अर्थ / बाणिज्य

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन सघाउँछौ : राजदूत पोलिट

इकागज |
भदौ ३०, २०७८ बुधबार २१:५७ बजे


काठमाडौँ– नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायी राजदूतावासले सहयोग गर्ने आश्वासन दिएको छ । राजदूतसँग भेटघाटका लागि गएको नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा राजदूत निकोला पोलिटले नेपालमा लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै बेलायती लगानीकर्तालाई सो सन्देश पुर्‍याउने बताइन् । 

कोभिड–१९ पछि उत्पादन र रोजगारीमा परेको नकारात्मक असर न्यूनीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानीको महत्वपूर्ण भूमिका हुने राजदूत पोलिटको भनाइ थियो । उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि निजी क्षेत्रले काम गर्न सक्ने भन्दै हरित ऊर्जा प्रवद्र्धनमा निजी क्षेत्रले कसरी काम गर्न सक्छ भनेर उदाहरण दिएकी थिइन् । 


कोभिड – १९ को नकारात्मक प्रभाव आम जीवन र उद्योग व्यवसायमा परेको भन्दै राजदूत पोलिटले मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको जानकारी दिइन् । 

भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको बताउँदै सीप विकासमा बेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने धारणा राखेका थिए । 

नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सुरुवात गरेको जानकारी दिदैं अग्रवालले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अघियान अघि बढाइएको बताए । उनले परिसंघका तर्फबाट स्टार्ट अप प्रवद्र्धनका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यसमा बेलायतको अनुभव नेपालका लागि महत्वपूर्ण हुने धारणा राखेका थिए । 
 


Author

थप समाचार
x