिए । 

इन्जिनियर आचार्यले कामको मुल्यांकन गर्ने बेला नभए पनि विगत केहि महिनाबाट ठेकेदार कम्पनीले गरेको प्रारम्भिक कामबाट समयावधिमा काम सकिने अपेक्षा गर्न सकिने बताए । ‘प्रायः सबै काम मेशिनको माध्यमबाट गर्ने भएका कारण काम समयमा सकिने आशा गर्न सकिन्छ’, आचार्यले भने ।

सडक विस्तारको प्रारम्भिक कामअन्तर्गत अहिले दुई ठूला पुलसहित साना पुल, साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, माटो कटान गर्ने, रुख कटान लगायतका कामहरु भैरहेको आयोजनाले जनाएको छ । १ सय १५ किमि सडक विस्तार हुने १६ अर्बको आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले पाएको छ । नारायणगढ-दाउन्‍ने ६५ र दाउन्‍ने-बुटवल ५० किमिका दुई खण्ड छन् । दाउन्ने पश्चिमको सडक बिस्तारको काम पनि कछुवाकै गतिमा रहेको छ । दाउन्नेबाट बुटवल सम्मको ५० किलोमिटर सडक बिस्तारको काम २ प्रतिशत भन्दा कम भएको बिस्तार आयोजनाको दाउन्‍ने पश्‍चिम कार्यालयले जनाएको छ । ४ वटा ठूला र केहि साना पुलको काम थालनी भएको, केहिभागमा नाला तथा माटो कटानको काम भएको बाहेक अन्य काम भएको नदेखिएको दाउन्ने पश्चिम कार्यालयका इन्जिनियर युवराज पाण्डेले बताए ।

पाण्डेका अनुसार १३ हजार रुख कटानको स्वीकृति प्राप्त गरेकोमा हालसम्म ४ हजार १ सय रुख कटान भएको छ भने विद्युत पोल सार्ने कामको थालनी नै भएको छैन । कोरोना माहामारीको अवस्था यस्तै रहे समय सीमामा काम सम्पन्न हुने सम्भावना कम रहेको पाण्डेले बताए । ठेकेदार कम्पनी स्रोतले भने नेपालमा बाझिएका ऐन कानुनका कारण काम थाल्न ढिला भएको दाबी गरेको छ ।

यात्रुलाई हैरानी 
एकातिर सडक विस्तारको काम ढिला सुरु हुनु, अर्कोतिर वर्षाले भत्काएको सडक मर्मतको काम नहँदा नारायणगढ-बुटवल सडकखण्डको यात्रा अहिले कष्टकर बनेको छ भने धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित भएका छन् । यसैमाथि मजदुरहरुको आन्दोलन समेत थपिन थालेपछि यो सडकखण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाइ हुने देखिएको छ ।

४२ महिनामा सक्ने गरी शिलान्यास भएर पनि कछुवा गतिमा अगाडि बढेको नारायणगढ–बुटवल खण्डको काम चिनियाँ कामदारहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाएर फर्केपछि सुुरु भएको छ । तर कहाँ कतिवेला निमार्ण रोकिन्छ भन्‍ने यकिन नहुने इन्जिनियहरुले बताउछन् । शिलन्यास भए पनि रुख कटान र विद्युत प्राधिकरणका पोल हटाउन ढिलाइ गरिएपछि त्यसै पनि यो सडकमा काम अघि बढ्न सकेको थिएन । त्यसैबीचमा कोरोना भाइरसको महामारी फैलिएपछि सडकको काम अलपत्र जस्तै थियो । निर्माणस्थलमा आवश्यक पुर्वतयारी बिना ठेक्का सम्झौता भएकै कारण काम अघि नबढेको सडकलाई कोरोनाले थप बहाना बनाइदिएको थियो । 

बुटवल–नारायणगढको दुरी छोटिने 
अहिले बुटवलबाट नारायणगढसम्म पुग्‍न तीन घण्टा लाग्छ । यो सडक विस्तारसँगै कम्तीमा १ घण्टा देखि ५० मिनेटभित्रै पुग्‍न सकिने आयोजनाको दाबी छ । अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ, जसलाई विभागले ४ लेनको बनाउने छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन झण्डै १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको थियो ।

सडकको दुई दुई लेनको बीचको भागमा ‘ग्रिनरी’का लागि खालि ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोप्‍ने तयारी छ । विस्तारित सडक दुईतर्फ नै ७, ७ मिटरको हुनेछ । योजनाअनुसार काम भए बुटवल नारायणगढ सडक विकसित देशका सडकजस्तै हुने सरकारको दाबी छ ।

सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागको भनाइ छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो ।

२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यसको चौडाइ ७ मिटरको हुनेछ । तर बुटवल-नारायणगढ खण्ड पूरै भाग ४ लेनको भने हुनेछैन । दाउन्‍नेको उकालो र ओरालो झण्डै १२ किलोमिटर सडक ३ लेनको मात्रै हुनेछ । त्यहाको भौगोलिक र प्राकृतिक अवस्थाले चार लेन बनाउन सम्भव नभएको विभागको भनाइ छ । जसमा ३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिने छ । यस्तै दाउन्‍ने पहाडमा ८ किलोमिटर सडक डबल लेनको मात्रै हुनेछ । उक्त आठ किलोमिटरमा फुटपाथ र साइकल लेनसमेत राखिने गरी डिजाइन बनाइएको छ ।

नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’का सूचना अधिकारी इन्जिनीयर कृष्ण आचार्यले असोज मसान्तसम्म नवलपुर खण्डमा १.४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको जानकारी दिए । यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलाइ भएको अधिकारीको भनाइ छ । सडकखण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या भएको उनले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x