अर्थ / बाणिज्य

कच्चा पदार्थको अभावमा उत्पादन कटौती

कच्चा-पदार्थको-अभावमा-उत

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:३ बजे

मकवानपुर – सरकारी स्वामित्वमा रहेको हेटौंडाको एउटा उद्योगले प्रयाप्त कच्चा पदार्थको अभावमा उत्पादन नै कटौती गरेका छ ।

मकवानपुरको हेटौंडा–१० स्थित पशु आहार उद्योगले यसरी उत्पादनमा कटौती गरेको हो । कच्चा पदार्थकै अभावमा उद्योगले बजारको मागलाई ६२ प्रतिशत मात्रै सम्बोधन गर्न सकेको छ । बजारमा दानाको माग मासिक ४ सय मेट्रिक टन छ, तर उद्योगले २ सय ५० मेट्रिक टन मात्रै उत्पादन गर्दै आएको छ ।

लामो समय बन्द रहेको यो उद्योग हेटौंडा दुग्ध वितरण आयोजनाले आधिकारीक रुपमा स्वामित्व प्राप्त गरेपछि २०७० बाट पुनः उत्पादन सुरु गरेको हो । उद्योगका निमित्त प्रमुख नवराज अधिकारीका अनुसार कच्चा पदार्थको उपलब्धतामा सहज भए उद्योगको उत्पादन क्षमता ४ सय ५० मेट्रिक टन हो। उद्योगमा कच्चा पदार्थको उपलब्धतासँगै भण्डारण स्थलको पनि समस्या भएको उनले बताए ।

दुग्ध वितरण आयोजना हेटौंडाले कम मूल्यमा गुणस्तरीय दाना किसानलाई दिएर दुध उत्पादन बढाउने लक्ष्यमा साथ उद्योग डीडीसीलाई दिइएको थियो । दुग्ध उत्पादक किसानलाई प्रोत्साहन हुने गरी कम मुल्यमा गुणस्तरीय दाना उत्पादन गर्दै आएको उद्योगले कच्चा पदार्थकै अभावमा उत्पादन गटौती गर्न परेपछि यसको असर दुग्ध उत्पादक उपभोक्ता÷किसानलाई परेको छ । उद्योगले उत्पादन गरेको दानाको मुल्य डिलरलाई प्रतिकेजी ३८ रुपैयाँ र उपभोक्तालाई प्रतिकेजी ४१.५ रुपैयाँ रहेको छ । बजारमा प्राप्त हुने अन्य न्युवर्क, शक्ति दानाको बजार मुल्य ५१ देखी ५३ रुपियाँ प्रति केजी छ ।

डीडीसीको यस उद्योगबाट उत्पादित दाना नपाएपछि किसानहरु प्रतिकेजी मै १० देखी १३ रुपैयाँ बढी मुल्यमा अन्य ब्राण्डको दाना खरिद गर्न बाध्य छन् । अन्य दानाहरुमा यो उद्योगले उत्पादन गरेको जस्तो गुणस्तर समेत नभएको निमित्त प्रमुख अधिकारीले बताए । ‘हामीले उत्पादन गर्ने दानामा कुनै पनि हालतमा तोकिएको भन्दा कम गुणस्तर गर्नै मिल्दैन तर, किनकी हामी नाफाको लागि स्थापित नभई किसानलाई राहतको लागि स्थापित हौं, अरुलाई त्यो बाध्यता छैन ।’

स्थानीय बजारमा कच्चा पदार्थको उपलब्धता नहुँदा भारती बजारबाट कच्चा पदार्थ ल्याउन परेपछि कच्चा पदार्थ कै पनि मुल्य बढी मुल्य लाग्ने भएकोले लागत बढी हुने गरेको अधिकारीले बताए । उद्योगले उत्पादन सुरु गरेयता ८ वर्षमा एक पटक मात्रै (२ रुपैयाँ प्रतिकेजी) बजार मुल्य बढाइएको उनले बताए ।

दाना उत्पादनको लागि आवश्यक कच्चा पदार्थ मकै, भटमास, राइस ब्रण्डलगायतको सामाग्री भारतबाट ल्याउने गरिएको छ। स्थानीय बजारबाट मौसमी कच्चा पदार्थ थोरै मात्रै लिने गरिएको छ । बाहिरबाट ल्याइने कच्चापदार्थमा भने गुणस्तर स्थानीय बजारबाट लिएकोभन्दा राम्रो हुने उनले बताए । ‘नेपाली किसानहरुमा कुसल भण्डारणको शिक्षा कम भएको कारण पनि कच्चा पदार्थ कुहिएको हुने गर्दछ, यसले गर्दा दानामा हुनुपर्ने पौष्टिकता कम हुन सक्छ’ उनले भने । तर भारतबाट ल्याइने कच्चा पदार्थमा ५ प्रतिशत कर लगाइएकोले महङ्गो हुने गरेको उनले बताए ।

कच्चा पदार्थ खरिद गर्दा एकैचोटी धेरै खरिद गर्न नमिल्ने लगायतको सरकारी प्रक्रिया झन्झटिलो भएको कारण पनि समस्या हुने गरेको छ । ‘निर्णय प्रक्रिया लामो र झन्झटिलो छ, त्यसले पनि समस्या सिर्जना गरेको छ’ अधिकारीले भने ।

नेपाल सरकारले २०७० असार २७ गते हेटौंडा दुग्ध वितरण आयोजनालाई आधिकारीक रुपमा स्वामित्व हस्तान्तरण गरेको थियो । करिब एक दशकदेखि घाटामा सञ्चालन हुँदै आएको उद्योग २०७० असार २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार विकास समिति विघटन गरी २५ वर्षका लागि डीडीसीलाई हस्तान्तरण गरिएको थियो ।

उद्योगको कारखाना भित्रको पाटपूर्जा निकै पुरानो भएको कारण उत्पादन कमी हुने र बजारको उधारो उठ्न नसकेपछि सरकारले विकास समिति विघटन गरी डीडीसीलाई दिने निर्णय गरेको थियो ।

त्यस अघि उद्योगले वार्षिक ६१ लाख रुपैयाँसम्म नोक्सानी बेहोर्दै आएको थियो । २०२२ सालमा सरकारले पहिलो पटक क्याटल फिड प्लान्टका नाममा उद्योग सुरु गरेको थियो । करिब सात बिगाहा क्षेत्रमा फैलिएको उद्योगले उत्पादन गरेको पशुआहार छिमेकी जिल्ला बारा, पर्सा, चितवनसहित इलाम, बनेपा र काठमाडौंसम्म लोकप्रिय थियो ।



Author

थप समाचार
x