अर्थ / बाणिज्य

तनहुँमा निर्माणाधीन पाँच सडकको म्याद थप

तनहुँमा-निर्माणाधीन-पाँच

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडाैँ – पूर्वाधार विकास कार्यालय एकाइ कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँचवटा सडकको म्याद थप गरिएको छ । कोरोना कारण निर्माणकार्य अवरुद्ध भएका सडकको आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको हो ।

जिल्लाको दुलेगौडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर–डेढगाउँ मोटरमार्गको फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ । त्यसैगरी दासढुङ्गा–देउपुर सडक आगामी असारसम्म म्याद थपका लागि प्रक्रियामा राखिएको कार्यालयका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिए ।

जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तीरैतीर स्याङ्जा, पाल्पा जोड्ने शालिकराम करिडरअन्तर्गत ६८ किलोमिटर सडकमध्ये दासढुङ्गा–देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राबेल गरिएको र बाँकी ३७ किमी ग्राबेल गर्न बाँकी रहेको उनले बताए ।

त्यसैगरी १३ पुलमध्ये आठवटाको भर्खरै मात्रै बोलपत्र भएको छ भने पाँचवटा पुलको यसै आवको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शालिकराम करिडरअन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङ गाउँपालिका–५ लुक्दीखोला पुल, घिरिङ गाउँपालिका–४ को तिरमदीखोला पुल, घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माणाधीन अवस्थामा रहेको पुल यसै आवमा सम्पन्न गर्ने लक्ष्य छ ।

बोलपत्र भएका आठवटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसै वर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको सो कार्यालयका साइड इन्चार्ज होमनाथ गौतमले जानकारी दिए ।



Author

थप समाचार
x