अर्थ / बाणिज्य

राष्ट्रिय गौरवका आयोजना : अन्तहीन निर्माण चरण, सम्पन्न होलान् कहिले ?

पुष्पराज आचार्य |
माघ १०, २०७७ शनिबार १७:५९ बजे

काठमाडौँ : चालु पञ्चवर्षीय योजनाले २०८०–८१ भित्र अधिकांश राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । यद्यपि सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको समेत बारम्बार भाका सार्ने काम भइरहेको छ ।

अघिल्लो एक वर्ष कोभिड महामारीले विकास आयोजनाहरूको काम अवरूद्ध भयो, अब राजनीतिक अस्थिरताले त्यसलाई असर पार्ने आँकलन गरिँदैछ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थशास्त्री डा.शंकर शर्मा नेपालमा ठूला आयोजना सम्पन्न हुन औसत ११ वर्ष लाग्ने गरेको भएपनि राष्ट्रिय गौरवका आयोजनाको हकमा त्यो समय अझै लम्बिने आशंका गर्छन् ।


डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ठूला आयोजनाहरू चाँडो सम्पन्न गर्न प्राथमिकता दिँदै ती आयोजनालाई आर्थिक वर्ष २०६८–६९ मा ‘राष्ट्रिय गौरवका आयोजना’ नामाकरण गरेका थिए । तत्कालीन प्रधानमन्त्री भट्टराईका आर्थिक मामिला सल्लाहकार पूर्व अर्थसचिव रामेश्वर खनाल ठेक्का व्यवस्थापन, निर्माण कम्पनीहरूको क्षमता, निर्माण सामग्री आपूर्ति, चुस्त अनुगमनको अभावमा विकास आयोजनाहरू अन्तहीन भएको बताउँछन् ।

तत्कालीन समयमा प्रधानमन्त्री भट्टराईले ठूला आयोजनालाई कसरी विशेष रूपमा सम्बोधन गर्ने भन्ने सल्लाहमा खनालले नै यी आयोजनालाई राष्ट्रिय गौरवका आयोजना नामाकरण गरी विशिष्ट ढङ्गले सम्बोधन गर्न सल्लाह दिएका थिए ।

त्यसपछि डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छँदा ठूला आयोजना कार्यान्वयन सहजीकरण, अनुगमन र मूल्यांकनलागि आयोगले छुट्टै विधेयक मस्यौदा पनि गरेको थियो । यद्यपि, वर्तमान सरकारले त्यसलाई अघि बढाउनुको सट्टा २५ अर्ब रुपैँया माथिका आयोजना प्रत्यक्ष रूपमा प्रधानमन्त्रीले हेर्ने व्यवस्था गर्नेगरी विधेयक संसदमा दर्ता गरेको थियो ।

ठूला आयोजनालाई चुस्त रूपमा अघि बढाउने सम्बन्धमा सरकारमै पनि भिन्न–भिन्न दृष्टिकोण रह्यो । प्रधानमन्त्री ओली भने अधिकार प्रत्यायोजन गरी कार्यान्वयन निकायलाई जवाफदेही बनाउनेभन्दा पनि आफैं सबै अधिकार केन्द्रिकरण गर्नतिर लागे । जसले आयोजनाहरूलाई गति दिन समस्या भएको जानकारहरू बताउँछन् ।

अहिले २२ ओटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेका छन् । सरकारले पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा कार्यान्वयन गर्न लागिएको ४०० केभीको उच्च क्षमताको प्रसारणलाइन र सडक स्तरोन्नति परियोजनालाई पनि राष्ट्रिय गौरवका आयोजनामा समावेश गरी उक्त संख्या २४ पुर्‍याएको छ । तर एमसीसीका आयोजना कार्यान्वयनका लागि सम्झौता संसदबाट अनुमोदन हुनै बाँकी छ । 

विकास आयोजनाहरू अन्त्यहीन बनाएर त्यसबाट कूत असुल्ने प्रवृत्ति रहेको पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको दृष्टिकोण छ । ‘मेलम्ची आयोजना नै हेरौं यति गते उपत्यकाका धारामा पानी आउँछ भनेर कतिपटक घोषणा भयो,’ उनी भन्छन्, ‘विकास आयोजना कार्यान्वयन पारदर्शी छैन । कुनैमा वरिष्ठ नेताको ज्वाइँ र छोराले ठेकेदारलाई दुःख दिएर काम गर्न नदिएको घटना समेत बाहिर आएकै हो ।’

नागरिकको सहभागितामूलक विकास प्रणालीलाई महत्व दिनुपर्ने भन्दै विकास आयोजना समयमा निर्माण गर्न जनताले खबरदारी गर्नुपर्ने उनले बताए ।

सरकारले सिक्टा सिंचाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आर्थिक वर्ष २०७७–७८ भित्रै सम्पन्न गर्ने घोषणा गरेको छ तर पुस मसान्तसम्मको प्रगति अनुसार यस आर्थिक वर्षभित्र कुनै पनि राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुनेमा आशंका कायमै छ ।

यद्यपि, सरकारले भने तामाकोसी जलविद्युत् आयोजना र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा सम्पन्न गरेरै छाड्ने बताएको छ । 

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिको अवस्था : 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x