अर्थ / बाणिज्य

विद्युत प्राधिकरणको गल्तीमा ग्राहकसँग पुन: रकम असुल्दै इन्टरनेट कम्पनी

कमल धिताल |
फागुन १६, २०७८ सोमबार १६:२८ बजे

काठमाडौँ – भक्तपुर ठिमीकी सम्झना खड्काले केही महिनाअघि क्लासिक टेक कम्पनीको इन्टरनेट जोडिन् । एक वर्षको लागि जडान गर्दा प्याकेज सस्तो पर्ने भनेर कम्पनीले सुझाएपछि एक वर्षकै प्याकेज लिइन् । उक्त प्याकेजका लागि लगभग १४ हजार तिरेकी थिइन् । त्यसवापत् कम्पनीले एक वर्षसहित दुई महिनाको बोनस समेत गरेर १४ महिनाको प्याकेज उपलब्ध गराएको थियो ।

जडान गरेको केही समयपछि नेपाल विद्युत् प्राधिकरणले बन्दै गरेको बाटोमा पोल परेको भन्दै पोल सार्नको लागि इन्टरनेटको तार काट्यो तार काटेपछि त्यहाँका वरपरका स्थानीयले केही दिन इन्टरनेट चलाउन पाएनन् । ३ दिनपछि बनाउन आएको कम्पनीले इन्टरेनेट त बनायो तर त्यहाँ प्रयोग हुने फाइवरको तार काटिएको हुँदा पोलबाट घरसम्म पुग्ने तारको लागि कम्पनीले ग्राहकसँग पुनः तार किन्नुपर्ने भन्दै पैसा माग्यो ।


यसरी एक वर्षको इन्टरनेटको लागि पैसा तिरेकी सम्झनाले पुनः तार वापत् पैसा तिर्नुपर्ने भएपछि रिसले घरमा भएकै राउटर निकालेर क्लासिक टेकको अफिस पुगिन्। तर कम्पनीको नियमअनुसार सो तारको लागि ग्राहकले नै तिर्नुपर्ने भनेपछि आफूले एकवर्षको प्याकेजको पैसा तिरेर दुख लागेको उनले बताइन् । कम्पनीले तारमा तिरेको रकम बराबरको इन्टरनेट छुट दिने भनेर उनलाई पन्छायो । यसरी विद्युत् प्राधिकरणको गल्तीमा उनले पुनः रकम तिर्नुभन्दा सेवा प्रदायक परिवर्तन गर्ने पनि नसोचेको होइन तर एक वर्षको लागि पहिले नै रकम तिरिसकेको हुनाले पछि हट्न बाध्य भइन्।

सम्झना मात्र होइन हाल भक्तपुरको विभिन्न स्थानमा नगरपालिकाले बाटो विस्तारसँगै पोल सार्ने क्रममा इन्टरनेटको तारमा क्षति पुग्दा काटिएका फाइवरको तारको मूल्य पुन: ग्राहकसँग उठाउने गरेको छ ।

इन्टरनेट सेवा प्रदायकहरू उपभोक्तालाई 'खाए खा नखाए घिच' व्यवहार गर्छन् । एकपटक इन्टरनेट जोडेपछि अर्को कम्पनी स्वीच गर्न झन्झट हुने र महँगो पर्ने हुँदा उनीहरू यसमै खेल्ने गरेको पाइन्छ । त्यसमा खड्का जस्ता धेरै ग्राहकले दु:ख पाउने गरेका छन् ।

उता क्लासिक टेक भने निश्चित समयका लागि तार तथा राउटरमा वारेन्टी दिने गरेको र सोपछि क्षति हुँदा ग्राहक आफैंले उक्त क्षतिको रकम तिर्नुपर्ने बताउँछ। क्लासिक टेकका मार्केटिङ म्यानेजर रोजित भट्टले १ वर्षको लागि कुनै ग्राहकले रकम तिर्दा छ महिनाको लागि तार, राउटर लगायतको क्षति हुँदा कम्पनीले व्यहोर्नेछ त्यसपछि भने ग्राहकले पनि व्यहोर्नुपर्ने कम्पनीको नियम रहेको जानकारी दिए।

यसरी क्षति हुँदा तिरेको रकम बराबरको लागि केही दिन ग्राहकलाई इन्टरनेटमा छुट दिने गरेको भट्ट बताउँछन् । ’ग्राहकलाई धेरै असर नगरोस् भनेर कम्पनीले तारको मूल्यमा आधा छुट दिने गरेको र केही दिन इन्टरनेट समेत छुट दिने गरेका छौँ ’ इकागजसँग भने । प्राधिकरणले पोल सार्ने बेलामा ग्राहक आफैं चनाखो भएर कम्पनीलाई फोन गर्नु राम्रो भएको उनी बताउँछन्।

दुरसञ्चार क्षेत्रको नियमक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले भने यसमा ग्राहक र कम्पनीबीच के सम्झौता भएको छ सो अनुसार नै हुने उल्लेख गर्छ। ‘यसमा कम्पनी र इन्टरनेट ग्राहकसँग जडान गर्दाको बखत के सम्झौता छ सोही अनुसार हुन्छ,’ प्राधिकरण प्रवक्ता सन्तोष पौडेल भन्छन, ‘यदि ग्राहकलाई कुनैपनि इन्टरनेट सेवा प्रदायकसँग चित्त नबुझेमा भने प्राधिकरणमा गुनासो गर्न सक्छन्।’

 

    


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x