स्वास्थ्य

महामारीमा स्थानीय सरकारको प्रयास: घरमै अक्सिजन, घरदैलोमै आयुर्वेद औषधि

बिक्रम खड्का |
बैशाख २७, २०७८ सोमबार १३:२६ बजे

बुटवल : कोभिड-१९ संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापनागरी संक्रमितहरूको घर-घरमै सेवा पुर्‍याउने तथा चिकित्सकीय परामर्ससहित औषधिहरू उलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरूसँगको सहकार्यमा उपमहानगरले अभियान जारी राखेको उनले बताए । यसैगरी संक्रमित भएका र आइसोलेसनमा बसेकाहरूलाई प्राथमिक उपचारमा सहयोग पुर्‍याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको प्रवक्ता रेग्मीले जानकारी गराए ।


अक्सिजन बैंकबाट आइसोलेसनमा रहेकाहरूलाई सेवा
उपमहानगरपालिका भित्र होम आइसोलेसन, होटल आइसोलेसन र सामुदायिक आइसोलेसनमा रहेका संक्रमितहरूलाई लक्षित गरी उपमहानगरले अक्सिजन बैंक सञ्चालन गरेको छ । निश्चित मापदण्डका आधारमा अक्सिजन आवश्यक पर्नेहरूलाई आपतकालीन रूपमा २४ सै घण्टा सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ ।

बैंकमार्फत हालसम्म २७० जना बढी संक्रमितहरूले घरमै बसेर सेवा लिएका छन् । अहिले पनि २१० ले सेवा लिइरहेको उपमहानगरले जनाएको छ । पाँचजना स्वास्थ्यकर्मीहरूसहितको ४ वटा समूह निर्माणगरी संक्रमितहरूको घरदैलोमै सेवा प्रदान गर्ने गरिएको छ । अक्सिजन बैंकले स्थापना भएको ५ दिनको अवधिमा दैनिक ५०/६० जना संक्रमितहरूलाई घरमै भेटेर सेवा प्रदान गर्ने गरेको छ ।

लायन्स क्लब अफ बुटवल यरीया ४ ले सिलिण्डरहरू रिफिल गर्नुका साथै बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको सुरुवात गरिएको थियो । बैंक सञ्चालनका लागि रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग बाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर करिब एक सय ५० वटा मात्र अक्सिजन सिलिण्डर रहेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

आइसोलेसन निर्माण तथा घरदैलोमै आयुर्वेद औषधि
बुटवल उपमहानगरले संक्रमणको दोस्रो लहरसँगै आइसोलेसन सेन्टर निर्माणलाई पनि प्राथमिकतामा राखेको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरले हाल बुटवल-११ देविनगरमा अवस्थित एन्फा एकेडेमीमा ४० जना क्षमताको आइसोलेशन सेन्टर स्थापनागरी सञ्चालन गरिरहेको छ भने थप क्षमता काविसका लागि समेत तयारी अवस्थामा रहेको बताएको छ ।

उपमहानगरमा थप आइसोलेसन आवश्यक परेको अवस्थामा बुटवल-११ र बुटवल–१३ नवनिर्मित वडा भवनलाई आइसोलेसनका रूपमा प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको उनले बताए । यसैगरी पमहानगरले संक्रमितको घरदैलोमै भिटामिन सि, भिटामिन बि कम्प्लेक्स, जिकं, पेन्टाप्राजोल, सिटामोल, गिलोये चुर्ण, अमला चुर्णसहितका आयुर्वेद औषधि वितरण गरेको छ । यसैक्रममा दोस्रो लहर सुरु भएयता बुटवलका विभिन्न वडाहरूमा घरदैलोमा पुगेर एक हजार बढीलाई निशुल्क आयुर्वेद औषधि वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

नि:शुल्क पीसीआर परीक्षण

उपमहानगरले १९ वटै वडाहरूमा संक्रमितको सम्‍पर्कमा रहेका नजिकका व्यक्तिहरूको निशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरूको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएको उपहानगरका स्वास्थ्य शाखा प्रतिनिधिले बताए । हालसम्म दोस्रो लहर सुरु भएयता एक हजार ५५ जनाको निःशुल्क स्वाब परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी उपमहानगरको स्वास्थ्य शाखा र वडामा आउने सूचनाका आधारमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरिएको प्रवक्ता रेग्मीले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x