अर्थ / बाणिज्य

तातोपानी नाकामा ट्रान्सपोर्ट कम्पनीबीच विवाद

दुर्गा आचार्य |
मंसिर ४, २०७८ शनिबार ८:५ बजे

फाइल तस्‍बिर/तातोपानी नाका

काठमाडौं - तातोपानी नाका हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको छ । सामान आयात गर्ने विषयमा ट्रान्सपोर्ट कम्पनीबीच विवाद भएको हो । सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले चीनबाट सामान आयात गर्ने गरेका छन् । नमस्ते ट्रान्सपोटले आयातका लागि जति माग आउँछ त्यतिमात्रै गाडी पठाउँदै आएको छ । तर, सिल्क ट्रान्सपोर्टले क्युमा गाडी राखेर सामान आयात गर्ने भनेपछि विवाद भएको हो । सिल्क ट्रान्सपोर्ट केही वर्षदेखि एकलौटी सामान आयात गर्दै आएको ट्रान्सपोर्टले हो । अरु दुई कम्‍पनीले केही महिनामात्रै अनुमति पाएका हुन् ।

चीनमा गाडी त्यतिकै बस्‍दा दिनको २ हजार आरएमबी ( नेपाली लगभग ४० रुपैयाँ) अजार तिर्नुपर्ने हुँदा मागअनुसार मात्रै गाडी पठाउन आफूले भनेको नमस्ते ट्रान्सपोटका संचालक दानर्बु शेर्पाले बताए । 'ज-जसको सामान छ, जसले जुन ट्रान्सपोर्टको गाडी माग गर्छ त्यही पठाउँ भन्ने हो,' उनले भने, 'तर सिल्क ट्रान्सपोर्टका सञ्चालकहरू मान्नुहुन्न ।'


बिहीबार भनेअनुसार नभएपछि नमस्ते ग्लोबल लजिष्टिक र रिवान्जे ट्रान्सपोर्टले केही घण्टा नाका बन्दसमेत गराएका थिए । नाका नै बन्द गरेपछि तातोपानी भन्सारको रोहवरमा, नाकाका सशस्त्र प्रहरी, भन्सार प्रतिनिधि, सिल्क प्रतिनिधि, नमस्ते र रिवान्जे ट्रान्सपोर्टका प्रतिनिधिहरूबीच बिहीबार वार्ता भएको थियो । तर, कुनै सहमति हुन सकेन । वार्ता निष्कर्षविहीन भयो । 

सिल्क ट्रान्सपोर्टका कल्यान सिलवालले 'जे सक्छस् गर, हामी तिमीहरूले भनेको मान्दैनौं' भनेर धम्की दिएको नमस्तेका सञ्चालक शेर्पाले बताए । उनले आफूहरूको चाहना खुल्ला प्रतिस्पर्धाबाट सामान आयात होस् भन्ने मात्रै रहेको बताए । 

यता, सिल्क ट्रान्सपोर्टका कल्यान सिलवालले भने सुरुमा विवादबारे आफूलाई थाहा नभएको बताए । केही बेरपछि मात्रै उनले नयाँहरूले अलिअलि गर्छन् भन्‍दै ठाडो जवाफ दिए । उनले भने, 'सिन्धुपाल्चोकको पानी नै त्यस्तो हो जुन खाएपछि विवाद नगरी हुँदैन ।'

व्यवसायीहरूले भने ट्रान्सपोर्टको विवादले सामान आयात रोकिन नहुने बताए । बिहीबार भएको बन्दले नाका नै केही समय ठप्प भएको र यस्तो गर्नाले अन्तत व्यवसायीलाई नै घाटा हुने भन्दै एक व्यापारीले आक्रोश पोखे । ट्रान्सपोर्टको विवादले सामान आयात रोकिने नहुने ती व्यवसायीको भनाइ छ । सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ वटा, नमस्ते ग्लोबल लजिष्टिकको ३२ वटा र रिवान्जे ट्रान्सपोर्टको १२ वटा कन्टेनर छन् ।

यता, भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले दुई ट्रान्सपोर्टबीच विवाद भएको स्वीकार गरे । हामीले भन्ने केही छैन् । उहाँहरूबीचको विवादमा भन्सारले सहजीकरण गर्दियोस् भनेपछि हामीले सँगैं बसेर छलफल गरेका हौं,' उनले भने, 'तर निष्कर्ष निस्किएन । आफ्ना गाडी कसले बढी छिराउने भन्ने विषयमा विवाद भएको उनले बताए । उनीहरूको विवादले नाकामा समस्या आउने भएकाले भन्सारले समन्वय गरेको ढकालको भनाइ छ । नमस्ते ग्लोबल लजिष्टिकका संचालक शेर्पाले भन्सार अधिकृत आउन्जेल आफ्ना विरोधका कार्यक्रम थाती राखेको बताए ।


Author

थप समाचार
x