फुटबल

महिला साफ : नयाँ इतिहास रच्‍ने दाउमा नेपाल र बंगलादेश

इकागज |
असोज ३, २०७९ सोमबार ९:५५ बजे

काठमाडौँ- साफ महिला च्याम्पियनसीप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुँदैछ । 

साफ महिला च्याम्पियनसीपको इतिहासमा पहिलो पटक नेपाल र बंगलादेश फाइनलमा भिड्दैछन् । यसअघि नेपाल चार पटक फाइनलमा पुगे पनि पाँचवटै संस्करणका विजेता भारतसँगै पराजित भएको थियो भने बंगलादेश पनि एकपटक फाइनलमा पुग्दा भारतविरुद्ध नै पराजय भोगेको थियो । 


साफको इतिहासमा पहिलो पटक भारत भने फाइनलमा हुनेछैन । त्यसैले साफले नयाँ च्याम्पियन पाउने सुनिश्चित भइसकेको छ । तर पनि अघिल्ला चार पटक फाइनलमा पुगेरपनि उपाधिबिमुख बनेको नेपालले भने यसपटक साफको ट्रफी नेपालमै राख्ने दाउमा छ ।

नेपाल राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापा आगामी दुई वर्ष साफको ट्रफी नेपालबाहिर जान नदिने उदेश्य रहेको बताए । फाइनल अघि आयोजित प्रि-म्याच कन्फ्रेन्सका क्रममा प्रशिक्षक थापाले नेपालको लक्ष्य नै ट्रफी नेपालमै राख्ने रहेको जनाएका थिए । 

‘हामी इतिहास बनाउँन चाहन्छौ र आगामी दुई वर्ष साफको ट्रफी नेपालमै राख्न चाहन्छौँ,’ थापाले भने । ‘हामी दर्शकलाई निराश पार्न चाहन्नौँ । समर्थकले ऊर्जा दिन्छ, हामी ट्रफी दिन्छौँ,’ उनले भनेका थिए । 

नेपाली टिमकी कप्तान कप्तान एन्जिला सुब्बाले पनि बोलेर भन्दा पनि गरेर देखाउने बताएकी थिइन् । उनले नेपाली खेलाडी शारीरिक तथा मानसिक रुपमा बलियो रहेको दावी गरिन् । ‘हामी गल्ती कम गर्छौ र उपाधि जित्छौ,’ उनले थपिन् ।

अर्कोतर्फ बंगलादेशका प्रशिक्षक गोलाम रोबानीले बंगलादेशले पटक-पटक ठूला घरेलु समर्थक माझ खेलिसकेका कारण नेपालविरुद्ध घरेलु मैदानमा खेल्दा त्यति दवाव नहुने दावी गरे । 

उनले पनि बंगलादेशको टिम नेपालविरुद्धको फाइनल खेल्न तयार रहेको बताए । ‘बंगलादेश फाइनल खेल्न तयार छ । हाम्रा खेलाडीहरु मानसिक र शारीरिक रुपमा बलियो स्थितिमा रहेका छन् । हामी यसपटक इतिहास रच्न चाहन्छौ,’ प्रशिक्षक रोबानीले भने । 

बंगलादेशकी कप्तान सविना खातुनले अपराजित यात्रा कायम राख्ने उदेश्य रहेको बताइन् । ‘हामी पूर्णरुपमा तयार छौँ र एकपछि अर्को खेलका लागि तयारी गरिरहेका छौँ । हामी इतिहास रच्न चाहन्छौँ,’ उनले थपिन् । 
 


Author

थप समाचार
x