अर्थ / बाणिज्य

व्यवसायीमैत्री ऐन नियम जारी गर्न महासंघको आग्रह

इकागज |
कात्तिक १५, २०७८ सोमबार १६:२१ बजे

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायी मैत्री ऐन नियम जारी गर्न सरकारसँग आग्रह गरेका छन् । व्यवसाय मैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको १० औं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष सिंहले व्यवसायी मैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताए ।

खरिद ऐन संशोधनको अन्तिम प्रक्रियfमा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायी मैत्री बनाउन महासंघ नेतृत्वले इमान्दार प्रयास गरिरहेको अध्यक्ष सिंहले बताए । महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमान्दार प्रयास आवश्यक भएको धारणा राखे ।


लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए । महासंघका अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेशागत हक हितका लागि सबै एक हुनुपर्ने विचार राखे ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै भएपनि नेपालका निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक समेत रहेका महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू महासंघको ‘मुटु’ भएको बताए । एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ ले व्यवसायिक एकता आजको आवश्यकता भएको बताए ।

जिल्ला निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, महासंघका पूर्व सल्लाहकार अमरबहादुर श्रेष्ठ र संस्थापक सदस्य आईपी प्रधान लगायतले निर्माण व्यवसायीहरूले भोग्नु परेका विविध समस्या बारे चर्चा गरे ।

भेलामा एसोसिएट सचिव नवराज श्रेष्ठ तथ कोषाध्यक्ष शिव भट्टराईले आ-आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका थिए । नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीहरूलाई भेलामा सम्मान गरियो ।

सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यन्वयन समितिका अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लो-बिड तथा बीमा विज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बीमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए ।

 


Author

थप समाचार
x