फुटबल

२० वर्षअघि दक्षिण कोरिया र जापानलाई विश्वकप आयोजना गरेर के फाइदा भयाे ?

इकागज |
साउन ८, २०७९ आइतबार १६:१० बजे

काठमाडौँ – एसियामा पहिलो पटक फिफा विश्वकप सन् २००२ मा आयोजना भयो । उक्त फुटबल विश्वकप आयोजनाको अवसर भने संयुक्त रुपमा दक्षिण कोरिया र जापानले पाए । पहिलो पटक एसियामा विश्वकप आयोजना भएको पनि २० वर्ष अर्थात दुई दशक पूरा भएको छ । दुई दशकपछि पुनः एसियामै अर्थात कतारमा विश्वकप आयोजना हुँदैछ । 

 २० वर्षअघि विश्वकप आयोजना गर्दा खासगरी दक्षिण कोरिया र जापानलाई के फाइदा भयो त ? 


स्टेडियमः 

सायद दुई सह-आयोजकहरूका लागि सबैभन्दा मुख्य उपलब्धीको रुपमा नयाँ स्टेडियमहरूको निर्माण थियो जसले आजसम्म घरेलु तथा अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि महत्वपूर्ण योगदान गरिरहेको छ । 

विश्वकपका लागि दक्षिण कोरियाका १० मध्ये ९ स्टेडियमको निर्माण गरिएको थियो । सन् १९९६ मा दक्षिण कोरियाले विश्वकप आयोजनाको अधिकार पाउँदा केवल इन्चोन मुन्हाक स्टेडियम निर्माणाधीन थियो । बाँकी ९ वटा स्टेडियमहरु विश्वकपका लागि निर्माण गरिएका थिए । सियोल, डेगु, बुसान, उल्सान, सुवान, ग्वान्जु, जेओन्जु, सेओग्विपो र डेजोनमा निर्माण भएका स्टेडियमहरुको दर्शक क्षमता ४ लाख रहेको छ । 

त्यसैगरी, जापानका १० मध्ये केवल दुई स्टेडियमहरु काशिमा सकर स्टेडियम तथा यानमार स्टेडियम नागाई  सन् १९९६ अघि नै अवस्थित थिए । विश्वकपका लागि योकोहामा, साइतामा, शिजुओका, मियागी, ओइटा, निगाटा, कोबे र सापोरोमा निर्माण गरिएका ८ स्टेडियमहरुको क्षमता ४ लाख दर्शकको रहेको छ । 

सन् २००२ को विश्वकपका लागि निर्माण गरिएका स्टेडियमहरुमा जापानले ८ पटक फिफा क्लब विश्वकप आयोजना गरिसकेको छ । 

खेलाडीका लागि अवसरः

२००२ को विश्वकपमा गरेको प्रदर्शनका कारण विश्वभरका धेरै खेलाडीहरुले व्यावसायीक फुटबल खेल्नका लागि उत्कृष्ट अवसर प्राप्त गरे । उनीहरुलाई ठूलो रकम कमाउन तथा क्लबस्तरीय फुटबलको नयाँ उचाइमा पुग्न मद्दत गर्यो । 

विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको दक्षिण कोरियाका खेलाडीहरुले सबैभन्दा बढी अवसर प्राप्त गरे । लि योंग-प्यो तथा पार्क जि-संगले युरोप शीर्ष क्लबमा व्यावसायीक फुटबल खेल्ने अवसर प्राप्त गरे । नेदरल्यान्ड्सको पिएसभी एन्डहोभेनबाट युरोप यात्रा सुरु गरेका लिले इंग्लिस क्लब टोटेनहम हटस्पर तथा जर्मन क्लब बोरुसिया डर्टमण्डजस्ता क्लबका लागि खेल्ने अवसर प्रापत गरे भने पार्कले युईएफए च्याम्पियनसीप विजेता बन्नुका साथै म्यानचेस्टर युनाइटेडलाई इंग्लिस प्रिमियर लिगको चार उपाधि दिलाए । 

कीर्तिमानहरुः 

सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा उसका लागि कीर्तिमानी पाँचौं उपाधि थियो । पछिल्ला चार संस्करणमा उपाधि नजितेपनि ब्राजिल सबै भन्दा बढी पटक उपाधि हात पार्ने टोली हो । जर्मनी र इटालीले समान ४-४ पटक विश्वकपको उपाधि जितेका छन् । इटाली भने यसै वर्ष कतारमा आयोजना हुने विश्वकपका लागि छनोट हुन सकेको छैन ।

यता ब्राजिलका कप्तान काफु तीनवटा विश्वकपको फाइनलमा पुग्ने पहिलो खेलाडी बने । ब्राजिलले सन् १९९४ तथा २००२ मा उपाधि जित्दा तथा सन् १९९८ मा उपविजेता बन्दा काफु टिममा रहेका थिए । 

फाइनलमा जर्मनी पराजित भएपनि उसका कप्तान ओलिभर कान फिफा विश्वकप गोल्डेन बल तथा विश्वकपको उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलरक्षक बने । 

यता टर्कीका कप्तान हाकान सुकुर विश्वकपकै इतिहासमा सर्वाधिक छिटो अर्थात ११ सेकेन्डमै गोल गर्ने खेलाडी बने । उनले तेस्रो स्थानका लागि भएको खेलमा दक्षिण कोरियाविरुद्ध उक्त गोल गरेका थिए । 

विश्वकपमा दक्षिण कोरिया चौथों हुनु एसियाली राष्ट्रहरुका लागि अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । 

(एएफसीको सहयोगमा)
 


Author

थप समाचार
x