अर्थ / बाणिज्य

काठमाडौँका व्यापारीको पिरलो : बोहोनी नभएको तीन दिन भो

कमल धिताल |
माघ १७, २०७८ सोमबार ८:१५ बजे

काठमाडौँ- सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई कम गर्न गत माघ ८ गतेदेखि सवारी साधनमा जोर बिजोर लागू गरेपछि उपत्यकामा हुने व्यापारमा ६० प्रतिशतले घटेको छ । उपत्यकामा रहेका ठूला सपिङ मलदेखि साना फेन्सीलगायतका पसलमा हुने व्यापारमा निकै कमी आएको हो ।

ओमिक्रोनको नयाँ भेरियन्ट देखिएसँगै न्युरोड, असनलगायतका स्थानमा हुने मानवभिड केही कमी हुन थालेका छन् । हाल दैनिक रूपमा ठूलो मात्रामा कोभिडको नयाँ संक्रमित संख्या देखिँदा तथा अधिकांश मानिसमा यसको सामान्य असर देखिँदा मानिसहरू घर तथा कार्यालय बाहिर जान छाडेका छन् । चीनबाट आउने सामानमा कमी आएपछि व्यापारमा समेत कमी आएकामा कोभिडले समेत झन् समस्यामा पर्दा व्यापारीहरू सकसमा परेको बताउँछन् ।


बोहोनीसमेत हुन छाड्यो 
काठमाडौँको व्यस्त मानिने खिचापोखरी, न्युरोड, महाबौद्ध क्षेत्रका व्यापारीहरू आजभोलि दैनिक पसल खोल्ने र बन्द गर्ने मात्रै काम भएको बताउँछन् । पहिला दैनिक ३० देखि ५० हजारसम्म व्यापार हुने पसलहरू अहिले बोहोनी समेत नहुने अवस्था रहेको व्यापारीहरूको गुनासो छ ।

खिचापोखरीमा जेन्स फेन्सी पसल सञ्चालन गर्दै आएका राकेश श्रेष्ठ ३ दिनसम्म १ रुपैयाँ पनि व्यापार नभएको बताउँदै महिनाको अन्तिममा भाडा कसरी तिर्ने भन्‍ने अर्को चिन्ता परेको बताउँछन् । 'व्यापार भए त चिन्ता थिएन तर व्यापार शून्य छ, घरधनीले भाडा छाड्दैन् कसरी भाडा तिर्ने भन्‍ने तनाव एकातिर छ' उनले इकागजसँग भने । 

त्यस्तै त्रिपुरेश्वरमा व्यवसाय गर्दे आएका सुजन श्रेष्ठ पनि व्यापार नहुँदा कसरी भाडा तिर्ने भन्‍ने तनाव एकातिर रहेको र अर्को तर्फ रोगको भय रहेको बताउँछन् । 'घरधनीले पसल दैनिक खोलेको देखेको हुन्छ व्यापार छैन भन्दा पत्याउँदैनन् खाइ न खाइ भाडाको जोहो गर्नुपरेको छ' उनले इकागजसँग दुखेसो पोखे ।

त्यस्तै कुमारीपाटीमा फेन्सी स्टोर चलाउँदै आएका लमजुङका कपिल घिमिरे लकडाउनपश्चात केही उकासिएको व्यापार पुन: कमी आएको बताउँछन् । त्यस्तै अहिले भने जस्तो सामान समेत नआउँदा यसले झन् समस्यामा परेको घिमिरेले बताउँछन् । 'व्यापार त कोभिडको नयाँ भेरियन्ट तथा सरकारले लकडाउन गर्छ भन्‍ने हल्लाले कम त भएकै छ त्यसमाथि बजारमा भनेजस्तो सामान नआउँदा झन् समस्या पारेको छ' उनले भने ।

थोकमा घट्यो चहलपहल
दैनिक करोडौँको व्यापार हुने महाबौद्ध रन्जनालगायताका स्थानले समेत ग्राहक पाउन छाडेको छ । चिनियाँ व्यापारको थोक केन्द्र मानिने महाबौद्ध क्षेत्रमा हाल चहलपहल निकै घटेको छ । महाबौद्ध क्षेत्रमा चीनबाट फेन्सी सामान ल्याएर होलसेल गर्दै आएका बिष्णुप्रसाद लामिछाने हाल आफ्नो व्यापार ६० प्रतिशत भन्दा बढिले घटेको बताउँछन् । कोभिडको नयाँ भेरियन्ट असर देखिन थालेसँगै आफ्नो व्यापार पनि घट्दै गएको लामिछानेले बताए । 'सरकारले लकडाउनको गर्छ भन्‍ने हल्लासँगै खुद्रा व्यापारीहरूले सामान उठाउन थालेका र यसले क्रमश व्यापार घटेको छ अब कहिले पो नर्मल होला' उनले भने । 

त्यस्तै रन्जना सपिङ मलमा व्यापार गर्दै आएका सुमन गौडेल एक महिनादेखि व्यापारमा कमी आएको र सरकारले जोर बिजोर सुरु गरेपछि ठप्पै जस्तो भएको बताउँछन् । उनले खेलकुदलगायातका सामानको बिक्री गर्दै आएका छन् । 'करिब एक महिनादेखि कमी आएको व्यापार हाल आएर बन्द जस्तै छ अब कहिले रोग हट्ला र व्यापार होला भन्‍नेमा छु' उनले भने ।

चीनबाट आयात कम
चीनियाँ क्षेत्रबाट आउने सामान अझै पहिलाकै अवस्थामा रहेको व्यापारीहरू बताउँछन् । चीन पक्षले लागू गरेको कोटा सिस्टम कायमै रहँदा नेपालमा आउने सामानहरू निकै कम मात्रमा आउने गरेको छ। महाबौद्धमा चिनियाँ सामानको थोक बिक्री गर्दे आएका बिष्णुप्रसाद सेढाईं चीनले कोभिड-१९ का कारण त्यस रसुवा तथा तातोपानी क्षेत्रबाट सामान निकासीमा कडाई गर्दा नेपालमा सामानको अभाव भएको बताउँछन् । 'हामीले चीनमा दसैँको लागि अर्डर गरेको सामान भर्खरै आउँदै गरेको छ । चीनले नाका पूर्ण रूपले नखोलेसम्म हामीकहाँ सामान अभाव नै रहन्छ' उनले इकागजसँग भने । पूर्ण रूपमा कोभिड समस्या समाधान नभएसम्म यो अभाव कायमै रहने सेढाईं बताउँछन् । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x