सरकार

एमसीसी पारितका लागि सहयोग गर्न ओलीसँग देउवाको आग्रह

पहिला सभामुखलाई कारबाही हुनुपर्ने एमालेको माग

इकागज |
फागुन १०, २०७८ मंगलबार २१:३ बजे

फोटो : विष्णु रिजालको ट्वीटरबाट

काठमाडौँ : एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले एमसीसी पारितका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटवार्तामा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार एमसीसी ओली सरकारकै पालामा संसदमा दर्ता भएकाले अब पारित गर्न एमालेकै सहयोग आवश्यक रहेको प्रस्ताव राखेका थिए । जवाफमा ओलीले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने अडान राखेका थिए ।


‘एमसीसी तपाईँकै पालामा दर्ता भएको हो । तपाईंकै अविछिन्न उत्तराधिकार याे सरकार भएकाले अब पारित गर्न सहयोग गर्नुपर्यो,’ प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै कांग्रेस उपसभापति खड्काले इकागजसँग भने । जवाफमा एमाले अध्यक्ष ओलीले पहिला आफूहरुका माग सम्बोधन हुनुपर्ने अडान राखेका थिए ।

‘हाम्रो मागअनुसार सभामुखलाई कारबाही हुनुपर्छ । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेपछि एमसीसी सहयोग गर्ने विषयमा सोच्न सकिन्छ,’ ओलीले देउवालाई जवाफ फर्काएका थिए ।

सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न सहयोग गर्न नसकिने बताएपछि देउवा ओलीसँग नजिकिएका हुन् । आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएपनि पारित गर्न भने चुनौति छ । 

भेटमा देउवा र ओलीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले उपमहासचिव विष्णु रिमाल लगायतका नेता थिए । सुरुमा सबै नेताहरुसँगै भेट भएपनि पछि देउवा र ओलीबीच ‘वान टू वान’ वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । 


Author

थप समाचार
x