सरकार

इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँ : पर्यटनमन्त्री तामाङ

इकागज |
फागुन २४, २०८० बिहीबार ६:३७ बजे

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (इयू)ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गरेका छन् ।
     
मन्त्रालयमा बुधबार पदबहाली गर्दै मन्त्री तामाङले इयूले नेपालको हवाई क्षेत्रमाथि गरेको प्रतिबन्ध हटाउन पहल गर्ने बताए । उनले भने, 'नेपालको हवाई क्षेत्रमा इयूले सन् २०१३ देखि लगाएको उडान प्रतिबन्ध हटाउन योजनाबद्ध पहल गर्नेछु । यो चाँडैनै हट्छ भन्ने विश्वास लिएको छु ।'

इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै उडान सुरक्षा चासो (कालोसूची) मा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो सूची (एसएससी)मा राखेकामा सन् २०१७ जुलाईदेखि हटाएको थियो । नेपालले पछिल्लो पटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको सुरक्षासूचीबाट हट्ने विश्वास गरिएको छ ।
     
मन्त्री तामाङले नेपालको हवाई सेवालाई सुदृढ र प्रभावकारी बनाउन योजनाबद्ध काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीयताको मर्म र भावना अनुरुप मुलुकको पर्यटन नीतिलाई समयसापेक्ष बनाइने विश्वास व्यक्त गरे ।
     
मन्त्री तामाङले पर्यटन व्यवसायी एवं विज्ञ सरोकारवालासँग छलफल गरेर पर्यटन क्षेत्रको विकास तथा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनेबारे योजनाबद्ध कार्यक्रम अगाडि बढाइने बताए । सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै मन्त्रालयसँग सम्बन्धित कामलाई प्रभावकारी बनाइने उनको भनाइ थियो ।


पर्यटनमन्त्रीको पहिलो निर्णय
     
नवनियुक्त पर्यटनमन्त्री तामाङले मन्त्रालयमा पदबहाली लगत्तै हवाई नीति, २०६३ लाई संशोधन गर्ने प्रयोजनका लागि अध्ययन समितिको निर्णयमा हस्ताक्षर गरे । अध्ययन समितिको प्रतिवेदनअनुरुप पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने मस्यौदा बनाउने र त्यसलाई सरकारले आवश्यक निर्णय गर्नेगरी मन्त्री तामाङले पहिलो निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले बताए ।

पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठिन उक्त समितिले सङ्घीयताको भावना अनुरुप समय सापेक्ष हवाई नीतिको मस्यौदा तयार गर्नेछ ।


Author

थप समाचार
x