सरकार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को संख्या बढाउने तयारी

विश्‍वासको मत लिएपछि विस्तार गर्न अधिवेशन आह्वान

बिक्रम खड्का |
साउन ३२, २०७८ सोमबार १५:१३ बजे

बुटवल - लुम्बिनी प्रदेश मन्त्रिपरिषदको संख्या बढ्ने भएको छ । यसअघि १० सदस्यीय रहेको मन्त्रिपरिषद १५ सदस्यीय पुर्‍याउने तयारी भएको छ । 

सरकारका प्रवक्ता कृष्णध्वज खड्काले प्रदेश सरकारमा तीन दल सहभागी भएकाले मन्त्रिपरिषद् पहिलेको भन्दा केही ठूलो आकारको बनाउने तयारी भएको जानकारी दिए । मन्त्रीको संख्या बढ्ने भएकाले केही मन्त्रालय टुक्रयाउने  बाध्यतामा सरकार छ ।


स्रोतका अनुसार कांग्रेस र माओवादीबीच ४-४ मन्त्री र एक-एक राज्यमन्त्री तथा जसपालाई तीन मन्त्री दिने समझदारी भएको छ । 

माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा २७ साउनमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सरकारमा माओवादी केन्द्रसहित कांग्रेस र जनता समाजवादी पार्टी सहभागी छन् । यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित नवलपरासीका अजय शाही पनि विना विभागीय मन्त्री बनेका छन् । जसपाका तीन मन्त्री बनिसकेकाले अब विस्तार हुने मन्त्रिपरिषद्‍मा माओवादी र कांग्रेसबाट थप मन्त्री बन्ने छन् ।

यसअघि माओवादी संसदीय दलका उपनेता प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेस नेता दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका थिए । जसपाकी सुमन शर्मा रायमाझी र पुरमति ढेंगा विना विभागीयमन्त्री छन् ।

माओवादी र कांग्रेस दुवै पार्टीमा आकांक्षी धेरै भएकाले मन्त्री छान्‍न सकस छ । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीतिमा छ । मुख्यमन्त्री केसी र ग्रामिण तथा शहरी विकासमन्त्री चौधरी काठमाडौं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका नेतासँग मन्त्री परिषद् विस्तारबारे राय लिएका छन् । 

विस्तार हुने मन्त्रिपरिषद्‍मा माओवादीबाट पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारु, दाङकै विमला खत्री वली, बर्दियाका तिलकराम शर्मा र बाँकेकी कृष्णा केसी र गुल्मीका गिता थापामध्ये मन्त्री हुने चर्चा छ । यी मध्ये विमला वली मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।

प्रदेश सभा उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । उनलाईएमालेले आफ्नो पक्षमा पार्न निकै प्रयास गरेको थियो । त्यस क्रममा आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको पनि विमलाले बताएकी थिइन्  । 

 कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल, पाल्पाका बीरबहादुर राना, रुपन्देहीकी रमा अर्याल र वसिउद्दिन खान तथा अर्घाखाँचीकी निर्मला क्षेत्री मन्त्री बन्ने चर्चा छ ।

हमाललाई पार्टीले प्रमुख सचेतकबाट हटाएको थियो । कांग्रेसले पनि विस्तार हुने मन्त्रिपरिषद्‍मा जाने मन्त्रीको नाम टुंगो लगाउन नसकेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए । ‘मन्त्रीको नाम टुंगो लगाउन खासै समस्या र विवाद छैन’ खानले भने, ‘चर्चामा रहेका साथीहरू मध्येबाटै सिनियारिटी, पार्टीमा गरेको योगदान र अनुशासनलाई हेरेर पार्टीले न्यायोचित निर्णय गर्छ ।’


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x