सरकार

भूईंमान्छेले महसुस गर्ने गरी काम गर्छु : मन्त्री गिरी

इकागज |
फागुन २७, २०८० आइतबार २१:१ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले विगतको एक/डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन् ।

रुपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको र सरकारले त्यसलाई पूरा गर्ने बताए । उनले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको बताए ।


'आज हाम्रा साथीहरू देशभित्र रोजगारी नपाएर बिदेसिनु परेको छ । जुन प्रकारले नेपाली युवाहरू विदेश पलायन भएको अवस्था छ । यो अत्यन्तै  कहालीलाग्दो र चिन्ताजनक दृश्य हाम्रो अगाडि छ । म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरू विदेशतिर पलायन हुने होइन, यही देशभित्र रोजगारी श्रृजना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम अब हामीले गर्नुपर्ने हुन्छ,' गिरीले भने ।

उनले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरूको चलखेल रहने गरेको दाबी गरे ।

'हाम्रो देशमा भएको राजनीतिक अस्थिरता,वर्षदिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दा पनि हाम्रो विकास निर्माणका कामहरू अवरुद्ध भएका छन् । हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौं । यो यथार्थ हो,' उनले भने ।

यस्तै उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताइ ।

यसैगरी मन्त्री गिरीले विगत एकवर्ष पट्यारलाग्दो भएको दाबी गरे । गिरीका अनुसार बेरोजगारीले दैनिक २१ सयको संख्यामा विदेशी रहेको र देशभित्रका व्यवसायी आत्महत्या गर्ने बाटोसम्म पुगेको बताए । उनले यसक्रममा संसद भवन अगाडि भएको आत्मदाह प्रकरण नेपालमै केही गर्छु भन्ने युवाको निराशाको उपज भएको स्मरण गरे ।

उनले जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको बताए ।


Author

थप समाचार
x