स्वास्थ्य

कुकुरको टोकाइले दैनिक पाँच सय बिरामी पुग्छन् शुक्रराज ट्रपिकल

चार वर्षमा १८ जनाले गुमाए ज्यान

अतिन आचार्य |
जेठ ८, २०८० सोमबार ८:४६ बजे

काठमाडौँ- पेशाले जीवन मगर मोबाइल व्यवसायी हुन् । बिहान सबेरै महाराजगञ्ज चोकमा उनी मोबाइल पसल खोल्छन् । सदाझैँ शनिबार पनि पसल खोल्न उनी पसल अगाडि उभिएका थिए । उनलाई केही बेरमा बाटोमा खुल्ला छोडिएका कुकुरले एक्कासी टोक्यो ।

तुरुन्तै अस्पताल जान सकेनन् । शनिबार विदा भएकाले पनि अस्पताल जान पाएनन् । खुट्टामा कुकुरले टोकेको दाग चिन्ह बोकेर फलामे कुर्सीमा बसेका थिए । दागलाई सेतो गजपिसले छोपेका थिए । ४४ वर्षीय जीवन मोबाइलको मूल्य सुनाउने समयमा अस्पतालमा खोपको पर्खाइमा थिए ।


अवस्था सामान्य छ तर, पनि उनी रेबिजविरुद्धको सुई लगाउन शुक्रराज ट्रपिकल तथा रोग अस्पतालमा पुगे । आइतबार मध्यान्ह अस्पताल परिसरमा भेटिएका जीवन हतासमा जस्ता देखिन्थे । किनभने उनी रेबिजविरुद्धको खोप लगाउन आएका थिए । एक पटक खोप लगाएपछि निरन्तर ‘फलो अप’ व्यथा उनले सुनाए ।

जीवनको पाखुरामा खोप लगाउनुपर्ने भएकाले उनी ३ दिनपछि पुनः अस्पताल आउनेछन् । पाखुरामा रेबिजविरुद्ध खोप लगाउनेले अन्तिम खोप लगाउन ७ दिनमा पुग्नुपर्छ ।

दिलमाया पाख्रिन पनि रेबिजको खोप लगाउन पुगिन् । घरमा पालेको कुकुरले हातमा टोकेपछि बालाजुबाट उनी पुगेकी हुन् ।

शुक्रबार साँझ कुकुरको खाना दिन जाँदा पाख्रिनलाई टोकेको थियो । ६५ वर्षीय वृद्ध खोप लगाएर अस्पताल परिसरमा आराम गरिरहेको थिइन् । ‘माया गरेर कुकुरलाई खाना दिन गएको थिएँ, आफैँलाई टोक्यो,’ उनले हाँस्दै भनिन् ।

पाखुराको मासुमा खोप लगाएकाले उनी खोप लगाउन चार पटक अस्पताल जाने छिन् ।  तेस्रो खोप लगाएको १४ दिनमा पुनः अस्पताल आउनु भनेर अस्पतालले बोलाएको उनले बताइन् ।

अस्पतालमा घरमा पालिएका र खुला रुपमा हिँड्ने कुकुरले टोकेका बिरामीहरूको आउने संख्या बढ्दै गएको छ । घरपालुवा जनावरदेखि अन्य जनावरले टोकेका सम्म बिरामी उपचारका लागि अस्पताल जाने गरेका छन् ।

पछिल्लो पाँच महिनामा अस्पतालमा करिब १८ हजार रेबिजविरुद्धको खोप लगाउन पुगेका छन् ।  काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा गरी वैशाखसम्ममा मात्र १७ हजार ९९५ जनाले रेबिजविरुद्धको खोप लगाएको अस्पतालले जनाएको छ ।

माघमा ४ हजार १३२, फागुन ४ हजार ५२८, चैत ४ हजार ८१० र वैशाखमा ४ हजार ५२५ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् । दैनिक अस्पतालमा ४ देखि ५ सयको हाराहारीमा खोप लगाउन बिरामी पुग्ने गरेका छन् ।

अस्पतालका अनुसार स्वतन्त्र रुपमा हिँडडुल गर्ने र घरपालुवा कुकुरबाट टोकेर उपचार गर्न आउनेको संख्या बराबर रहेको छ । यसबाट पीडित हुने पुरुष र महिलाको संख्या बराबर छ ।

रेबिजविरुद्ध मात्र उपचार गर्नका लागि गत आर्थिक वर्ष ०७८/०७९ मा मात्र ३३ हजार ७३२ जना पुगेका थिए । ०७७/०७८ आर्थिक वर्षमा १८ हजार ५०८ जना, ०७६/०७७ मा २६ हजार ६५५ जना र ०७५/०७६ मा २९ हजार १६२ जनाले उपचार लिएका थिए ।

अस्पतालमा उपचारको क्रममा रेबिज लागेर हालसम्म चार आर्थिक वर्षमा मात्र १६ जनाको मृत्यु भइसकेको छ । आर्थिक वर्ष ०७५/०७६ मा ८ जना, ०७७/०७८ मा ३ जना र ०७८/०७९ मा ५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, अस्पतालमै गत असोजमा १ जना ३९ पुरुष र फागुनमा अर्का ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।  

रेबिजविरुद्धको खोप लगाउन आउने बिरामीहरू कुकुर, बिरालो, बाँदर र स्यालको टोकाइबाट आउने गरेका छन् । सबैभन्दा बढी कुकुरले टोकेका बिरामीहरू आउने गरेका अस्पतालकै ओपीडि इन्चार्ज शंकर पाण्डेले बताए ।

‘घरपालुवा र बाहिर छाडेका कुकुरको टोकाइमा परी अस्पताल आउने गरेका छन्,’  उनले भने,’  साना, मध्यम र ठूला जुनसुकै समूहका मानिसहरू आउने गरेका छन् । बालबच्चादेखि, वयस्क र वयोवृद्धसम्मका मानिसहरू उपचारका लागि आउने गरेका छन् ।‘

उपत्यकामा रेबिजविरुद्धको खोप लगाउने मानिसको संख्यामा कमी नआएको उनले पाण्डेले गुनासो गरे । ‘कुकुरको टोकाइबाट सुरक्षित रहन मानिस आफैँ सचेत हुनुपर्छ,’ उनी भन्छन्,’ घरपालुवा कुकुरलाई खोरमा राख्‍ने र त्यहीँभित्र खाना दिनुपर्छ । बाहिरका कुकुरबाट सचेत भइ सुरक्षित हुनुपर्छ ।‘

पाण्डेले ठूला-ठूला मानिसलाई शरीरको माथिल्लो भागमा कुकुरले टोक्ने गरेको बताए । साना-साना बालबालिकालाई भने कम्मरदेखिको तल्लो भागमा टोक्ने गरेको उनले उपचार अनुभव सुनाए ।

अस्पतालमा रेबिजको गम्भीर लक्षण देखिएर उपचार गर्न आएका बिरामीहरू निको नहुने पनि उनले बताए । तर, समयमा उपचार गरेमा रेबिजबाट बच्न सकिने उनले उल्लेख गरे । धेरै बिरामीलाई चिकित्सकीय परामर्श दिएर पनि पठाउने गरिएको उनले अनुभव सुनाए ।

रेबिजविरुद्धको खोप निःशुल्क लगाइने उनले जानकारी दिए । ‘खोप लगाउनका लागि टिकट काट्नुपर्छ,’ उनले अगाडि थपे,’ टिकटको मूल्य १७० रुपैयाँ पर्छ । मासु, छाला र घाउमा लगाउने खोप हुन्छन् ।‘

उनका अनुसार बिरामीले लगाउने सबै खोप निःशुल्क हुनेगर्छ । एक पटक लगाउँदा ६ सय रुपैयाँ पर्छ । घाउमा लगाउने खोपको २ हजार पर्छ ।

रेबिजविरुद्ध लगाउने सुई दुई प्रकारको हुने गर्छ । एन्टिरेबिज र रेबिज इम्युनोग्लोबुलिन खोप लगाइन्छ । रेबिज इम्युनोग्लोबुलिन मँहगो रहेको र यो घाउको प्रकृति तथा कस्तो जनावरले टोकेको छ त्यसमा भर पर्छ ।

रेबिज लागेमा देखिने लक्षण

ज्वरो आउने

घाउ भएको स्थानमा दुख्ने

भम्झमाउने, घोचे, पोले जस्तो हुने

भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने

प्रभावित व्यक्तिको क्रियाकलापहरू र व्यवहारमा परिर्वतन आउने

पानीदेखि डराउने

हावाको चालबाट तर्सिने

रेविज भएका बिरामी हावा पानीसँग डराउने र खान असहज मान्ने गर्छन् ।

बिरामीको हात खुट्टा राम्रोसँग नचल्ने लक्ष्णहरु देखिन्छन् ।

रेविजबाट सुरक्षित रहन के गर्नुपर्छ ?

घरपालुवा जनावरलाई जथाभाबी बाटोमा नछोड्ने ।

घरपालुवा जनावरलाई रेबिजविरुद्धको खोप लगाउने ।

जनावरले टोकेपछि साबुन पानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने ।

रेविजविरुद्धको खोप लगाउने ।

कुकुरलाई नजिस्क्याउने । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेका बेला नचलाउने ।

कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।

टोकेपछि १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हुने गरेकाले त्यसबारे सचेत हुने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x