अर्थ / बाणिज्य

करिब १ करोड ४७ लाखमा बिक्री भयो विश्वकै पहिलो एसएमएस

इकागज |
पुस ७, २०७८ बुधबार १६:५७ बजे

काठमाडौँ - लिलामीमा रहेको विश्वको पहिलो एसएमएस बिक्री भएको छ । १४ अक्षरको 'मेरी क्रिसमस' लेखेर पठाइएको विश्वको पहिलो टेक्स्ट म्यासेज मंगलबार पेरिसको एक लिलामी घरमा ‘नन-फन्जिबल टोकन’ को रूपमा १ लाख ७ हजार युरो (करिब १ करोड ४७ लाख नेपाली रुपैयाँ)मा बिक्री भएको हो ।

३ डिसेम्बर १९९२ मा पठाइएको उक्त टेक्स्ट बेलायती टेलिकम कम्पनी भोडाफोनले लिलामीको लागि राखेको थियो। आजभन्दा झन्डै ३० वर्षअघि पहिलोपटक पठाइएको म्यासेज २१ डिसेम्बरमा लिलाम भएको हो । म्यासेज भोडाफोनको एक कर्मचारीको नम्बरमा पठाइएको थियो । टेक्स्ट म्यासेज ईन्जिनियर नील पापवर्थद्वारा न्यूबरी, बर्कशायरमा रिचर्ड जार्विसलाई पठाइएको थियो।


पापवर्थ त्यस समयमा एक २२ वर्षीय परीक्षण इन्जिनियर थिए र उनी भोडाफोनमा काम गर्दै थिए। ३ डिसेम्बर १९९२ मा, उनले जार्विसको अर्बिटेल ९०१ ह्यान्डसेटमा क्रिसमसको शुभकामना पठाएका थिए जसलाई विश्वको पहिलो एसएमएस मानिन्छ । यस सन्देशमा १४ क्यारेक्टरहरू प्रयोग गरिएको थियो। सन्देशमा अंग्रेजी भाषामा मेरी क्रिसमस लेखिएको थियो।

खरिदकर्ताले एसएमएस पठाएको मूल सञ्चार प्रोटोकलको प्रतिकृति प्राप्त गर्नेछ र रकम संयुक्त राष्ट्र शरणार्थी एजेन्सी यूएनएचसीआरमा जानेछ।


Author

थप समाचार
x