अर्थ / बाणिज्य

सुनकोसी मरिन डाइभर्सन आयोजनाको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

इकागज |
फागुन २०, २०७७ बिहीबार ९:५२ बजे

फाइल तस्‍वीर

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवको सुनकोसी मरिन डाइभर्सन आयोजनाको बिहीबार शिलान्यास गर्ने भएका छन् । आयोजनाअन्तर्गत सुरुङबाट सुनकोसी नदीको पानी खस्ने स्थल सिन्धुलीको कमलामाई नगरपालिका-२, कुसुमटारमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने आयोजना प्रमुख सुशील आचार्यले जानकारी दिए । उनकाअनुसार साढे ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम छ ।

फागुन १२ मा परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्‍जिनियरिङ कम्पनीलाई दिएको थियो । १० अर्ब ५ करोड ६८ लाख ३७ हजार ४६४ रुपैयाँमा परियोजनाले ठेक्का दिएको थियो ।


आयोजनाबाट २८.६२ मेगावाट विद्युत् उत्पादन गरिने छ। उत्पादित विद्युत् राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सब-स्टेसनमा जोडिने आयोजनाले जनाएको छ। आर्थिक वर्ष २०७७/७८को बजेटमार्फत सरकारले सुनकोशी-मरिन आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो आयोजना मुख्य रूपमा सिंचाइमा केन्द्रित भए पनि पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो । यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानका रूपमा व्याख्या गरिँदै आएको छ ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।


Author

थप समाचार
x