सरकार

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्छौं : अर्थमन्त्री पुन

इकागज |
फागुन २४, २०८० बिहीबार १८:२० बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै मन्त्री पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय समग्र मुलुकको विषय भएको भन्दै यसमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्ने बताएका हुन् । अरू राजनीतिक विषयमा दलहरूबीच मतभेद हुन सक्ने भएपनि शान्ति प्रक्रियाका विषयमा सबै दलहरूबीच मतभेद नरहेको उनले बताए ।


यस्तै मन्त्री पुनले परिवर्तन चाहने शक्तिहरू अहिले एक ठाउँमा आएकाले अब काम गरेर जनतामा परिवर्तनको महसुस गराउनुपर्ने धारणा राखे । उनले अहिले वाम एकताको कुनै सन्दर्भ नरहेको र सहकार्यको सन्दर्भ रहेको बताए । मन्त्री पुनले मुलुकको अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नुपर्ने भन्दै सरकार गम्भीर भएर लाग्ने पनि बताए ।

त्यस्तै उनले बजेटमार्फत सरकारले खर्च गर्ने सामर्थ्य बढाउनुपर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसको योजना बनाइसकेको बताए ।  


Author

थप समाचार
x