अर्थ / बाणिज्य

नेपेक्स र मणिकरण पावरबीच चार बुँदे सम्झौता

'हामी तत्काल पाँच सय मेगावाट बिजुली भारत निकासी गर्दैछौं'

आशीष गर्ग |
पुस २६, २०७८ सोमबार १८:११ बजे

नेपेक्स र मणिकरण पावर लिमिटेडबीच सम्झौता पत्र आदान-प्रदान हुँदै । तस्बिर : इकागज

भारतमा विद्युत् व्यापारका लाइसेन्सी (अनुमति प्राप्त कम्पनी)हरूमध्ये टप थ्री (उच्च तीन) मा पर्ने कम्पनीहरू हुन्– पीटीसी, एनटीपीसी विद्युत् व्यापार निगम र मणिकरण पावर लिमिटेड । मणिकरण पावर लिमिटेडचाहिँ निजी क्षेत्रको हो । एनभीभीएन र पीटीसी सरकारी हुन् । मणिकरणले भारतमा २५ सय औद्योगिक ग्राहकहरूलाई विद्युत् व्यापार गर्छ । भारतमा उत्पादकले सिँधै खरिदकर्तालाई बेच्न सक्ने प्रावधान छ ।  त्यसका लागि विद्युत् व्यापार गर्ने कम्पनी चाहिन्छ । भारतको इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) को बजारमा मणिकरण सबैभन्दा ठूलो ट्रेडर (व्यापारी) हो । भारतको विद्युत् व्यापारमा मणिकरणको गहिरो अनुभव र ज्ञान छ । 
नेपालमा पनि नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) स्थापना दुई वर्षअघि भएको हो । विद्युत् ऐनमा विद्युत् व्यापारसम्बन्धी प्रावधान नराखिएकाले नेपाल सरकार (मन्त्रिपरिषद्) ले अनुमति दिएमा अन्य विद्युत् व्यापार कम्पनीले सीमापार विद्युत् व्यापार गर्न पाउँछ । नेपाल सरकारले दुई साताअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई विद्युत् व्यापार अनुमति दिएको छ भने अन्य निजी क्षेत्रलाई पनि दिने क्रममा छ । यसको कार्यविधि अन्तिम चरणमा पुगेको छ । जुन कम्पनीको आर्थिक, प्राविधिक क्षमता राम्रो छ, ती कम्पनीले अनुमति पाउनेछन् ।

नेपाल पावर एक्सचेञ्जसँग पुँजीको अभाव छैन । यसको अधिकृत पूँजी दुई अर्ब रुपैयाँको छ भने चुक्ता पूँजी २० करोड रुपैयाँको छ, ८४ जना शेयरहोल्डर छन् । हाम्रो कम्पनी विद्युत् व्यापारका लागि सबै तवरले तयारी अवस्थामा छौं । तर प्राविधिक पक्षमा हाम्रो क्षमता बढाउनुपर्नेछ । विद्युत् व्यापार कसरी हुन्छ, यसका लागि आवश्यक पर्ने कुराहरू के–के हुन् ? यी सबैका बारेमा हामीले क्षमता बढाउनुपर्छ । नेपालमा हामी यी कुरा गर्न अनभिज्ञ छौँ । हामीलाई ३० वर्षको विद्युत् खरिद सम्झौता (पीपीए) बाहेकका अरु ज्ञान भएन । मणिकरणले यी प्राविधिक पाटोमा हामीलाई क्षमता अभिवृद्धि गर्न गराउन सहयोग पुर्‍याउनेछ । तालिम दिनेछ, हाम्रो पूर्वाधार तयार गरिदनेछ । हामीलाई भारतीय बजारको ज्ञानबारे जानकारी गराउनेछ । र, अन्ततः नेपालको बिजुली भारतीय बजारमा पुर्‍याउनेछ ।


यही कुरामा आधारित भएर नेपेक्स र मणिकरण पावरबीच चार बुँदे सहमति आज आयोजित ‘पावर समिट’ कार्यक्रममा सम्पन्न भयो । पहिलो बुँदामा मणिकरणले हाम्रो क्षमता अभिवृद्धि गर्नेछ । दोस्रो, अल्पकालीन विद्युत् व्यापार गर्नेछ । गत वर्ष नेपालको ५ सय मेगावाट बिजुली खेर गयो । यो वर्ष एक हजार मेगावाट बिजुली जगेडा हुँदैछ । ५ सय मेगावाट बिजुलीको खरिदकर्ता मणिकरणसँग छ ।

भारतका विभिन्न राज्यका युटिलिटी, निजी क्षेत्रलाई मणिकरणले नेपालको पाँच सय मेगावाट बिजुली जगेडा बिजुली बेच्न सक्छ । नेपाल पावर एक्सचेञ्जले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय र सहकार्य गरेर यो पाँच सय मेगावाट बिजुली भारतीय बजारमा बेच्न सक्छ । हामीले प्राधिकरणबाट त्यो जगेडा बिजुली खरिद गर्नेछौं र मणिकरणलाई बेच्नेछौं । मणिकरणले भारतीय बजारमा लगेर बेच्नेछ । नेपाल र भारत दुबैतर्फ व्यापारिक साझेदार चाहियो, त्यही भएर नेपालमा नेपेक्स र भारतमा मणिकरणबीच यस्तो सम्झौता भएको हो । यो सम्झौतापछि शायद नेपालको बिजुली खेर नजाला । यो एउटा विकल्पको रुपमा आएको छ । 

तेस्रो बुँदा छ– दीर्घकालीन विद्युत् खरिद । आजका मितिसम्म भारतका खरिदकर्ता र नेपालका जलविद्युत् प्रवर्द्धकबीच प्रत्यक्ष पीपीए भएको छैन । मणिकरणले नेपालका प्रवर्द्धक र उताका खरिदकर्ताबीच प्रत्यक्ष पीपीए गराउनेछ । मणिकरणले यसअघि नै भारतमा २५ सय वटा औद्योगिक ग्राहकहरूसँग पीपीए गरिसकेको छ ।

चौथो, मणिकरणले नेपेक्समा १५ प्रतिशत रणनीतिक लगानीकर्ताका रुपमा लगानी गर्नेछ । त्यसपछि मणिकरण नेपाल र भारतको विद्युत् व्यापारका विभिन्न आयामहरूमा गम्भीर भएर लागिपर्नेछ । हामीले यस्तो साझेदार पाएका छौं, जसले भारतीय बजारमा सहज रुपमा नेपालको बिजुलीको पहुँच पुर्‍याउनेछ । र, हामी सँगसँगै मिलेर हाम्रो बिजुली भारतीय बिजुली बजारमा पुग्छ भन्नेमा हामी विश्वस्त छौं । बजार खुला गर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न अनुमति दिने कार्यविधि तयार गर्ने, प्रसारण शुल्क (व्हिलिङ चार्ज) तोक्ने काम सरकारबाट हुनेवाला छ ।

सरकारको नीति नै छ कि विद्युत् व्यापारका लागि विभिन्न व्यापार कम्पनी आउन् भन्ने । यसपछि यी प्रक्रियाहरू क्रमशः सहज हुँदै जानेछ । अहिले प्रश्न होला यो कसरी होला, त्यो कसरी होला भन्ने । पाइला–पाइलामा टेक्दै हामी यहाँ आइपुगेका छौं । विद्युत् ऐनमा प्रस्ट व्यवस्था नभए पनि मन्त्रिपरिषद्ले निर्णय गरेर अस्ति प्राधिकरणको विद्युत् व्यापार कम्पनीले अनुमति पायो । अब हामीहरूको पनि बाटो खुल्छ ।

हामी हर्षित छौं, उत्साहित छौं । नेपेक्स र आईईएक्सबीच गत पावर समिटमा क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता भइसकेको छ । आईईएक्सले पनि विशुद्ध एक्सचेञ्ज सेट अप (स्थापना) गर्नेछ । यसमा भारतको पनि सहयोग चाहिन्छ । भारत सरकारको सहभागिता निरन्तर छ । 

आजकै पावर समिटमा पनि भारतीय दूतावासका व्यापार हेर्ने प्रथम सचिव सहभागी हुनुभएका छ । भारत सरकारको स्वीकृति लिएर मणिकरण पनि आउने हो । बिजुली बेच्दा भारतको सीमापार विद्युत् व्यापारका विभिन्न निर्देशिकाका प्रावधानहरू पालना गर्नुपर्छ । ती प्रक्रिया र प्रावधान पूरा गरी हाम्रो जगेडा बिजुली भारत निकासी गर्न सक्नेमा हामी सफल हुनेछौँ । (कुराकानीमा आधारित)

गर्ग स्वतन्त्र विद्युत् उत्पादकहरूको संस्थाका उपाध्यक्ष तथा नेपाल पावर एक्सचेञ्जका प्रबन्ध निर्देशक हुन् ।

 


Author

थप समाचार
x