अर्थ / बाणिज्य

निफ्राको स्पष्टीकरण : ८ प्रतिशत लाभांश प्रक्षेपण मात्रै हो, निर्णय भएको छैन

इकागज |
चैत ८, २०७७ आइतबार १२:५९ बजे

काठमाडौं : नेपाल इन्‍फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफूले ८ प्रतिशत लाभांश बाँड्ने प्रक्षेपण मात्रै गरेको भन्दै स्पष्टीकरण दिएको छ । नेपाल स्टक एक्‍सचेञ्‍च (नेप्से)ले मागेको स्पष्टीकरणको जवाफ दिँदै उसले प्रक्रिया पुरा गरेर मात्रै लाभांश बाँड्ने बताएको हो । नेप्सेले एक अनलाइनमा आएको समाचारको सत्यतथ्यबारे जानकारीसहितको स्पष्टीकरण मागेको थियो ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत लाभांश बाँड्ने बताएका थिए ।


नियामक निकायलाई जानकारी नदिई लाभांश बाँड्ने घोषणा गरेको विषय बाहिर आएपछि नेप्सेले चासो देखाएको थियो । मूल्यमा प्रभावित पार्ने गरी समाचार आएको हुनसक्ने नेप्सेको आशंका थियो । निफ्राले आफू सेयर मूल्यमा प्रभाव पार्ने विषयमा सजग रहेको बताएको छ ।

त्यस्तै, ३० मिलियन डलरको बन्ड जारी गर्ने समाचार सत्य भएको उल्लेख गरेको हो । 'बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्‍जमा सूचीकृत हुने' शिर्षकको समाचारबारे स्पष्ट पार्न नेप्सेले पत्राचार गरेको थियो ।

'बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरू र साधारण सेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यस अघि नै खुलस्त पारिसकेको विषय हो,' निफ्राले स्पष्टीकरण दिँदै भनेको छ, 'नेपाल स्टक एक्स्चेन्ज लिमा बैंकको सेयर सूचीकरण हुनु अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमती स्वीकैतिहरु लिइसकिएको जानकारी गराउँछौं ।'

निफ्राले यसलाई अन्तिम रूप दिन चाहिने थप सहमती, स्वीकृतिहरु लिदैं यथासक्य छिटो तोकिएको व्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्चेन्जमा सूचीकृत गराउने गरी अघि बढिरहेको स्पप्ट पारेको छ ।


Author

थप समाचार
x