फुटबल

विश्वकप २०२२

रोनाल्डो र नेयमारको आँशु : सबथोक जितेर विश्वकप जित्न नसकेका सुपरस्टार

इकागज |
मंसिर २५, २०७९ आइतबार २१:६ बजे

काठमाडौँ- सफलताका मानकहरू धेरै हुँदैनन्, जति कुनै व्यक्तिले सफलता हासिल गर्न सक्छन् । अनि सफलताका सबै मानक भत्काउने क्षमता पनि सबै व्यक्ति वा विशेषज्ञमा हुँदैन ।

जो कुनैले कुनै समयमा बनाएका हुन्छन् । तर, केही मानक अवश्य हुन्छन्, जो सबैले बनाएका हुँदैनन् । जसले बनाएका हुन्छन्, त्यो सजिलै कसैले भत्काउन सक्दैन । यदि जसले कुनै समय बनाइएका ती मानक भेट्टाउँछ वा भत्काउँछ, उसले आफ्नो सफलताको कथा आफैँ लेख्न थाल्छ ।


फुटबलको कुरा गर्दा वर्तमान समयमा क्रिष्टियानो रोनाल्डो उत्कृष्ट हुन् । सामाजिक सञ्जालका कारण पनि उनी फुटबलका राजा भनेर चिनिन्छन् । सामाजिक सञ्जालमा सबैभन्दा धेरै रुचाइने र पछ्याइने व्यक्तिमा फुटबलर रोनाल्डो पर्छन् ।

रोनाल्डोकै कारण पोर्चुगलले विश्व फुटबलमा आफ्नो अस्तित्व फराकिलो बनाएको हो । पछिल्लो लगातार पाँच संस्करणमा रोनाल्डोले गोल गर्नु र पोर्चुगलले विश्वकपमा स्थान बनाएर खेल्न पाउनु संयोग मात्रै होइन, रोनाल्डोको ‘ट्रेडमार्क’ पनि हो ।

कतार विश्वकपमा पनि रोनाल्डोकै कठिन मेहनतमा पोर्चुगल अन्तिम समयमा छनौट भएको हो । चारपटकको विश्वकप विजेता इटाली बाहिरिँदा रोनाल्डोको टिम पोर्चुगलले कतार यात्रा तय गरेको थियो ।

जुन रोनाल्डोका लागि अन्तिम विश्वकप थियो अथवा भइसक्यो । धेरैले रोनाल्डोले विश्वकप जितून् भन्ने कामना नगरेका होइनन्, तर विश्वकप जित्ने धेरै फ्यानको आशा भएपनि थोरै भरोसा रोनाल्डोमा पनि थियो ।

जुन पूरा हुन सकेन । मोरक्कोसँग क्वाटरफाइनल जित्न नसक्दा पोर्चुगल कतार विश्वकपबाट बाहिरियो । जुन ३७ वर्षका रोनाल्डोका लागि अन्तिम विश्वकप थियो । आउने विश्वकपमा रोनाल्डो ४१ वर्षका हुनेछन् ।

कतार विश्वकपका अन्तिम खेलमा पनि रोनाल्डोले सुरुवाती समयमा खेल्न पाएनन् । स्वीट्जरल्याण्डविरुद्ध बेन्चमा बसेका रोनाल्डो निर्णायक क्वाटरफाइनल मोरक्कोविरुद्ध पनि सुरुवाती टिममा परेनन् । दोस्रो हाफमा रोनाल्डो मैदान छिर्दा पोर्चुगलको आशा जिवितै थियो । तर, स्पेनजस्तो बलियो टिमलाई पन्छाएर क्वाटरफाइनल पुगेको मोरक्कोले खेलको ४२ औँ मिनेटमा लिएको अग्रता मात्रै जोगाएन, रोनाल्डोको चुनौती पनि सहजै पन्छाइदियो । जसले मोरक्कोलाई ऐतिहासिक जित दिलाएर सेमिफाइनल प्रवेश गर्ने अवसर दियो भने रोनाल्डोको आँखाबाट आँशु झारिदियो ।

सुरुवाती टिममा पर्न नसकेका रोनाल्डोकै कारण पोर्चुगलले ठूलो मूल्य चुकायो भन्ने दर्शक पनि धेरै छन् । खेलको नियम र खेलाउने रणनीति जानेका प्रशिक्षक फर्नान्डो सान्तोषलाई प्रि–क्वाटरफाइनलकै जित फर्काउने योजना थियो । जुन चाहनाअनुसार रोनाल्डो सुरुमा बेन्चमा थन्काइए । तर, पहिलो हाफमा मोरक्कोले लिएको अग्रता पन्छाउने पोर्चुगलको नयाँ रणनीतिले फेल खायो । खेल सकिएको सिठ्ठी बज्दा मोरक्कोका खेलाडीको मुहारमा खुसी र उमंग थियो । तर, रोनाल्डोको आँखामा केवल आँशु ।

उनको यी आँशु मात्रै होइनन्, वर्तमान विश्वकै सबैभन्दा सफल सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताका रूपमा बिदाई पनि थियो ।

११८ गोल गरेका रोनाल्डो अब सायदै विश्वकपमा देखिन्छन् । सर्वाधिक ५ पटक च्याम्पियन्स लिग जितेका रोनाल्डो एकपटक विश्वकप उपाधि जित्न चाहन्थे । त्यो सफल भएन । उनले मिनि विश्वकपका रूपमा युरोकप जितेका छन् । त्यसपछि उनले नेसन्स लिग ट्रफी पनि जिते । तर, विश्व फुटबलमा सबैभन्दा ठूलो सफलताको मानक मानिने विश्वकप उपाधि भने उनले जित्न सकेनन् । जसकारण उनको आँखाबाट आँशु रोकिन सकेन ।

रोनाल्डोले शनिबार राति आँशु खसालेर कतार रंगशाला छाड्दा शुक्रबार राती नेयमार पनि त्यसरी नै अश्रुधारा बगाउँदै रंगशालाबाट बिदा भएका थिए ।

रसिया विश्वकपको उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएर बाहिरिएको ब्राजिलको सपना यसपटक पनि टुट्दा सबैभन्दा बढी दु:खी हुने खेलाडी नेयमार थिए ।

सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिललाई छैटौं उपाधि दिलाउने जिम्मेवारी नेयमारको काँधमा थियो । तर, उनले त्यो जिम्मेवारी पूरा गर्न सकेनन् । क्वाटरफाइनलमा क्रोएसियाविरुद्ध अतिरिक्त समयमा गोल गरेर नेयमारले टिमलाई अग्रता दिलाएका थिए ।

तर, त्यसलाई ब्राजिलले जोगाउन सकेन । अतिरिक्त समयको अन्त्यतिर गोल गर्दै क्रोएसियाले खेल पेनाल्टी सुटआउटमा धकेल्दै ४–२ गोलले नतिजा आफ्नो हातमा ल्यायो । अनि नेयमारको आँखामा केवल आँशु मात्रै बाँकी रह्यो ।

पीएसजीका सबैभन्दा महंगा खेलाडी नेयमार यसपटक विश्वकप जित्न चाहन्थे । पेले अस्पतालमा जीवनको अन्तिम पल जीवनका लागि संघर्ष गरिरहेका बेला उनको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका नेयमारले ब्राजिललाई खुसी दिलाउन सकेनन् ।

ब्राजिलका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेका नेयमारलाई यसपटक सबैभन्दा ठूलो अवसर थियो । किनकि उनले करियरको उच्च लयमा हुँदा विश्वकप जित्न सक्ने टिम पाएका थिए । त्यो स्प्रिट उनमा थियो । यसै पनि ब्राजिल विश्वकपका धेरै खेल जितिरहने टिम हो ।

तर, त्यही टिममा खेलेर नेयमारले यसपटक पनि विश्वकप जित्न सकेनन् । चार वर्षअघि जस्तै यसपटक पनि क्वाटरफाइनलबाटै ब्राजिल कतार विश्वकपबाट बिदा भयो । अघिल्लो पटक उसलाई बेल्जियमले घर पठाएको थियो ।

यसपटक क्रोएसियाले नेयमारको विश्वकप जित्ने सपना टुक्राटुक्रा पारिदियो । अर्कोपटक विश्वकप खेल्ने नेयमारको सम्भावना बाँकी नै छ । तर, उनले यसपटक विश्वकप जित्न सक्छु भन्ने ठूलो आश राखेका थिए ।

लगातार तीन संस्करण विश्वकप खेल्ने अवसर पाएका उनले त्यसका लागि मेहनत पनि गरेका थिए । कतार आउनु अघि नै उनले विश्वकप जित्नका लागि सबै प्रयास गर्ने लेखेका पनि थिए ।

तर, क्रोएसियाले हराएर घर फर्काइदिएपछि नेयमारले इन्स्टाग्राममा लेखेका छन्, ‘म मानसिक रूपमा पूरै टुटेको छु ।’

विश्वकप जित्ने ठूलो आश राखेर कतार रंगशालामा फुटबल खेलिरहेका यो पुस्ताकै सुपर स्टारहरू हारको पीडा बोकेर घर फर्किँदा आँखामा आँशु मात्रै होइन, जीवनमा विश्वकप जित्ने सपना पूरा हुन सक्दा सबैभन्दा धेरै दुःखी छन् । त्यो दुःखको आँशु विश्वभर रहेका रोनाल्डो र नेयमारका फ्यानका आँखामा पनि छचल्किएको छ ।

यो पुस्ताका अर्का सबैभन्दा सफल फुटबलर मेस्सी कतार विश्वकपको सेमिफाइनलमा पुगेका छन् । कम्तीमा उनले यसपटक विश्वकप ट्रफी जित्न नसकेर आँखाबाट आँशु खसाल्नुपर्ने बाध्यता नहोस् । सम्भवतः मेस्सीजस्तै रोनाल्डो र नेयमारका फ्यानले पनि यही सोचिरहेका होलान् ।


Author

थप समाचार
x