फुटबल

वाफ फाइनल : आज नेपालले जोर्डनसँग खेल्दै

इकागज |
फागुन १७, २०८० बिहीबार ६:३१ बजे

काठमाडौँ- नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्दैछ ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय अनुसार राती ९:४५ बजेदेखि शुरु हुँदैछ ।


नेपालले मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम रहेको छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ । जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियनसमेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि विजेता राष्ट्र हो ।

त्यसैगरी नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रस्तुति दिएको छ ।

साम्बाले फाइनल नखेल्ने
सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

एन्फाले सावित्रालाई गुइन गाम्पले फिफा विन्डोअन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको हो । फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो ।

नेपाली महिला फुटबल टिमः 
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ र अञ्जना राना मगर ।
 
डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सविना चौधरी ।

मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, विमला चौधरी र सरस्वती हमाल ।

फरवार्डः चन्द्रा भण्डारी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ्ग र सबिता राना मगर ।   


Author

थप समाचार
x