अर्थ / बाणिज्य

महासंघभित्र राजनीति धेरै भयो भन्नेले आफैं राजनीति गरिरहने ?

पुष्पराज आचार्य |
कात्तिक २३, २०७७ आइतबार ९:५८ बजे

फाइल तस्वीर

सुरज वैद्यको कार्यकालपछि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका दावेदार निस्किए – तत्कालीन वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णीकार र उपाध्यक्ष प्रदीपजङ्ग पाण्डे । २०७० सालको चैतमा भएको चुनावी साधरणसभाबाट पाण्डे निर्वाचित भए । वैद्यको नैतिक समर्थन भाष्करलाई थियो । सार्क उद्योग वाणिज्य संघमा नेतृत्व गर्ने नेपालको पालो आउँदै थियो र भाष्कर नेतृत्वमा आए वैद्यलाई सिफारिश गर्ने सहमति थियो ।

वैद्य आफैं नेतृत्वकर्ता भएकाले धेरै खुलेर त लागेनन् तर भाष्करलाई जिताउन उनी भित्रभित्रै खुब लागे । वैद्य यसरी लाग्नुको अर्को कारण थियो– महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पाण्डेलाई समर्थन गरेका थिए । आजीवन महासंघको राजनीतिमा आफूलाई समर्पित गरेका ढकाल पाण्डेसँगै महासंघमा हावी हुने र महासंघमा आफ्नो ‘अस्तित्व’ नरहने डर वैद्यलाई थियो । 


यो लडाइँमा भाष्करलाई उद्योगी नै होइन भन्ने आरोप पनि थियो । उनले ‘चिम्नीबाट धुँवा आउनेमात्र उद्योग हुँदैनन् । सेवामूलक व्यवसाय पनि उद्योग हो’ भनेर उनी प्रतिरक्षा गर्थे । चुनावमा पाण्डेलाई ‘ड्यामेज’ गर्न भाष्करसमूहले नयाँ–नयाँ तिकडम निकाल्यो । कुनै समय पाण्डे खानेपानी तथा ढलनिकास विभागमा सरकारी सेवामा छँदा भ्रष्टाचारको मुद्दा लागेको, सजाय तोकिएको तर पुरा सजाय भुक्तान नगरेको आरोप सहितका पर्चा निर्वाचन शुरु हुनुअघि निर्वाचन स्थलमा बाँडिए ।

स्थिति तनावपूर्ण भएपछि वैद्यले दुवै उम्मेद्वारलाई बोलाए र व्यक्तिगत आरोप–प्रत्यारोप नगरी भद्र ढंगले चुनावमा भाग लिनु भनेर दुवै उम्मेद्वारलाई आफ्नै गाडीमा निर्वाचन स्थलसम्म छाडेर विजयको शुभकामना दिए । पाण्डे निर्वाचित भएपछि भाष्कर समूहले पुनः सोही मुद्दा उठाउँदै पाण्डेलाई अनेकौं दुःख दिन थाले । पाण्डेले भने तत्कालीन राजाले सजाय माफी दिएकाले उक्त विषय पहिल्यै टुंगिसकेको दाबी गर्दै आएका थिए ।

वैद्यको कार्यकालमा राजकर्णीकार र पाण्डे एकै कार्यसमितिमा थिए । श्रम समितिको सभापतिका रुपमा पाण्डेको समितिले ट्रेड यूनियनहरुसँग ऐतिहासिक सहमति गरेर तत्कालीन समयको जल्दोबल्दो श्रम समस्यालाई समाधान गरेका थिए । पाण्डेको महासंघसँगको आवद्धता नेतृत्वमा स्पर्धा गर्नुअघि उनका विगतका कमीकमजोरी खोजिएका थिएनन् । एक वर्ष कार्यकाल पनि पुरा नगर्दै पाण्डेलाई पुरा सजाय भुक्तानका लागि प्रहरीले पक्रियो । महासंघको नेतृत्व रिक्त भयो । महासंघमा यसअघि यस हदको ‘तुच्छ’ राजनीति शायदै भएको थियो । 

त्यसपछि महासंघको नेतृत्वका लागि भाष्कर र तत्कालीन वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका उभिए । महासंघको नेतृत्वका लागि दिलो ज्यान लगाएका भाष्करराज राजकर्णीकार र मुरारकाबीच उम्मेद्वारी दर्तापछि वार्ता भयो र सहमति पनि जुट्यो । भाष्करले उनैलाई समर्थन गरे र मुरारका बाँकी कार्यकालका लागि निर्विरोध अध्यक्ष बने । त्यसपछि वरिष्ठ उपाध्यक्ष बनिन् अहिलेकी अध्यक्ष भवानी राणा । मुरारकाको कार्यकालपछि राणालाई स्वतः अध्यक्ष बनाउन चण्डिराज ढकाल समूहले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान सहित विशेष साधरणसभामार्फत् विधान संशोधन प्रक्रिया अघि बढायो । पुनः भाष्कर र उनका सहयोगीहरुले उच्च अदालत पाटनमा मुद्दा दायर गरे तर अदालती फैसला उनीहरुको पक्षमा भएन । त्यसपछि भाष्करराज राजकर्णीकारले महासंघ छाडेको औपचारिक घोषणा गरेर नेपाल चेम्बर अफ कमर्समा आवद्ध भए । 

मुरारका अध्यक्ष हुँदा उनले महासंघको पुरानो फाटो टालेर निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच समान धारणा बनाउने, सहकार्य गर्ने जस्ता अभ्यास नथालेका होइनन् । महासंघसहित नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले राष्ट्रिय अर्थतन्त्रका मुद्दामा समान धारणा सार्वजनिक गर्ने अभ्यासले निरन्तरता पाउन सकेन । आफ्नो कार्यकालको अन्तिम साधरणसभामा २०७३ चैतमा मुरारकाले दुई दशकदेखि महासंघबाट टाढिएका पूर्व अध्यक्ष विनोद चौधरीलाई आमन्त्रण गरे । विनोद चौधरी दोस्रो कार्यकालका लागि महासंघको नेतृत्वमा प्रतिस्पर्धा गर्दा पध्म  ज्योतीसँग पराजय व्यहोर्नुपरेपछि सम्पूर्ण रुपमा महासंघबाट अलग्गिएका थिए । पछि उनले नेपाल उद्योग परिसंघ (सीएनआई) स्थापना गरेपछि त महासंघले चौधरीलाई बहिष्कार गर्ने व्यहोराको गर्दै विज्ञप्ति नै जारी गरेको थियो । मुरारकाको पहलमा महासंघको सार्वजनिक कार्यक्रममा विनोद चौधरीको पुनरागमन नै पनि आश्चर्यका रुपमा समाचारका शीर्षक बनेका थिए । वास्तवमा एउटै मञ्चमा  चौधरी र  ज्योति देखिनु दुर्लभ दृश्य नै थियो । 

भवानी राणाको कार्यकाल भने महासंघ किचलो मै बित्यो । शुरुवातमा आफूले विधान संशोधनमार्फत् राणालाई अध्यक्ष बनाएको भनेर ढकाल नै महासंघमा हावी भए । उनको हालीमुहालीले कार्यसमितिमा धेरै पदाधिकारी र सदस्यहरु बिच्किए । राणा अध्यक्ष भैसकेपछि ढकालले पुनः विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउन लबिङ गरे । महासंघबाट विधान संशोधनका लागि लामो रस्साकस्सी गत वर्ष कार्तिकको अन्तिममा टुंगिएको थियो ।

महासंघको विधानका ३५ बुदाँमा संशोधन गर्ने मस्यौदा तयार भैसकेको भएपनि कार्यसमितिले अन्तिम समयमा विशेष साधरणसभा रद्द गरी विधान संशोधन रोकेको थियो । राणाको कार्यकालमा महासंघभित्र कृषि उद्यम केन्द्रको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेश, लगानी र वित्तिय कानुनहरु संशोधन हुँदा पनि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको हैसियतमा दह्रो लबिङ गर्न नसकेको जस्ता आरोपहरु लागिरहे ।

गत वर्ष कार्तिक २९ मा तोकिएको विशेष साधरणसभा रद्द भएपछि विधान संशोधनको विषय त्यहीं अन्त्य भयो र महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने पक्का भयो ।

विधान संशोधनको मुद्दा पुनः उठाइँदा शेखर गोल्छामाथि अन्याय हुने भन्दै धेरैले गोल्छालाई साथ दिए । तर चण्डीराज ढकाल भने गोल्छा अध्यक्ष हुनेमा ढुक्क भएपछि उद्यमी, व्यवसायीका समस्यामा पनि बोल्न छाडेको भनेर जिल्ला उद्योग वाणिज्य संघलाई भड्काउन व्यस्त थिए । ढकालको उद्देश्य विधान संशोधनमा उनीहरुलाई सहमत बनाइ गोल्छालाई स्वतः अध्यक्ष बन्नबाट रोक्नु थियो भन्ने बुझिन्छ । विधान संशोधनको ढकालको प्रस्ताव अनुमोदन गराउन विशेष साधरणसभा बोलाउने निर्णयले अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको सम्बन्ध पनि सुमधुर रहेन । 

कात्तिक २९ को विशेष साधरणसभा स्थगित भएपछि भने गोल्छाले राहतको स्वास फेर्न पाए । त्यसबेला उनले भनेका थिए, ‘विधान संशोधनको मुद्दा त अहिलेलाई टुंगियो । तर मलाई जति मानसिक प्रताडना दिइयो, त्यसको क्षतिपूर्ति कसले दिने ?’ कोभिड–१९ का कारण चैतमा हुनुपर्ने महासंघको साधरणसभा साउनमा स¥यो । साउनको २६ र २७ मा तोकिएको साधरणसभा पुनः सारेर मंसीरको ११ देखि १३ लाई तोकिएको छ । यौ दौरानमा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको समूहले डिजिटल माध्यमबाट या अन्य कुनै उपायबाट साधरणसभा गर्नुपर्ने र यसलाई धेरै लामो समयसम्म सार्न नहुने मत राख्दै आएका छन् । कुनै कारणले महासंघको साधरणसभा सार्नुपर्ने भएमा तीन महिनाभित्र गर्नुपर्ने विधानको व्यवस्था भएपनि विधानले कार्यसमितिलाई दिएको बाधा अड्चन फुकाउको प्रावधानमा टेकेर साधरणसभा सारिदैं आएको छ । यसमा अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छाको मतैक्यता देखिन्छ ।

कोरोना भाइरसको संक्रमण तीव्र भएर सरकारले लकडाउन गरेको खण्डमा बाहेक मंसीरको साधरणसभा भने नसारिने महासंघका पदाधिकारीहरुको भनाइ छ । अध्यक्षमा निर्वाचन नहुने र वरिष्ठ उपाध्यक्ष र सोभन्दा तलका पदहरुमा मात्र चुनाव हुने भएकाले वर्तमान उपाध्यक्षहरु चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । उनीहरुबीच विगतमा मुरारका र राजकर्णीकारबीच भएजस्तो सहमतिको प्रयास पनि जारी रहेको बताइन्छ । अझ त्यसभन्दा अघि बढेर अहिले वरिष्ठ उपाध्यक्ष छाड्नेलाई अर्कोपटक स्वतः वरिष्ठ उपाध्यक्ष बनाउने चर्चा पनि छ । सहमतिको ढाँचा तयार भएपनि अहिलेसम्म पहिला कसले त्याग गर्ने भन्नेमा कुरा मिल्न नसकेको बताइन्छ । 

महासंघमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान भयो भने नेतृत्व तटस्थ रहन्छ र यसले गर्दा महासंघमा चुनावी तुषरुपी विभाजन लामो समय रहँदैन भन्ने मान्यता थियो । महासंघलाई संस्थागत रुपमा सुदृढीकरण गर्न गरिएको विधान संशोधनको औचित्य एक कार्यकाल पनि नबित्दै पुनः राजनीतिक अभिष्ट पूर्तिका लागि संशोधन गर्न महासंघको राजनीतिका सदावहार खेलाडीहरु लागिरहे । विधान संशोधनको प्रयास असफल भैसकेकाले त्यसले वरिष्ठ उपाध्यक्ष हुँदै स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छालाई तटस्थ रहने र राजनीति बन्द गर्ने मौका दिएको थियो । 

‘प्रेसिडेन्ट–इलेक्ट’ गोल्छा अहिले खुलेरै किशोर प्रधानको प्यानललाई सघाइरहेका छन् । नेतृत्वमा पुगिसकेकाले गोल्छालाई तटस्थ रहने सुविधा थियो । महासंघमा राजनीतिकरण अन्त्य गर्नुपर्छ भन्ने उनलाई समयले व्यवहारबाटै त्यो देखाउने अवसर पनि दिएको थियो । 

अघिल्लो चुनावमा वरिष्ठ उपाध्यक्षमा गोल्छाका प्रतिस्पर्धी थिए, किशोर प्रधान । नियतिले भनौं या राजनीतिक मनसुबाले उनै प्रधान अहिले गोल्छाका सारथी भएका छन् । उम्मेद्वारी दर्ता गनेै क्रममा नै उनले आफ्नो उम्मेद्वारीको एकमात्र मक्सद गोल्छालाई सघाउनु भएको बताएका छन् । गोल्छासँग वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न प्रधानलाई सघाउने महासंघका सदावहार खेलाडी चण्डीराज ढकाल थिए । चण्डिराज ढकाल अहिले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल प्यानललाई सघाउँदै छन् । गोल्छाको अहिलेको राजनीति चण्डिराज ढकाल लक्षित भएपनि उनले भोलि चन्द्र ढकाल या किशोर प्रधानसँगै काम गर्नुपर्ने हुन्छ । 

महासंघको चुनावमा ‘प्रेसिडेन्ट–इलेक्ट’ ले खुला रुपमा कुनै प्यानललाई सघाउँदा त्यसले सही सन्देश प्रवाहीत गर्न सकिरहेको छैन । शेखर गोल्छाको छविबाट आम मानिसहरुले यस्तो खालको पक्षधरता अपेक्षा गर्दैनन् । विधान संशोधनका लागि बोलाइएको साधरणसभा रोक्न चन्द्र ढकालले खेलेको भूमिकालाई उनले उपेक्षा गर्न मिल्दैनथ्यो । राजनीति नगरौं भन्नेहरुबाटै महासंघमा विगतकै झैं राजनीतिलाई भोलि पनि निरन्तरता दिने काम भइरहेको छ । कम्तीमा नेतृत्वले उदारता देखाए चुनावी तुषले महासंघमा विभाजन र अतिराजनीतिकरण बन्द हुनेछ । यतिबेला महासंघले ‘प्रेसिडेन्ट–इलेक्ट’को तटस्थता खोजेको छ ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x