सरकार

चारधामलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरौंः मन्त्री आले

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १३:२७ बजे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका हुन् । 


यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने उनले बताए । उनले भने, ‘भगवान शिवले बास गरेको चारवटा धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरी संसारभरिका अर्बौ हिन्दु धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ । यो सर्किटको कन्सेप्टले यी शिवालयहरु प्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ ।’

पर्यटनमन्त्री आलेले नेपाल – भारत सम्बन्ध प्राचीन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताए । उनले  एकपटक विश्वनाथ मन्दिरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथ देखि काशी विश्वनाथ सम्मको मोटरसाइकल ¥यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे । 

त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए । यी दुई धार्मिक स्थलहरुले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रुपमा पनि रहेको उल्लेख गरे । 

शुक्रवार नै दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ । 


Author

थप समाचार
x