विशेष रिपोर्ट

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबीच के-के भयो छलफल ?

इकागज |
जेठ ५, २०८१ शनिबार १२:२७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबीच छलफल भएको थियो ।

छलफलपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको बताए । 


‘प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ' लेखकले बैठकपछि भने 'उहाँले पनि राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राख्नु भएको छ ।’ 

बैठकमा संसदीय समिति गठनबारे यसअघि तयार गरिएको मस्यौदामा सहमति खोज्‍न प्रधानमन्त्री प्रचण्डले जोड गरेका थिए । त्यसमा कांग्रेसले पनि सहमति जनाएको छ । तर कांग्रेसले ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान राखेको छ । बैठकमा संसदीय समिति गठनबारे स्वर्णिम वाग्ले र जीवन परियारले मस्यौदा तयार पारेका थिए ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र रमेश लेखक थिए भने माओवादीबाट जर्नादन शर्मालगायत थिए ।

कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आज दिउँसो सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्ने तयारी गरेका छन् । त्यसपछि फेरि आज साँझ वा आइतबार बिहान कांग्रेस नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।


Author

थप समाचार
x