फुटबल

वर्षाको कारण मकवानपुर गोल्डकप स्थगित

सरिता दाहाल |
जेठ २५, २०७९ बुधबार १८:४९ बजे

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी स्थानीय तह चौथो शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप अन्तरगत आज हुने भनिएको खेल वर्षाको कारण रोकिएको छ । 

रोकिएको खेल भोलि बिहीबार बिहान साँढे ८ बजे हुने आयोजक संस्था मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । खेल तालिका अनुसार आज विजय युवा क्लब र नव जन जागृत क्लब बिच क्वाटरफाइनल गेम हुँदै थियो ।
 
वर्षाको कारण खेल मैदानमा पानी जमेपछि खेल रोकिएको कार्यक्रम संयोजक प्रताप विष्टले बताए । मकवानपुर फुटबल संघको आयोजनामा हुने स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता २०७९ को गत १९ गतेबाट मकवानपुरको हेटौंडामा जारी छ ।


यस अघि पनि गत २१ गते खेल मैदान जलाम्मे भएपछि खेल स्थागित गर्नु परेको थियो । ३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । 

प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।

मोफसलको यो सबैभन्दा ठुलो धनराशिको यो प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कार राशि वृद्धि गरिएको छ ।

अघिल्लो बर्ष विजेताले १० र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिए । 

प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।


Author

थप समाचार
x