पूर्वाधार

सार्वजनिक-निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्‍चालित सडकमा किन गरे स्थानीयले अवरोध ?

इकागज |
बैशाख २४, २०८१ सोमबार १८:२५ बजे

काठमाडौँ- सार्वजनिक-निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भइरहेको नेपालकै पहिलो र नमुना ढुवानी ग्राम जाने सडकमा स्थानीयले अवरोध गरेका छन् ।

बुटवल उपमहानगरपालिका-१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम जाने सडकमा स्थानीयले अवरोध गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन् । स्थानीयको अवरोध र नगरपालिकाले समन्वयकारी भूमिका नगरेकाले ढुवानी ग्राम अनिश्चितकालीन बन्द गर्ने स्थानीयहरूले जनाएका छन् ।


संगमपथ सुधार समितिका संयोजक डम्मरदेव अर्यालले कुनै पनि हालतमा ढुवानी ग्रामसम्म पुग्नका लागि आफ्नो टोलको सडक प्रयोग गर्न नदिने उल्लेख गरे । बुटवल उपमहानगरले आफ्नो प्रतिबद्धताअनुसार काम नगरेको, ढुवानी ग्रामका लागि वैकल्पिक सडकको व्यवस्था नगरेको लगायतका कारण देखाउँदै अर्यालले आफूहरूले सडक प्रयोग गर्न नदिने उनले बताए ।

नयाँगाउँ चोकदेखि दक्षिणतर्फ बेलभरिया पुलसम्मको सडक कुनै पनि हालतमा ढुवानीका सवारीका लागि प्रयोग गर्न नदिने स्थानीयको अडान छ । काठमाडौँ, पोखरा लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शहरहरूमा सामान पुर्याउने स्टेशनको रूपमा रहेको ढुवानी ग्राम बन्द हुँदा देशभरको सेवा प्रभावित हुने व्यवसायी कमल घिमिरेले बताए । ढुवानी ग्राम बन्द हुँदा निजी क्षेत्र तथा राज्यले समेत ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने उनको भनाइ छ ।

ढुवानी ग्राम पुग्ने सडक प्रयोग गर्दा स्थानीयले अवरोध गर्ने, ढुङ्गा मुढा लिएर बस्ने लगायतका क्रियाकलाप हुन थालेपछि आफूहरूले असुरक्षित ठानेर सेवा बन्द गर्नुपरेको घिमिरेले बताए । ढुवानी ग्रामको प्रयोग गरे बापत व्यवसायीहरूले मासिक डेढ लाख बढी राजश्व बुटवल उपमहानगरलाई बुझाउँदै आएको व्यवसायीहरूको भनाइ छ ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीयहरूले भनेका सबै मागहरू तत्काल पूरा गर्न नसकिने स्पष्ट पारे । पहुँच मार्गका लागि उपमहानगरले लगानी गरेको कुरा स्मरण गराउँदै उनले स्थानीयले यसरी नै अवरोध गरे ढुवानी ग्राम बन्द गरेर राख्नु बाहेकको विकल्प नभएको जिकिर गरे । सार्वजनिक-निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो । हेबी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएर व्यस्त बुटवलको ट्राफिक चापलाई कम गर्ने योजना अनुसार स्थापना गरिएको ढुवानी ग्राम पहुँच मार्गको विवादले बन्द हुने स्थितिमा पुगेको छ । 


Author

थप समाचार
x