स्वास्थ्य

‘विद्यालय नर्सिङ कार्यक्रम’ : यस वर्ष २३२ विद्यालयमा थपिँदै

अतिन आचार्य |
साउन ५, २०७९ बिहीबार ७:९ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सरकारले केही वर्षअघि विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रमलाई अहिले विभिन्न स्थानीय तहमा निरन्तरता दिइएको छ ।

हाल प्रदेश १ र बागमती प्रदेशमा विद्यालय नर्स कार्यक्रम सुरु भइसकेको छ । बाँकी प्रदेशका विभिन्न स्थानीय तहको सिफारिस अनुसार थप यसपटक विद्यालयमा विद्यालय नर्सको कार्यक्रमको निरन्तरता पाएको छ ।


विद्यालयबाट विद्यार्थीको स्वस्थ्य जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन जनस्वास्थ्य ऐन, २०७५ तथा राष्ट्रिय स्वास्थ्य नीति २०७६ अन्तर्गत मुलुकका केही विद्यालयमा नर्सको व्यवस्थापन भइसकेका छन् ।

२०७९ का लागि प्रदेश १ र बागमतीबाहेक अन्य प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनमा 'विद्यालय नर्स' राख्ने व्यवस्था उल्लेख छ ।

यस आर्थिक वर्षमा थप २५ स्थानीय तहका २३२ विद्यालयमा 'विद्यालय नर्स' हुने भएका छन् । ५ सय भन्दा बढी किशोरी भएका विद्यालयमा नर्सको व्यवस्थापन गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । उक्त विद्यालयमा नर्सको व्यवस्था गर्न सम्बन्धित स्थानीय तहले सिफारिस गर्नु पर्नेछ ।

मन्त्रालयले २०७९/८० का लागि जारी गरेको मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनमा विद्यालय नर्सले ३० हजार २ सय रुपैयाँ पाउने छन् ।

विद्यालय नर्सको समयावधि एक वर्षसम्म हुने मार्ग निर्देशनमा उल्लेख छ । निर्देशनमा विद्यालय नर्सको योग्यता पनि तोकिएको छ । न्यूनतम रुपमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाण पत्र तह पास र नर्सिङ परिष‍द्‍मा दर्ता भएको हुनुपर्नेछ ।

विद्यालय नर्सिङमा नर्सको रुपमा सम्बन्धित स्थानीय तहको उम्मेदवारलाई प्राथमिकतामा पर्ने छन् । नर्स नियुक्त गर्दा विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ को परिच्छेद ३ को दफा ६ बमोजिम प्रक्रिया पूरा गरेर नियुक्त गर्नुपर्ने छ ।

पारिश्रमिक नेपाल सरकार स्वास्थ्य सेवाका पाँचौ तहको सुरुको स्केल अनुसार हुनेछ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ को अनुसूची १ बमोजिम काम कार्य विवरण हुनेछ ।

स्थानीय तहले विद्यालय नर्स नियुक्त गरेपछि अनिवार्य रुपमा तालिम दिनुपर्नेछ । नर्सले स्थानीय तहमा हुने विभिन्न सान्दर्भिक तालिमहरू जस्तैः किशोर किशोरी स्वास्थ्य, महिनावारी स्वास्थ्य, परिवार नियोजन, लागु पदार्थ दुर्व्यसनी, मानसिक स्वास्थ्य र पोषण जस्ता कार्यक्रममा नर्सहरू सहभागी हुनु पर्नेछ ।

नर्सले विद्यालय नर्स सेवाको सफ्टवेयरको बारेमा समेत जानकारी राख्‍नु पर्नेछ । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट यस तालिमको अभिमुखीकरण कार्यक्रमका लागि नर्सलाई सहजीकरण हुनु पर्नेछ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x